
सरकारको आलोचना गरेको आरोपमा जेलमा रहेका कम्बोडियाली विपक्षी पार्टीका पूर्व नेता शाही माफीपछि बुधबार रिहा भएका छन् ।
नेशन पावर पार्टीका संस्थापक सन चान्थीलाई सन् २०२४ डिसेम्बरमा सामाजिक अराजकता निम्त्याएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको थियो । कम्बोडियाली अधिकारीहरूले यो आरोप बारम्बार सरकारी आलोचकविरुद्ध प्रयोग गर्छन् ।
जापानमा समर्थकहरूसँगको भेटका क्रममा कम्बोडियाली सरकारको आलोचना गर्ने भिडियो क्लिपसहित उनको सामाजिक सञ्जाल पोस्टसँग उनको मुद्दा सम्बन्धित छ ।
नेसन पावर पार्टीका सल्लाहकार रोङ चुनले राजा नोरोद्दोम सिहामोनीले आममाफी दिएपछि चान्थीलाई बुधबार बिहान पुर्सात प्रान्तको एक जेलबाट रिहा गरिएको बताएका छन् ।
चुनले आफ्ना नेताको रिहाइको स्वागत गर्दै जेलमुक्त गरिएका चान्थीलाई उनकी श्रीमतीले जेलबाट बुझेर लगेको बताएका छन् ।
परम्परागत रूपमा सरकारको अनुरोधमा कम्बोडियाका राजाले शाही माफी जारी गर्ने परम्परा रहेको छ ।
चुनले रिहाइको पुष्टि गर्दै चान्थीको समयअगावै भएको रिहाइको कुनै कारण नदिइएको बताएका छन् ।
लामो समयदेखि विपक्षी नेता र मजदुर कार्यकर्ता रहेका रोङ चुन आफैंले गत वर्ष यस्तै उक्साएको आरोपमा चार वर्षको जेल सजाय पाएपछि मुद्दाबारे अपिल गरिरहेका छन् ।
सन् २०२४ मा उनले भूमि विवादका पीडितलाई भेटेपछि र प्रधानमन्त्री हुन मानेटको भियतनामको सीमामा रहेको क्षेत्रमा टिप्पणी गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।