
काठमाडौंमा सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-३ घर भएका २० वर्षीय एनोस तामाङ, २६ वर्षीय हेमन्त तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट ककनी गाउँपालिका-२ घर भएका १९ वर्षीय लाक्पा तामाङ र काठमाडौं महानगरपालिका-१२ नरदेवी बस्ने भारत पश्चिम बंगाल प्रान्त हुग्ली घर भएका ५० वर्षीय शुकुमार पात्र रहेका छन् ।
तारकेश्वर नगरपालिका-८ जरङ्खुमा गत ११ गते स्कुटरमा आएका अपरिचित व्यक्तिहरूले एक जना महिलाको सुनको सिक्री लुटपाट गरेका थिए ।
घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
साथै, प्रहरीले उनीहरूको साथबाट नगद ७५ हजार ८ सय रूपैयाँ र स्कुटर १ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।