
काठमाडौं – भूकम्प प्रभावित पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीमध्ये ४२ प्रतशित सम्पदा पुनर्निर्माणको काम अझै शुरू भएको छैन । पुनर्निर्माण प्राधिकरण गठन भएको तीन वर्ष बितिसक्दा पनि अझै करीब आधा सांस्कृतिक सम्पदा पुनर्निर्माणको काम शुरू हुन नसकेको हो ।
२०७२ वैशाखमा गएको भूकम्पका कारण कुल ७ सय ५३ पुरातत्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीमा आंशिक तथा पूर्ण क्षति पुगेको थियो । जसमध्ये अझै ३ सय १७ वटा यस्ता सम्पदाको पुनर्निमार्णको कार्य शुरू नै नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । यो कुल पुनर्निर्माण गर्नुपर्ने सम्पदाको ४२ प्रतिशत हो ।
प्राधिकरणका अनुसार गत आइतवारसम्म २ सय १२ वटा यस्ता सम्पदा पुनर्निर्माणको काम सम्पन्न भएको छ । यो कुल पुनर्निर्माण गर्नु पर्ने सम्पदाको २८ प्रतिशत हो ।
त्यस्तै २ सय २४ यस्ता सम्पदाको पुनर्निर्माणको कार्य चलिरहेको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले चालू आर्थिक वर्ष २०७५/०७६ मा ५० प्रतिशत यस्ता सम्पदा पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार ज्ञवालीले जानकारी दिए ।
त्यस्तै आगामी आर्थिक वर्षमा यस्तो सम्पदाको पुनर्निमाण ७५ प्रतिशत सक्ने र आर्थिक वर्ष २०७७/७८ मा सम्पदा लगायत सबै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको ज्ञवालीको भनाइ छ ।
'रानी पोखरीको पुनर्निर्माण कहिले सकिन्छ?'
प्रधानमन्त्री केपी शर्मा ओलीले रानीपोखरी पुननिर्माण सक्न कति समय लाग्ने भन्दै प्रश्न उठाएका छन् ।
पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्मा प्रधानमन्त्री ओलीले रानी पोखरी पुनर्निर्माणको कार्य शुरू नै नभएको भन्दै त्यसको पुनर्निर्माण सक्नुभन्दा अघि प्राधिकरणको कार्यकाल सकिने बताए ।
‘रानी पोखरी पुनर्निर्माणको कार्य शुरू नै भएको छैन । त्यसको निर्माण कति वर्षमा सकिन्छ ?’ उनले भने, ‘ठेकेदारले रानी पोखरी निर्माणका लागि दुई वर्ष समय मागेको छ । दुई वर्ष त पुनर्निर्माण प्राधिकरणको कार्यकाल समेत छैन ।’
तर दुई वर्ष समय छैन भनेर हतार गर्न नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो । दुईवर्ष समय छैन भनेर अहिले नै हतार गर्न नपर्ने र अनुगमनलाई अझै प्रभावकरी बनाउनु पर्ने ओलीले बताए ।
‘समय छैन भनेर हतार किन गर्ने ?’ उनले भने, ‘हामीसँग अझै डेढ दुई वर्ष समय बाँकी छ । अनुमगनलाई प्रभावकरी बनाउनुस् ।’
तीन वर्षमा आधा पनि बनेन निजी आवास
पुनर्निर्माण प्राधिरकणका अनुसार गत आइतवारसम्म कुल निजी आवासमध्ये ३ लाख ४७ हजार ८ सय १७ वटा निजी आवासको पुनर्निर्माण सकिएको छ । यो कुल पुनर्निर्माण हुनुपर्ने निजी आवासको ४६ प्रतिशत हो । भूकम्पका कारण ८ लाख ११ हजार १ सय ५४ कुल निजी आवास आंशिक तथा पूर्ण क्षति भएका थिए ।
प्राधिकरणका अनुसार कुल ५ लाख ७८ हजार ८ सय ४७ निजी आवास पुनर्निर्माणको काम शुरू भएको छ ।
भूकम्प प्रभावित निजी आवासमध्ये हालसम्म कुल ९९ प्रतिशतले पहिलो किस्ता अनुदान पाएको प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै ७१ प्रतिशतले दोस्रो किस्ता अनुदान पाएका छन् । त्यसैगरी ४७ प्रतिशत भूकम्पपीडितले तेस्रो किस्ता भुक्तानी पाएको प्राधिरणले जानकारी दिएको छ । कुल ७ लाख ४९ हजार १ सय ५५ निजी आवाससँग अनुदान सम्झौता गरिएको थियो ।
प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बस्ती स्थानान्तरण तथा कतिपय ठाउँमा स्थानीय निकायले समेत केही झमेला गर्दा पुनर्निर्माणको काम सोचेजस्तो अघि बढ्न नसकेको बताए ।
१४ सय स्कूल र ४ सय स्वास्थचौकी निर्माण शुरू हुने बाँकी
भूकम्पले प्रभावित कुल ७ हजार ५ सय ५३ वटा शिक्षण संस्था पूर्ण एवं आंशिक रूपमा प्रभावित भएका थिए । प्राधिकरणले हालसम्म कुल ४ हजार १ सय ७२ शिक्षण संस्था पुनर्निर्माणको काम सम्पन्न गरिएको जानकारी दिएको छ । १ हजार ९ सय २१ संस्था पुनर्निर्माणको चरणमा रहेका प्राधिकरणले जानकारी दिएको छ । अझै १ हजार ४ सय ६० शिक्षण संस्था पुनर्निर्माणको काम शुरू नभएको प्राधिकरणको तथ्याङ्क छ ।
त्यस्तै कुल १ हजार १ सय ९७ वटा स्वास्थ संस्था भूकम्पका कारण आंशिक तथा पूर्णरूपमा क्षति पुगेपनि अझै ४ सय ९ स्वास्थ संस्था पुनर्निर्माणको काम शुरू नभएको प्रािधकरणले जानकारी दिएको छ । प्राधिकरण अनुसार ६ सय ४३ स्वास्थ संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ स्वास्थ संस्था निर्माण कार्य चलिरहेको छ ।