
लमजुङको बेसीसहर नगरपालिका– २ भकुण्डे बस्ने सीता कंडेलको हत्यामा संलग्न भएको आरोपमा चितवनका बुद्धिराम दराईलाई प्रहरीले पक्राउ गरेको छ । मृतक कँडेल प्रहरीकी पूर्व हवल्दार हुन् ।
गत चैत ३१ आफ्नै कोठामा मृत फेला परेकी कँडेल तीन दिनसम्म प्रहरी कार्यालयमा हाजिर नभएपछि प्रहरी र आफन्तले सोधीखोजी गरेका थिए ।
कँडेल बस्ने कोठामा दुर्गन्ध फैलिएपछि बाहिरबाट लगाएको ताला खोलेर प्रहरी छिर्दा उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीका अनुसार कँडेलको शव उनी सुत्ने खाटमुनि त्रिपालले बेरेको अवस्थामा फेला परेको थियो ।
शुरूमा जिल्ला प्रहरी कार्यालय लमजुङले अनुसन्धान गरेको थियो । कँडेलले बोक्ने मोबाइल समेत घटनास्थलमा थिएन । एक्लै बस्ने कँडेलका छोरा–बुहारी अस्ट्रेलियामा बस्दै आएका छन् ।
प्रहरीले वरपरको सीसीटीभी फुटेज हेर्दा एक युवक कँडेलको कोठाभित्र छिरेको देख्यो । स्थानीयले पनि दराई र कँडेलको सम्बन्धका बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।
उनीहरू दुवै एउटै घरमा बस्दै आएका थिए । प्रहरीले उक्त सूचनालाई फलो गर्दै जाँदा दराईको हुलिया खुल्यो । दराई घटनापछि भारततर्फ भागिसकेका थिए ।
आफ्नै संगठनको पूर्व सदस्यको वीभत्स हत्या भएपछि लमजुङ प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग माग्यो ।
सीआईबीको टोलीले दराई भारतमा लुकेको आशंकामा उताका प्रहरीको सहयोग माग्यो । सीआईबीले दराईलाई रुपन्देहीस्थित नेपाल–भारत नाका बेलहियाबाट पक्राउ गरेको भनिए पनि भारतको दिल्लीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कँडेल एकल महिला थिइन् ।
उनी कामकाजकै शिलशिलामा भीमफेदी कारागारमा ड्युटीमा खटिएकी थिइन् । कारागारमै कँडेल र दराईको भेट भयो ।
दराई २०६७ मंसिर १३ मा गोरखा फिनामकी चिनिमाया पाण्डेको हत्यामा संलग्न भई २०६८ असार २० मा जिल्ला अदालत गोरखाबाट सर्वस्वसहित जन्मकैद ठेकिएका अभियुक्त थिए ।
पाण्डेले दराईलाई आफ्नी छोरीको विवाह गरिदिने आश्वासन दिएकी थिइन् । विवाह नगरिदिएपछि दराईले पाण्डेको घाँटी थिचेर हत्या गरेका थिए ।
‘दराईले शुरूमा महिलाहरूलाई फकाइफुल्याइ आफूतिर आकर्षित गर्ने, सँगै बस्ने र पछि विवाद भएपछि हत्या गर्ने गरेको देखियो,’ सीआईबीका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘कँडेललाई पनि उनले कारागारमा बस्दा विवाह गरेर सँगै बस्ने भन्दै आश्वासन दिएका थिए । जेलबाट छुटेपछि सँगै बसे, अनि पछि विवाद हुँदा हत्या गरेर भागे ।’
स्रोतका अनुसार दराईले पछिल्लो समय भारतको दिल्लीस्थित एक होटलमा सेक्युरिटी गार्डको रूपमा काम गर्दै आएका थिए ।
उक्त सुराक सीआईबीले पाएपछि टोली उतै पुगेको थियो ।
भारतीय प्रहरीको सहयोगमा दराईलाई शुक्रबार नेपाल ल्याइयो । आर्थिक विषयमा कुरा नमिल्दा दराईले कँडेलको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार दराईलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाइएको छ ।
उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा गत वैशाख १५ मै लमजुङ अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।