०३ साउन २०८३, आइतबार

प्रकाशचन्द्र खतिवडाको कविता– क्रूरता

पुस २६, २०८२
काठमाडौं
प्रकाशचन्द्र खतिवडाको कविता– क्रूरता

उघ्रँदो रहेछ मन

सम्बन्ध छियाछिया भएपछि

निभ्दो रहेछ प्रेमको दियो

प्रेमको परिभाषै नबुझेपछि ।

मैले त मन पेट दिएकै थिएँ

तिम्रो मायामा पग्लेर म

जिन्दगीको मीठो गीत गाउँदै

नदीजस्तै बगेकी थिएँ ।

आकाशको तारा खसाल्छु भन्थ्यौँ

मबिना जीवन

अधुरै रहन्छ भन्थ्यौँ

गाढा प्रेम अङ्कुराएको छ

प्रेमलाई झ्याङ्गिन दिनुपर्छ भन्थ्यौँ ।

तिम्रा कुरालाई सदर गर्दै

प्रेमका नौकामा मैले शयर गर्न खोजेपछि

एकाएक तिमी उतर्सियौँ

मलाई मूलबाटोमा अलपत्र छोडेर

तिमी चोर बाटोमै हरायौँ ।

मैले ठानिनँ

तिमी निर्घिनी छौँ

तिम्रो निर्घिनी पन देखेर

म विस्मित बनेकी छु

मलाई तिम्रो उपयोगवादी दर्शन मान्य थिएन

जुन बेला तिमी मेरो समीपमा थियौँ

मैले हठात् निर्णय लिन नसक्दा

तिमीले मलाई दुई कौडी बनाएर छोड्यौँ ।

म प्रताडित छु भन्ठानेर

तिमीले तिघ्रा नठटाए हुन्छ

म व्यूँझने छु

सूर्यको प्रकाशसँगै

रक्तिम आभा बोकेर

म दु:खित् छैन

पश्चाताप छ अलिकति

तिम्रो मायाको नौटंकी देखेर ।

मैले नयाँ यात्रा थालिसकें

यात्रामा भेट भएछ भने

जिन्दगीको हिसाब किताब मागौँला

तिम्रो बदनियत खुलासा भएपछि

तिम्रो अनुहारमा कालो पोतिएको छ

तिम्रो रुप नरपशुजस्तै छ

विवेकहीन सिंह भै गर्जन्छौँ

तिमी पापको कुण्डले भरिएका छौँ (यदि पाप धर्म छ भने)

धर्म गुमाएर ।

तिमी पश्चातापले जलेको हुनु पर्ने

तिमीलाई कोरले समातेर

अङ्गभङ्ग हुनु पर्ने

जब पानी माग्छौँ तिमी

तिमीलाई तुरुक्क पिसाब दिनु पर्ने

म यति क्रूर बनेकी छु

क्रूरताको सीमा छैन

ओ महाशय !

तिम्रो शरीर बध गरी

चोक्टा चोक्टा लुछ्नु पर्ने ।  

सुन्दरहरैंचा –०६, दुलारी, मोरङ                                                                             

salt training

कमेन्ट गर्नुहोस्