
धनगढी – वस्तु विनिमय प्रणाली अर्थात् एक वस्तुबाट अर्को वस्तु साटासाट गरी आफ्नो आवश्यकता पूर्ति गर्ने प्रचलन आज पनि कायमै रहेको छ ।
आधुनिकताको क्रमसँगै वस्तु वा सेवा खरिद गर्न मुद्रा, क्रेडिट कार्ड, चेक, ई–सेवालगायत विभिन्न विनिमयका माध्यम चलनचल्तीमा रहेपनि कैलाली, कञ्चनपुुरसहित भारतीय सीमासँग जोडिएका विभिन्न जिल्लाका ग्रामीण भेगमा वस्तु विनिमय प्रणाली कायमै रहेको हो ।
कृषिमा निर्भर ग्रामीण भेगका नागरिक वस्तु विनिमय प्रणाली अनुसार नै आफ्ना आवश्यकता पूर्ति गर्दै आएका हुन् । भारतका विभिन्न ठाउँबाट आउने बिचौलिया र स्थानीयबीच धान, गहुँ, मसुरोलगायत जिन्सी पदार्थबाट आलु, खुर्सानी, सिद्रा, सखरखण्ड, मिठाईलगायत वस्तु साटासाट हुँदै आएको कैलारी गाउँपालिका–६ का भलमन्सा गंगाराम महतोले बताए । जसबाट नेपालीहरू नै मारमा पर्दै आएको समेत उनले बताए ।
उनका अनुसार भारतीय नागरिक सस्तो र कम गुणस्तरका खाद्य वस्तुहरू महंगोमा बेच्दै आएका हुन् । यसरी साटासाट हुने वस्तुको बजार मूल्यमा हुने अन्तर र कमसल पदार्थले गर्दा भारतीयबाट नेपाली नागरिक अज्ञानतावश ठगिँदै आएको उनले बताए ।
उनको अनुसार १ पसेरी (साढे २ किलो) धानले १ किलो आलु साटासाट हुँदै आएको छ । ४ किलो धान बराबर १ किलो खुर्सानी साट्ने काम हुँदै आएको छ भने ६ पसेरी धान (१५ केजी) ले १ केजी गुणस्तरहीन सिद्रा पनि साट्ने काम हुँदै आएको जनाइएको छ ।
भारतको खिरी जिल्लाको चौराहाका स्थानीय कैलाश चौहानले हिउँद र गर्मी सिजनभर वस्तु साटासाटको व्यापार गर्दै आएको बताए । विगत २० वर्षदेखि यही व्यापार गर्दै आएको बताउने चौहानले वर्षमा १० पटकसम्म नेपाल आउँदै गरेको जानकारी दिए । १ पटकमा करीब १ हप्तासम्म नेपालको विभिन्न स्थानमा वस्तु साटासाटको व्यापार गर्दै आएको पनि उनको भनाई छ ।
४० वर्षदेखि नेपालमा आएर व्यापार गर्दै आएको बताउने खिरी जिल्ला चौराहाकै अर्का प्रेम जैसवालले पुस्तौंदेखि नेपालमा आएर व्यापार गर्दै आएको बताए । यही व्यापारबाट नै आफूहरूको जीविकोपार्जन हुँदै आएको समेत जैसवालको भनाई छ ।
कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक एवं सहकारीविद् डा. गोविन्दराज जोशीले ग्रामीण भेगमा अशिक्षा र कमजोर आर्थिक अवस्था र किसानका कृषि उपजले बजार मूल्य नपाउँदा भइरहेको वस्तु विनिमय प्रथाबाट नेपाली किसान भारतीय बिचौलियाबाट ठगिँदै आएको बताए ।
विकसित देशमा मुद्रा विनिमय प्रणाली समेत हट्ने क्रममा रहेको जानकारी दिँदै उनले नेपालको ग्रामीण भेगमा भने वस्तु विनिमय प्रणाली कायमै रहनुले मुलुकको कमजोर आर्थिक अवस्थालाई दर्शाइरहेको औल्याए ।
वस्तु विनिमय प्रथा हटाउनको लागि राज्यले ग्रामीण भेगमा कृषि उपजको प्रभावकारी बजारीकरणमा ध्यान दिनुका साथै विनिमय तथा मुद्राबारे जनजागरण कार्यक्रम सञ्चालन गर्नु पनि आवश्यक रहेको बताए । पैसाबाटै आवश्यक वस्तु खरिद गर्ने बानीको विकास गर्नु पनि उत्तिकै जरुरी रहेको सहकारीविद् डा. जोशीको सुझाव छ ।