२७ जेठ २०८३, बुधबार

युवा–विद्यार्थीमा ‘झड्केलो’ पूँजीवाद : नव धनाढ्यको कब्जामा संगठन

मंसिर २७, २०७५
युवा–विद्यार्थीमा ‘झड्केलो’ पूँजीवाद : नव धनाढ्यको कब्जामा संगठन

नेपालको माटोमा मौलिक ढंगबाट मार्क्सवाद, लेनिनवाद र माओवाद प्रयोग गर्ने उद्देश्य राखेर अधिकांश कम्यूनिस्ट पार्टीहरू गठन भएका छन् । कम्यूनिस्ट पार्टीका नेताले जुन उद्देश्य राखेर सर्वहारा श्रमजीवी वर्गको पक्षमा लाग्ने प्रतिवद्धता गरे, त्यस अनुरूप कथनी र करणीमा तादम्यता प्रायः कमै पाइन्छ । 

परिणामतः कम्यूनिस्ट पार्टीका नेता मालेमावादी हुनुका लागि सैद्धान्तिक मूलभूत मान्यता अभिलेखनमा पूरा गरेपनि व्यावहारिकतामा भने थोरै देखिन्छ । पार्टी नेताको प्रभावका कारण अधिकांश युवा नेतामा पनि यो समस्या छर्लङ्ग देख्न सकिन्छ । इमान्दार नेताहरू सतर्क हुन जरूरी छ ।

विश्वका कतिपय देशजस्तै फ्रान्समा म्याक्रोन, उत्तर कोरियामा किम जोन उन र क्यानडामा जस्टीन टुडों लगायत देशमा युवा नेताले मुलुकको सफल नेतृत्व गरिरहेका छन् । यिनै नेताले विश्व अर्थराजनीतिमा नयाँ तरङ्ग प्रवाह गरिरहेका छन् । तर हाम्रो मुलुकका युवा नेता अवसर खोजीको लागि पार्टीका केही थान जीर्ण नेताको पेरीफेरीमा नै आफ्नो भविष्य खोजिरहेका छन् ।

युवा नेता राष्ट्र र समाजको आदर्शका प्रतिबिम्ब बन्नुपर्छ । भविष्यमा पार्टीसँगै मुलुकको नेतृत्व गर्ने आशा गरिएका युवा नेता अध्ययन, चिन्तन, मनन र जनसेवामा लागेको आजकल कमै भेटिन्छ । पछिल्लो समयमा युवा नेतामा सेवाभावको आदर्श स्खलित भएकोजस्तो देखिन्छ । आर्थिक चलखेल गर्ने, ठेक्कापट्टा गर्ने, बिचौलिया बन्ने र नेताको चाकडी गर्ने काममा प्रतिस्पर्धा ज्यादै बढेको देखिन्छ ।

युवा र विद्यार्थी संगठन पार्टी राजनीतिको मुख्य उत्पादन थलो हो । थलो अर्थात् भुइँ वा जमिन हो । जमिनमा जुन फल रोप्यो, बोटमा पनि त्यहीँ फल फल्दछ । आफ्नो व्यक्तिगत स्वार्थका निम्ति ग्रासरूटका नेता कार्यकर्तासँग आर्थिक चलखेल गरेर तिनै आर्थिक सहयोगीलाई नेताको रुपमा उभ्याउनु भनेको भविष्यमा संगठनलाई मागी खाने मगन्तको समूह बनाउनु हो, बेठीक फल फलाउनु हो । संगठनको उद्देश्य ठीक हुँदाहुँदै पनि नेताहरू व्यक्तिगत स्वार्थमा लागेका कारण अहिले नेपाली युवा विद्यार्थी आन्दोलन, थला पर्दै एजेन्डाविहिन बन्दैछ ।

सरकारी क्याम्पसमा पढाइ सुधार्न पहल गर्नुपर्नेहरूले निजी कलेजमा लगानी गरेका छन् । मोटरबाटो, पुलपुलेसा र बालुवा खानीमा युवा संगठनका नेताले ठेक्कापट्टा टेन्डर चलाएका छन् ।

अहिले कतिपय कलेजमा विद्यार्थी नेताको लगानी छ । सरकारी क्याम्पसमा पढाइ सुधार्न पहल गर्नुपर्ने उनीहरूले निजी कलेजमा लगानी गरेका छन् । मोटरबाटो, पुलपुलेसा र बालुवा खानीमा युवा संगठनका नेताले ठेक्कापट्टा टेन्डर चलाएका छन् । अझ कहिलेकाहीँ प्रशासनिक सरूवा बढुवामा पनि चलखेल गर्दछन् । राजनीतिमा लागेका युवाहरूले मुलुकमा विकासको नक्सा कोर्नुपर्नेमा आफ्नो घरको नक्सा कोर्न लाग्नु बिडम्वनापूर्ण अवस्था हो । संगठनको नाममा धन्दा चलाउने नीतिका कारणले गर्दा युवा र विद्यार्थी नेताको जीवनशैलीबारे बारम्बार प्रश्न उठ्ने गरेको छ ।

कतिपय अवस्था नयाँ दृष्टिकोणको अपेक्षा गरिएका युवा नेताहरू भट्टिदेखि महंगा रेस्टुरेन्ट धाउँदै धुम्रपान र मदिरापानको संस्कारमा रमाइरहेका छन् । मदिराले लठ्ठिएपछि झगडा गरेर जगत हसाइरहेका छन् । गलत संस्कार भुसको आगोझैं संगठनभित्र सल्किरहेछ । यस्तो विचलनमा फसेका वर्तमान युवा पुस्ताबाट नयाँ ऊर्जाशील पुस्ताले के पाठ सिक्ने होला ! झड्केलो पूँजीवादबाट ग्रसित यी युवाले नयाँ विचार दिन नसके पनि गलत संस्कार अबलम्वन गरिदिँदा पार्टीका नेता, कार्यकर्ता र जनताप्रतिको आशा भरोसालाई टुक्र्याइरहेका छन् ।

सामाजिक काम गरेजस्तो नाटक गर्दै सेल्फी खिच्ने, सामाजिक सञ्जालमा फोटो राख्ने र सेलिब्रेटी हुने युवा जमात क्रमशः वृद्धि हुँदैछ । सस्तो लोकप्रियताको दौडमा राजनैतिक दलका युवा पनि छन् । सेलिब्रेटीको ढोङ कम्यूनिस्ट आचरणभित्र पर्दैन । यस्तो कामचोर प्रवृत्तिले हाम्रो समाजमा कस्तो असर पुर्याउँछ ? यसबारे सम्बन्धित युवा नेता किन अनविज्ञ छन् ।

निष्ठा, सेवाभाव र आदर्शको राजनीति गर्ने नेताको संगठनमा संकट देखिँदैछ । यी गम्भीर विषयमा नेपाल कम्यूनिस्ट पार्टीका जिम्मेवार नेताले समीक्षा गर्नुपर्ने देखिन्छ । कांग्रेसका युवाको हालत पनि उस्तै देखिन्छ । यस्ता विषय पार्टीका लागि गम्भीर चुनौती हुन् । परन्तु पार्टीका जिम्मेवार नेताले यस्ता व्यथितिलाई गुट केन्द्रीत हुँदै गलतलाई प्रश्रय दिनु हुँदैन ।

पञ्चायतविरूद्ध सघर्ष गरेका नेताको आचरण खराब भयो भन्दै १ छाक खाएर जनयुद्ध लडेका केही थान युवा नेता आज नवधनाड्य अवताररूपी वर्गमा देखिएका छन् । यी कमरेडको वर्ग उत्थान भएको छ । केही नवधनाड्य नेताले संगठनलाई नै कब्जामा राख्ने प्रयास वा भ्रमको खेती गरिरहेका छन् । अबको मुख्य अन्तरसंघर्ष संगठनभित्र इमान्दार नेता भर्सेज नवधनाड्यको हुनेछ ।

पार्टीका युवाशक्तिको सम्पूर्ण ध्यान अर्थोपार्जनतर्फ भएपछि समानतामा आधारित समाजवादको जिम्मेवारी भविष्यमा यिनैको हातमा गए के होला ? यस्तो वर्तमान अवस्थामा चीनमा माओले अबलम्वन गरेकोजस्तै सांस्कृतिक क्रान्तिको टड्कारो आवश्यकता नेपालका कम्यूनिस्ट पार्टीभित्र देखिँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्