
निर्माणाधीन नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा दुई चरणमा सवारी साधन रोकेर सडक विस्तार गरिने भएको छ ।
नारायणघाट-बुटवल सडक आयोजना निर्देशनालयले आइतबार सूचना जारी गर्दै स्तरोन्नती भइरहेको नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा आवश्यक मर्मत सम्भार र निर्माणका लागि पहिलो चरणमा यही चैत २७ गते देखि ३१ गतेसम्म दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइने जनाएको छ ।
जसमा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दाउन्ने सडक खण्ड हुँदै गुड्ने सवारी साधनलाई रोकेर काम गरिने आयोजना निर्देशनालयले जनाएको छ ।
यसैगरी, आउँदो वैशाख १ गते देखि १५ सम्म प्रत्येक दिन राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी साधन रोकेर काम अघि बढाइनेछ ।
‘यसबाट सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति आयोजना निर्देशनालय क्षमाप्रार्थी छ’, सूचनामा भनिएको छ । उक्त अवधिमा कुन सवारी साधनलाई कहाँ रोक्ने भनेर पनि निर्देशनालयले स्थान तोकेको छ ।

दाउन्ने सडकखण्डको १३ किलोमिटरको दूरी पार गर्न ८ देखि १० घण्टासम्म लाग्न थालेपछि शनिबार बसेको सरोकारवालाको बैठकले दिउँसो र रातिको समयमा दैनिक १० घण्टा सवारी साधन रोकेर सडक विस्तार गर्नेबारे छलफल गरेको थियो ।
पूर्वी र पश्चिम नवलपरासीका सरोकारवालाको शनिबार बसेको बैठकले दिउँसो र रातिको समय गरी कूल १९ दिन सवारी साधन बन्द गरेर सडक विस्तार गर्नका लागि गृह मन्त्रालयमा अनुमति माग्ने निर्णय गरेको थियो ।
दाउन्ने क्षेत्रका ठाउँ-ठाउँमा खाल्डाखुल्डी भएका कारण दैनिकजसो सवारी साधन बिग्रिने र सडक नै अवरोध हुने हुँदा यात्रुलाई ४५ मिनेटको बाटो पार गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छ ।
दुम्कीबासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिमपूर्ण छ । त्यस क्षेत्रमा विस्तारका क्रममा भत्काइएका सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको बताउँछन् ।
सडक निर्माण शुरू भएको ६ वर्षयताकै अहिले सबैभन्दा तीव्र गतिमा काम भइरहे पनि दाउन्ने खण्डमा भने विस्तारको काममा समस्या भएकाले यात्रुले सास्ती खेप्नुपरेको हो ।
११४ किलोमिटर लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डमा विभाजित गरी काम अघि बढाइएको छ । अहिलेसम्म ६५ किमि एकतर्फी र २२ किमि दुईतर्फी सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ ।
२०७५ चैतमा काम शुरू गरेको आयोजनाले समयमा काम सम्पन्न नगरेपछि पटक-पटक म्याद थपिएको छ । पछिल्लो समय २०८२ साउन ८ गतेसम्म काम सक्नेगरी म्याद थप गरिएको छ ।