
पूर्वमन्त्री मोहनबहादुर बस्नेत समेत जोडिएको टेरामक्स खरिद सम्बन्धी मुद्दामा विशेष अदालतले खरिद प्रक्रियासँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मगंलबार उक्त आदेश गरेको हो ।
उक्त मुद्दामा सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई खरिद कार्यलाई यथास्थितिमा राख्नू भनी दिएको निर्देशन सम्बद्ध प्रतिवेदनसहितको फाइल समेत झिकाउन आदेश गरेको छ ।
१ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रूपैयाँ भुक्तानी दिएर खरिद भएका सामान जडान समेत भइसकेको अवस्थामा त्यसको गुणस्तर मापन गराउन समेत आदेश गरिएको छ ।
‘आपूर्ति भई जडान भएको भनिएको प्रणाली तथा सामग्रीहरूको गुणस्तर तथा मापदण्ड सम्झौता बमोजिम भए/नभएको परीक्षणका लागि विशेष अदालत नियमावली, २०८० को नियम ५९ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणका विषय विज्ञ वरिष्ठ इन्जिनियरको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन एन्ड इलेक्ट्रोनिक्स विषय विज्ञ प्राध्यापक र केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोका विषय विज्ञ सदस्य रहेको विषय विज्ञ समूह गठन गरिदिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टेली कम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपुर्तिकर्ता भेनराइज सोलुसनसका आधिकारिक प्रतिनिधिको उपस्थितिमा उल्लिखित प्रविधि तथा सामाग्री खरिद सम्झौता बमोजिमको भए/नभएको सम्बन्धमा उक्त टोलीद्वारा प्राविधिक परीक्षण गराई प्रतिवेदनसहित पेश गर्नू,’ आदेशमा भनिएको छ ।

