‘किन लोग्नेमान्छेहरूलाई पैसाले सब चीज किन्न सकिन्छ जस्तो लाग्छ ?’ चलचित्र ‘डाइङ क्यान्डल’ को संवाद हो यो ।
के लोग्नेमान्छेहरूले पैसाले सब चीज किन्न सक्छन् ? आर्थिक अभावमा अल्झेका पात्रहरूका लागि पैसा ठूलो कि माया ? के पैसाले माया किन्न सकिन्छ ? यी सबै प्रश्नको उत्तर मान्छेअनुसार फरक हुन सक्छ । चलचित्र ‘डाइङ क्यान्डल’ मा पैसा, प्रेम र सपनाको सम्बन्धलाई बाध्यात्मक कडीका रूपमा जोडेर कथानकमा उनिएको छ ।
चलचित्र ‘डाइङ क्यान्डल’ स–साना भुमरीमा रुमल्लिएको एक अभावग्रस्त परिवारको चित्रण हो । परिवारमा देखिएको अभावलाई मसिना कुराहरूमा अल्झाइएको छ । तिनै मसिना कुराले दिदी–भाइको सम्बन्ध चित्रण गरेका छन् । दिदी र भाइको मात्र होइन, समाजका रीति, संस्कृति, संस्कारका कुरालाई पनि घटनाको सानो तथा गह्रौं माला बनाएर गाँसेको छ । यो नै चलचित्रको सुखद पक्ष हो ।
पूरै चलचित्र जम्मा एक दिन र एक रातको कथामा आधारित छ । धेरै घटनाहरू फिल्ममा आउँदै आउँदैनन् । चलचित्र एउटा घरभन्दा धेरै पर पुग्न सकेको छैन । गाउँबाट पर त झन निस्किनै सकेको छैन । चलचित्रमा धेरै पात्र पनि छैनन् । तर सबै पात्र केही न केही सन्देश बोकेर चलचित्रको कथामा समाहित भएका छन् ।
कास्ट तथा क्रु सबैले चलचित्रलाई न्याय गरेका छन् । घरको एउटै परिवारको समस्यामा खुम्चिएको चलचित्रले निम्नवर्गीय परिवारको आवाज भनेको सबैको उठान गरेको छ ।
बिरामी आमा । उमेर कट्न लागेकी दिदी । र ११ वर्षीय भाइ । दिदी (सृजना सुब्बा) र भाइ (लाक्पा सिंगी तामाङ) को कथा मुख्य कथा हो । आमा (विद्या कार्की) पनि कथामा साथै रहन्छिन् ।
कथानक यिनै तीन पात्रको घरायसी समस्यामा अल्झिएको हुन्छ । आफ्ना फाटेका चप्पलसँग साटेर आफ्नी दिदीलाई काँटा ल्याइदिने भाइले बिहे भोजमा दिएको एक टपरी भात आफ्नी दिदीलाई ल्याइदिन्छ । यता दिदीले आफ्नै भाइ र आमाको चिन्ताले बिहे गर्दिन । कथा यिनै घटनारूपी काँडाको रूपमा अल्झेको छ ।
निर्देशक नरेश कुमार केसीले नाटक लेखेका हुन् कि फिल्म ? घरीघरी त तपाईंलाई लाग्न पनि सक्छ – तपार्इं रंगमञ्चमा नाटक हेर्दै हुनुहुन्छ । अथवा तपार्इंले देउरालीको चौतारीमा बसेर एउटा ‘घरको घटना’ हेरिरहनुभएको छ एकोहोरो । सबै दृश्य एकै ठाउँबाट हेर्न सकिन्छ एउटा घरको एक दिन र एक रातको विषयवस्तु ।
केसीको निर्देशकीय क्षमता प्रशंसनीय छ । चोटिला संवादले तपाईंलाई ‘मोनोटोनस’ बनाउँदैन । कथा शक्तिशाली छ । दर्शकलाई अब के होला भन्ने उत्सुकताले पछ्याउन छोड्दैन । कलाकारको प्राकृतिक अभिनय सुन्दर लाग्छ ।
कलाकार विद्या कार्कीको अभिनय जीवन्त छ । उनको अभिनय दमदार छ । चलचित्रका मुख्य कलाकार सौगात मल्ल, सिर्जना सुब्बा, अर्पण थापा, लाक्पा सिङ्गी तामाङले पनि आफ्नो भूमिकालाई न्याय दिएका छन् ।
एउटा सामान्य कथामा एउटै घरमा कोचिएर बसेको कथालाई संवाद, द्वन्द्व र पात्रका माध्यमबाट पूरै समयभरि हेरिरहुँ बनाउनु नै चलचित्रको सबल पक्ष हो ।
यसको शक्ति संवादमा छ । चलचित्रमा चोटिला संवादहरूको प्रयोग भएको छ । कतिपय सामान्य लाग्ने संवादले पनि गहन अर्थ बोकेको पाइन्छ । संवादकै माध्यमबाट बालमनोविज्ञानलाई कुशल रूपमा चित्रण गरिएको छ । चलचित्रका संवादले कथानकलाई झुर बन्न दिँदैन ।
चलचित्रको छायांकन पक्ष उत्कृृष्ट छ । लङ शट राम्ररी प्रयोग भएका छन् । रविन आचार्य र दिपांकर सिग्दरले विषयवस्तु र कथानकलाई आफ्नो क्यामरामा सुन्दर रूपमा खिँचेका छन् । लाइट इफेक्ट पनि उस्तै सुन्दर छ । क्वीन्स वर्ल्ड फिल्म फेस्टिभलमा समेत छायांकन विधामा अवार्ड जितेको थियो फिल्मले । समग्रमा फिल्मको मेकिङ राम्रो छ । बालकले अन्जानमा सोध्ने असाधारण प्रश्नले संवाद बलियो बनाएको छ ।
यद्यपि चलचित्र हेर्दै गर्दा कुनै दृश्यहरू चाहिनेभन्दा बढी लामा लाग्छन् । परिवेश एउटै घर वरिपरि घुमाउनुको साटो कथालाई अलि फराकिलो बनाएको भए अझ बढी दर्शकको बजारसम्म चलचित्र पुग्न सक्थ्यो ।
विषयवस्तुलाई कमसेकम गाउँभरि घुमाएको भए फिल्म अझै आकर्षक बन्ने थियो । भाइले बारम्बार कुरा गरिरहने बुवा र दिदीहरुको तस्वीर समेत देखिँदैन । गरीबीले घरमा तस्वीर नभएको हो भने कथाक्रम विकासका लागि कुनै दृश्यमा पूरै परिवारलाई देखाउन सकेको भए चलचित्र अझ उत्कृष्ट बन्ने थियो ।
सम्रगमा चलचित्र उत्कृष्ट छ । मूलकथा दिमागमा नाचिरहन्छ । पात्रहरूले कतै न कतै दर्शकको मनमा कब्जा जमाउँछन् ।
आमाले छोराछोरीलाई गर्ने माया, दिदीले भाइ तथा आमालाई गर्ने माया र लोग्नेमान्छेले युवतीलाई गर्ने मायालाई चलचित्रमा मीठो रूपमा प्रस्तुत गरिएको छ ।
‘लामो बाटो छ । अँध्यारोमा मात्र बालेस् । तेल जोगाएस्,’ भाइ बोकेर गएकी आफ्नी व्यावहारिक छोरीलाई आमाले यसो भन्छिन् ।
तेल जोगाएर बाल्नुपर्ने दियो निभ्ला या ननिभ्ला । तर चलचित्रका पात्रले देखाएको आशाको दियो बल्छ कि निभ्छ भन्ने डर दर्शकलाई अन्तिमसम्म लागिरहन्छ ।
Advertisment
Advertisment