०७ साउन २०८३, बिहीबार
सन्दर्भ : गणतन्त्र दिवस

ज्याला मजदूरी गरेर जीविका चलाउने वर्गलाई आएन गणतन्त्र

जेठ १५, २०७५
ज्याला मजदूरी गरेर जीविका चलाउने वर्गलाई आएन गणतन्त्र

काठमाडौं, १५ जेठ – बुढ्यौलीले चाउरी परेको अनुहार, निधारमाथि खस्नै लागेको ढाका टोपी, हल्का गुलाबी रंगको शर्ट, कालो स्वेटर अनि खुट्टामा चप्पल । यस्तै हुलियामा न्युरोडभित्रको गल्लीमा एक वृद्ध हातमा नाम्लो लिएर बसिरहेका थिए । सायद भारी कुरेको हुनुपर्छ । अनुहारमा थकान प्रष्टै देखिन्थ्यो ।

नजिक गएर मैले प्रश्न गरें, ‘बुबा नाम्लो लिएर बस्नुभएको छ, भारी कुर्नुभएको हो ?

उनले तुरुन्तै जवाफ फर्काए– ‘हो नानी भारी बोक्न बसिरहेको छु ।’

उनले आफ्नो नाम रामबहादुर घले रहेको बताए । नुवाकोट त्रिशूली स्थायी घर भएका उनी विगत ५ वर्षदेखि काठमाडौंमा भारी बोक्ने काम गर्दै आएका रहेछन् ।

घरमा छोराछोरी र श्रीमती रहेको बताएका घलेले भारी बोकेर कमाएको पैसा घरमा पठाउँछन् ।

‘धेरै छन् यहाँ भारी बोक्नेहरू, आजभोलि धेरै भारी नै पाइँदैन, दिनमा ४/५ सय मात्र कमाइ हुन्छ,’ घलेले लोकान्तरसँग भने, ‘बुढो भइयो, धेरै ठूलो भारी बोक्नै सकिन्न, अहिले त खुट्टा काँप्छ ।’

छोराछोरीको पढाइ खर्च र परिवारको दैनिकी भारी बोकेरै चलेको भन्दै उनले काम नगरी छाक टार्न मुस्किल हुने बताए ।

सडकपेटीमा नाम्लो बोकेर भारीको पर्खाइमा बसिरहेका घलेलाई गणतन्त्र भनेको के हो नै थाहा रहेन छ ।

‘चुनाव आउँदा भोट हाल्न त गएको हो, आफूले दुःख नगरी खान पाइँदैन,’ उनले भने, ‘भारी बोक्छु, घरमा बालबच्चा छोराछोरी छन्, उनीहरूलाई खान लाउन दिनुपर्‍यो, गणतन्त्र भनेको खै के हो कुनी थाहा छैन ।’

...................‍‍‍‍‍‍

आज गणतन्त्र दिवस । विक्रम सम्वत् २०६५ साल जेठ १५ गते अर्थात् आजकै दिन राजतन्त्रको अन्त्य गरी नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्र घोषणा गरिएको थियो । 

नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेपछि जनताका छोराछोरीले राष्ट्र प्रमुख हुने अवसर पाए । जनताले चुनेका प्रतिनिधि नै राष्ट्रप्रमुख र सरकार प्रमुख भए । तर गणतन्त्र आएको १० वर्ष बितिसक्दा पनि धेरै नेपाली जनताले अझै यसको अनुभूति गर्न भएका छैनन् ।

रामबहादुर घलेजस्तै गरीब र दैनिक ज्यालामजदूरी गरेर जीवन गुजार्दै आएकाहरू देशमा गणतन्त्र आएको भनिए पनि आफूहरूले त्यसलाई अनुभूत गर्न नपाएको गुनासो गर्छन् ।

‘देशमा गणतन्त्र आएको १० वर्ष भइसक्यो भन्छन्, जनताका छोराछोरी राष्ट्रमा पुगे भन्छन्, तर हामीजस्तो गरीबलाई गणतन्त्र आएर केही भएको छैन,’ न्युरोडमा भारी बोक्दै आएका दिलबहादुर मगरले लोकान्तरसँग भने, ‘बिहानदेखि साँझसम्म भारी बोक्ने काम गर्छौं, भारी बोक्न पाएको दिन खान पाउँछौं, त्यही पनि पाइएन भने कसरी गुजारा चलाउने भन्ने चिन्ता हुन्छ । देशमा परिवर्तन आएपनि हाम्रो दैनिकी उस्तै छ ।’

सिन्धुलीका दिलबहादुर विगत पाँच वर्षदेखि न्युरोड सडक परिसरमा पसलहरूमा भरियाको काम गर्दै आएका छन् । बिहान जुरुक्क उठेर सडकमा निस्किएका मगर रातको ९ बजेसम्म पसलको सामान ओसारपोसारको काम गर्छन् । मगरले एउटा भारी बोकेबापत एक सय रुपैंया पाउँछन् । भारी बोकेरै कमाएको पैसाले दुई छोराको पढाइ खर्च र घर परिवारको दैनिकीमा खर्च गर्दैमा ठिक्क हुन्छ ।

गणतन्त्र आएपनि आफ्नो जीवनमा कुनै परिवर्तन नआएको उनी बताउँछन् ।

‘हुने खानेका लागि त गणतन्त्रले राम्रो गर्‍यो होला, हामीजस्तो गरीबलाई केही पनि भएको छैन, दुःखै–दुःखमा जिन्दगी बित्न लाग्यो,’ उनले भने, ‘छोराछोरीलाई राम्रोसँग पढाउन पाए, हामी गरीबलाई केही रोग लाग्यो भने उपचार खर्च हुँदैन, हामी मजदूरहरूलाई बिरामी हुँदा निःशुल्क उपचार गर्ने व्यवस्था सरकारले गरिदिए हुन्थ्यो ।’

न्युरोडदेखि असन, महाबौद्ध, विशाल बजारका भित्री गल्लीमा धेरै पसलहरू छन् । मगरजस्तै दिनभर सडकमा भारीको पखाईमा नाम्लो बोकेर बस्नेहरूको संख्या धेरै नै छ । दैनिकी चलाउने र बालबाच्चाको पढाइको जिम्मेवारीसँगै आफूभन्दा ठूला भारीहरूको बोझ उनीहरूको थाप्लोमा हुन्छ ।

न्यूरोड गेटमा भेटिएका ८५ वर्षीया गंगालाल काफ्ले पनि गणतन्त्रले जनाताको जीवनमा परिवर्तन नल्याएको बताउँछन् ।

‘पञ्चायती व्यवस्था हुँदा बरु गरीब जनताले अर्काको जमिन कमाएर भने पनि खान पाउँथे, अहिले त साहुहरूको खेतबारी पनि बाँझो छ, काम गर्न पाइँदैन,’ काफ्लेले गुनासो गरे, ‘खै के गणतन्त्र आयो भन्नु ? जनतालाई दुःख उस्तै छ ।’

रत्पार्कमा भेटिएकी उदयपुरकी गीता फुँयालले सर्वसाधारण जनताले गणतन्त्र आएको आभाष पाउन नसकेको गुनासो गरिन् ।

‘जनताले भोट दिएर चुनिएका राष्ट्रपति, प्रधानमन्त्री सवार हँुदा त हामीले घण्टौंसम्म रोकिनुपर्छ, कसरी आयो भन्नु गणतन्त्र ?’ उनले प्रश्न गरिन् ।

कमेन्ट गर्नुहोस्