०२ साउन २०८३, शनिबार

भारत र फ्रान्सले संयुक्त रूपमा ‘ह्यामर’ एयर–टु–सर्फेस मिसाइल उत्पादन गर्ने

मंसिर १०, २०८२
काठमाडौं
भारत र फ्रान्सले संयुक्त रूपमा ‘ह्यामर’ एयर–टु–सर्फेस मिसाइल उत्पादन गर्ने

भारतको सरकारी स्वामित्वमा रहेको भारत इलेक्ट्रोनिक्स लिमिटेड (बीईएल) र फ्रान्सको साफ्रान इलेक्ट्रोनिक्स एन्ड डिफेन्स (एसईडी) ले भारतमै हाइली एजाइल मोड्युलर म्युनिसन एक्सटेन्डेड रेन्ज (ह्यामर) नामक विशेष स्मार्ट एयर–टु–ग्राउन्ड हतियार प्रणाली उत्पादन गर्ने सहकार्य सम्झौता गरेका छन् ।

रक्षा मन्त्रालयका अनुसार यो सहकार्य गत फेब्रुअरी ११, २०२५ मा एरो इन्डिया प्रदर्शनीका क्रममा हस्ताक्षर गरिएको समझदारी पत्रको औपचारिक निरन्तरता हो । दुवै संस्थाले भारतमै संयुक्त लगानीमा एक प्राइभेट लिमिटेड कम्पनी स्थापना गर्नेछन्, जसमा दुवै पक्षको ५०–५० प्रतिशत शेयर रहनेछ ।

नयाँ संयुक्त कम्पनीले भारतीय वायुसेनाका राफेल जेट र भारतीय नौसेनाका राफेल म्यारिन विमानका लागि ह्यामर प्रणालीको उत्पादन, आपूर्ति र मर्मतसम्भार भारतमै गर्नेछ । मन्त्रालयका अनुसार प्रणालीको स्थानीयकरण क्रमश: ६० प्रतिशतसम्म पुर्‍याइनेछ । आवश्यक इलेक्ट्रोनिक्स, मेशिनरी र सब–असेम्ब्लीहरू पनि भारतमै उत्पादन गरिनेछन् ।

उत्पादन हस्तान्तरण चरणबद्ध रूपमा हुने छ, जहाँ अन्तिम एसेम्ब्ली, परीक्षण र गुणस्तर सुनिश्चिततामा बीईएलले नेतृत्व गर्नेछ ।

ह्यामर प्रणाली साधारण बममा विशेष गाइडेन्स किट र दूरी बढाउने एक्सटेन्सन किट जडान गरेर चलाइन्छ । यो हतियार २०१६ मा ३६ राफेल जेट खरिदका क्रममा समावेश गरिएको थिएन, किनकि यसले सम्झौताको लागत बढाउने थियो । चीनसँगको तनाव बढेपछि भारतीय वायुसेनाले आपतकालीन खरिद अधिकार प्रयोग गरेर ह्यामर ल्याएको थियो ।

राफेलसँग छोटो दूरीमा कडा संरचना वा बंकर नष्ट गर्न सक्षम हतियारको अभाव भएकाले ह्यामर तत्काल उपयुक्त देखिएको बताइन्छ । शुरूआति योजना राफेलमा इजरायली ‘स्पाइस २०००’ स्थापना गर्ने थियो, जुन भारतीय वायुसेनाको मिराज–२००० मा पहिले नै प्रयोग भइरहेको छ । तर लागत र समय दुवै कारणले ह्यामर रोजिएको हो ।

ह्यामर प्रणाली पर्वतीय भूभाग, विशेषगरी लद्दाखजस्ता क्षेत्रमा, उच्च गतिशीलतासहित प्रभावकारी मानिन्छ ।

यसका लागि फ्रान्सेली ‘टालियोस’ टार्गेटिङ पोड उपलब्ध भए पनि भारतीय वायुसेनाले लागत बचत र विभिन्न उडान प्लेटफर्मबीच सेन्सर समानता कायम राख्न इस्रायली ‘लाइटनिङ पोड’ रोजेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्