०३ साउन २०८३, आइतबार

डा. नवराज केसीले ल्याए दोस्रो कृति ‘स्वस्पर्श’

भदौ ७, २०८२
काठमाडौं
डा. नवराज केसीले ल्याए दोस्रो कृति ‘स्वस्पर्श’

बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ काठमाडौंमा लोकार्पण गरिएको छ । 

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विशेष कार्यक्रममा लेखक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, आख्यानकार एवं प्राज्ञ अमर न्यौपाने र लेखक डा. केसीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा आख्यानकार अमर न्यौपानेले पुस्तक ‘स्वस्पर्श’ मानिसको मनोवैज्ञानिक उपचारका लागि ओखतीका रूपमा आएको बताए । ‘स्वस्पर्श’ पुस्तक प्रेरणादायी मात्र नभएर प्रत्येक मानिसले पढ्नुपर्ने पुस्तक रहेको उनको भनाइ छ । 

‘डाक्टरसँग भेट भएपछि नै मानिसको आधाआधी रोग निको हुन्छ,’ उनले भने, ‘त्यसमाथि डा. नवराज कथा सुनाएर उपचार गराउने व्यक्ति । कथा थेरापीमार्फत् रोग निको पार्ने व्यक्ति । उहाँको यो पुस्तकले हामीलाई त्यस्तै उपचारको थेरापी गराउँछ । र, मानसिक रूपमा निरोगी बनाउँछ ।’

सरल भाषामा सुललित ढंगले लेखिएको पुस्तक ‘स्वस्पर्श’ सबै पाठकलाई रुचिकर लाग्ने उनको भनाइ छ । ‘पुस्तक पढ्दै गर्दा म थुप्रै ठाउँमा भावुक बनेको छु,’ उनले भने, ‘पुस्तकमा प्रयुक्त पात्रहरू जंगबहादुर, गर्बे दाइ, एक जोडी बाआमाको कोरोनाकालको कथा र ध्यारगाउँकी बच्चीको कथाले जो कोहीलाई भावुक बनाउँछन् ।’

अर्का वक्ता लेखक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले पुस्तक सबैका लागि उपयोगी रहेको बताए । ‘मलाई त्यति धेरै साहित्यिक पुस्तक अध्ययन गर्न समय पुग्दैन,’ उनले भने, ‘पुस्तक ‘स्वस्पर्श’ मैले पढेँ । मेरा लागि यो पुस्तक असाध्यै उपयोगी लाग्यो । तपाईंहरू पनि यसको अध्ययन गरिहाल्नुहोस् । हामीले काठमाडौंमा बनाइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) मा पनि यो पुस्तक राख्छौं । बालबालिका र बिरामीहरूका लागि यो अति उपयोगी छ ।’ 

मनोवैज्ञानिक रूपमा विक्षिप्तहरूका लागि झनै विशेष रहेको उनले जनाए ।

पुस्तकमा हस्ताक्षर गर्दै लेखक डा. नवराज केसी ।

कार्यक्रममा लेखक डा. केसीले ‘स्वस्पर्श’ आशा, प्रेरणा र खुशीका कथा समेटिएको पुस्तक भएको बताए । जीवनमा आफूले थुप्रै राम्रा पुस्तक पढेको र नेपाली समाजलाई उपयोगी पुस्तक दिने मनसाय भएर आफ्नै जन्मस्थान कर्णालीको कथा आफूले लेखेको उनले जनाए । 

यो पुस्तक हरेक मानिसका लागि स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा रहेको उनको भनाइ छ । स्वस्पर्श सबै पुस्ता र सबै उमेर समूहका मान्छेको आफ्नै किताब भएको उनले बताए ।

पुस्तकमा के छ ?

पुस्तकभित्र कर्णालीका कथा र व्यथा मात्र छैनन्, जंगबहादुर र दु:खचाल्नोको कथा, गर्बे दाइको दोषी चस्मा, मन्दिरे बीउखसीको कथा, ध्यारगाउँले, माया बाँड्ने जागिर, रिटायर्ड आमा, कर्म मम्मीजस्ता पात्रको कथा समावेश भएका छन् । यी सबै कथा र पात्रहरूको आ‐आफ्नै विशेषता र महत्त्व बोकेका छन् ।

उतारचढावको समय तपाईं आफूसँग छटपट–छटपट स्वयुद्धमा बिताउनुहुन्छ वा आफूले आफैंलाई सम्हाल्न सक्ने न्यानो आलिङ्गनको स्वस्पर्शमा ? यो पुस्तक हरेक मानिसका लागि त्यही स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे ।

यी भुइँमान्छेका कथा पढ्दै गर्दा दु:खमा अल्झिएकाहरूले दु:खपारिसम्म पुग्ने जीवनमार्ग भेट्छन् । खुशी खोजिरहेकाहरूले पनि खुशीको वास्तविक शीतल चौतारी भेट्छन् ।

को हुन् डा. नवराज केसी ?

पैसाको पछि नलागेस्; पढाइ सकेर घर फर्केस्; आमाको ख्याल राखेस् ।

निधन हुनुअघि बुबाले दिएको यही निर्देशन पालना गर्दै आफ्नो गाउँ फर्किएका बालरोगविशेषज्ञ डा. नवराज केसी करिब एक दशकदेखि कर्णाली प्रदेशमै सेवारत छन् । 

कर्णालीका सबै जिल्ला पुगेर बारम्बार नि:शुल्क स्वास्थ्य शिविर चलाउँदै आएका उनी लेखनमा पनि उत्तिकै सक्रिय छन् । आमा अर्थतन्त्र हाम्रो समाज विकासको बीउ हो भन्ने मूल सन्देश बोकेको पुस्तक ‘शून्यको मूल्य’ उनको पहिलो कृति हो । 

बारम्बार सऔसाना बालबालिका र युवाको आत्महत्याका घटनाले द्रवित डा. केसीले फेरि यस्तो देख्नु नपरोस् भनी अध्ययनअनुसन्धान र बुद्ध अनि विज्ञानसहितका कथाले भरिएको ‘स्वस्पर्श’ लेखेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्