०४ साउन २०८३, सोमबार

भूकम्पले ढालेको घर उठाउन गएका विदुर आफैँ ढले, हात गुम्यो, उपचारमा आर्थिक अभाव

चैत २७, २०७४
भूकम्पले ढालेको घर उठाउन गएका विदुर आफैँ ढले, हात गुम्यो, उपचारमा आर्थिक अभाव

काठमाडौं, २७ चैत- धादिङको सलाङघाटका विदुर बास्कोटा काठमाडौंमा तरकारी तथा अण्डाको व्यापार गरेर जीविका चलाउँदै आएका थिए ।

काठमाडौंमा व्यापार गरेर दैनिकी चलाउँदै आएका बास्कोटाले २०७२ सालमा भूकम्पले भत्काएको घर भने बनाउन सकिरहेका थिएनन् । भूकम्पले घर भत्किएपछि टहरामै बसेका परिवारका सदस्यलाई नयाँ घर बनाएर खुशीसँग राख्ने बास्कोटाको योजना थियो ।

व्यापार गरेर कमाएको रकम घरखर्चबाट केही बचाएर भूकम्पले भत्किएको घर बनाउने सपना बुन्दै थिए उनी ।

नयाँ घर बनाउने योजना बनाएका उनी घर बनाउनका लागि मान्छे लिएर गत मंगलबार बिहान काठमाडौंबाट धादिङ गए । भोलिपल्ट आफ्नो पसल पनि खोल्नुपर्ने भएकोले उनी मंगलबार बेलुका नै काठमाडौं फर्किए । 

घर बनाउने मान्छे घरमा छोडेर परिवारसँग विदाइ भएका बास्कोटाको सपना बाटोमै चक्नाचुर भयो । उनी काठमाडौं नआइपुग्दै गजुरीमा दुर्घटनामा परे ।

बेलुका साढे नौ बजे गजुरीको चालिसे आइपुगेका बास्कोटालाई विपरीत दिशाबाट आउँदै गरेको गाडीले ठक्कर दिएर भाग्यो ।

उनले दुर्घटनाको समय सम्झदै भने, ‘बाइक चलाएर एक्लै आएको थिएँ । बेलुका करीब साढे नौ बजे गजुरीको चालिसे भन्ने स्थानमा दुर्घटनामा परेँ । अगाडिबाट गाडीले ठक्कर दिएर ठूलो आवज आएको मैले सुनेँ, त्यसपछि केही याद भएन ।’

गजुरीमा दुर्घटनामा परेका उनलाई स्थानीय र प्रहरीले उद्धार गरी गजुरीको सामुदायिक अस्पतालमा लगे । गजुरी अस्पतालमा प्राथमिक उपचारपछि प्रहरीले राजमार्ग विपत् उद्धार समाज नेपालको एम्बुलेन्समा काठमाडौं पठायो । एम्बुलेन्स चालक बलराम त्रिपाठीले उनको अवस्था निकै गम्भीर भएको र कोही आफन्त नभएपछि आफैले नर्भिक अस्पतालमा लगेको बताए ।

‘राति १० बजे गजुरी अस्पतालबाट फोन आयो । त्यति राति उसको आफन्त आउने सम्भावना भएन,’ उनले भने, ‘उसको अवस्था निकै गम्भीर थियो । भोलिसम्म बाँच्यो भने त उसका आफन्तले चाहेको अस्पतालमा लैजान्छन्, उपचार गराउँछन् भनेर निकै मुस्किलले नर्भिकमा लगेँ ।’

गजुरी अस्पतालबाट काठमाडौंको नर्भिक अस्पतालसम्म एक्लै बिरामी लिएर आउन निकै कठीन भएको उनले सुनाए ।

बेहोस अवस्थामा नर्भिक पुगेका बास्कोटाको बुधबार मात्रै होस आयो । आफैँ बाइक चलाएर घरबाट काठमाडौं हिँडेका बास्कोटाले होस् खुल्दा दाहिने हात चुँडिन लागेको र दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको अवस्थामा आफूलाई अस्पतालको शय्यामा पाए ।

‘मेरो बुधबार बिहान होस आएको थियो । म अस्पतालको शय्यामा रहेछु । अस्पतालमा सबैले होस् आयो! होस् आयो! तपाई नर्भिक अस्पतालमा हुनुहन्छ भन्नुभयो,’ बास्कोटाले लोकान्तरसँग भने, ‘मेरो होस आएपछि नर्भिक अस्पतालका डाक्टरले तपाईँको दाइने हातले काम गर्दैन, काट्नुपर्छ भन्नुभयो । मैले डाक्टरको कुरा सुनिरहेँ ।’

दुर्घटनाको कारण बास्कोटाले आफ्नो दाहिने हात गुमाउनु पर्‍यो । दाहिने खुट्टाको घुँडामुनि दुई ठाउँमा भाँचिएको छ । नर्भिक अस्पतालले १० लाख रुपैँया लाग्छ भनेपछि उपचार खर्च तिर्न नसक्ने भएर बास्कोटाको परिवारले राष्ट्रिय ट्रमा सेन्टरमा लग्यो । बास्कोटा अहिले ट्रमा सेन्टरको चौथो तलामा रहेको ७१४ नम्बर शय्यामा उपचारत छन् ।

धादिङ प्रहरीले बास्कोटालाई ठक्कर दिने सवारी पत्ता लगाउन सकेको छैन । तरकारी पसल गरेर जीविका चलाउँदै आएका उनको परिवारलाई अब कसरी उपचार खर्च जुटाउने भन्ने समस्या परेको छ ।

‘तरकारी पसल गरेर काठमाडौंमा बस्दै आएका थियौं । घर बनाउने मान्छे पुर्‍याएर फर्कँदै हुनुहुन्थ्यो । तर दुर्घटनमा परेर हात पनि काट्नुपर्‍यो, खुट्टा दुईठाउँमा भाँचिएको छ । उपचारमा कति समय र पैसा लाग्छ केही थाहा छैन,’ बास्कोटाकी पत्नी पुनमले भनिन्, ‘उहाँ दुर्घटनामा परेदेखि पसल पनि बन्द छ । उहाँको उपचार कसरी गर्ने, कसरी दैनिकी चलाउने केही सोच्न सकेको छैन ।’

बास्कोटाको उपचारमा डेढ लाख खर्च भइसकेको छ । उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने परिवारको आशा छ ।

नोट : बास्कोटालाई सहयोग गर्न चाहनेहरूले ९८०३४६१५८४ मा पुनम बास्कोटालाई सम्पर्क गर्न सक्नुहुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्