
माइतीघर क्षेत्रमा पानी परेपछि एमाले प्रदर्शन केही मत्थर भएको छ ।
पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता झन्डै साँझ ५ बजेतिरबाट तितरबितर भएका हुन् ।

यसअघि माइतीघरबाट शुरू भएको प्रदर्शन बबरमहलस्थित काठमाडौं जिल्ला अदालतअगाडि पुगेर तनावपूर्ण अवस्थामा परिणत भएको थियो ।
त्यसक्रममा प्रदर्शनकारीले टायर बाल्ने र प्रहरीले निभाउने जुहारी नै चलेको थियो ।
यसबीचमा प्रहरीलाई झुक्क्याएर केही प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेटमा पुगेका थिए ।
उनीहरूलाई प्रहरीले तत्काल भगाएको थियो । प्रहरीको लाठी लागेर एकजना घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको छ ।
सिंहदरबारबाट बबरमहल फर्किएका प्रदर्शनकारीले फेरि टायर बालेर विरोध जनाएका थिए ।
त्यसक्रममा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।