पैतृक सम्पत्ति हस्तान्तरणमा कर : के भन्छन् अर्थविद् ?

प्रेम चन्द
प्रेम चन्द

पत्रकार चन्द लोकान्तरका लागि आर्थिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

काठमाडौं – सरकारले पैतृक सम्पति हस्तान्तरणमा उच्च दरको कर लगाउने तयारी गरिरहेको बहस सार्वजनिक भएको छ । पैतृक सम्पत्ति हस्तान्तरणमा कर लाग्ने गरी अर्थ मन्त्रालयले सैद्धान्तिक छलफल अगाडि बढाएको छ ।

छलफलकै क्रममा रहेकाले कति सम्पत्तिमा कति कर वा कति प्रतिशत कर लगाउने भन्ने कानूनी टुंगो नलागेपनि पैतृक सम्पत्तिमा कर लगाउने विषय विवादित बनेको छ ।


Advertisement

हाल बुवाआमाको सम्पत्ति छोराछोरीको नाममा हस्तान्तरण गर्दा रजिस्ट्रेसन शुल्क लाग्दै आएको छ तर सरकारले उच्च दरको कर लगाउने तयारी गरेको बहस चलेको छ । अर्थ मन्त्रालयले राजस्वको दायरा फराकिलो बनाउने क्रममा पैतृक सम्पत्ति हस्तान्तरणमा उच्च कर लगाउन राजस्व बोर्डमा प्रस्ताव गर्नेगरी मन्त्रालयमा छलफल अघि बढाएको छ ।


Advertisement

अर्थ मन्त्रालयले एक पुस्ताबाट अर्को पुस्तामा सम्पत्ति हस्तान्तरण गर्दा कर लाग्ने गरी छलफल अगाडि बढाउँदा व्यवसायीदेखि सर्वसाधारण त्रसित देखिएका छन् । कतिपय व्यवसायीले त औपचारिक कार्यक्रममै आफ्नो सम्पत्ति सन्ततिलाई हस्तान्तरण गर्दा धेरै कर लाग्ने नीति आएमा नेपालमा लगानी केका लागि गर्ने भन्दै प्रश्न समेत उठाउँदै आएका छन् ।

यस विषयमा अर्थविदहरुको मत फरक फरक पाइन्छ । अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले स्रोतसाधन नपुगेपछि सरकारले जनताको सम्पत्ति सबै जफत गर्नसक्ने प्रावधान रहेको भनेर व्यंग्य गर्दै पैतृक सम्पत्तिमा कर लगाउँदा असर नकारात्मक हुने बताए । ‘स्रोत र साधन नपुगेपछि तपाईहरूको सम्पत्ति सबै जफत गर्छु भन्दा नि सरकारले सक्छ क्यारे,’ उनले भने, ‘सरकार चलाउनलाई स्रोत र साधन पुगेन भने तिम्रो सबै सम्पत्ति सरकारलाई देउ भन्न सक्छ । राष्ट्रियकरण गर भनेर भन्न सक्छ नि !’

नेपालमा अझै गरीबी रहेको, गासबासको समस्या रहेको र ठूलो सम्पत्ति हुनेले पनि पुर्ख्यौली करमा सजिलै पार नपाउने गरेको भन्दै सम्पत्ति बेचेर पनि कर तिर्नुपर्ने अवस्था आउन सक्ने क्षेत्रीले बताए ।

‘अहिले पनि १७ देखि १८ प्रतिशतसम्म मान्छे गरीबीको रेखामुनी छन् । गास, बास र कपासको समस्या अझै छ,’ उनले भने, ‘पैतृक सम्पत्तिमा कर लगाउने विषय अलि ठूलो रकम हुनेका लागि पनि त्यति सजिलैसँग पार पाउने गरेको छैन । जग्गा नै बेचेर कर तिर्नुपर्ने अवस्था पनि आउँछ ।’

सरकारले एउटा पुर्खाले सम्पत्ति आर्जन गर्न हाड र पसिना घोटेको भन्ने विचार नगरीकनै र अन्य मुलुकलाई हेरेर पुर्ख्यौली सम्पत्ति हस्तान्तरणमा कर लगाउने विषयमा छलफल चलाएको क्षेत्रीको धारणा थियो ।

‘एउटा पुस्ताले हाड र पसिना कसरी घोटेको भन्ने विचार नगरेपछि कुर्सीमा बसेकाहरूमा यस्तो धारणा आउँछ,’ क्षेत्रीले भने, ‘कतिपय मुलुकमा छ यस्तो कर तर त्यस्ता मुलुकमा करको विषयमा पूरा जिम्मेवार रहेर लगाइएको छ । हाम्रो यहाँ त सरकारको ढुकुटीमा गोली गट्ठा होला, खाद्यान्न होला अनि तपार्र्र्ईलाई के मतलब भन्ने अवस्था छ ?’

अर्थविद् केशव आचार्यले पैतृक सम्पत्तिमा कर लगाउनु राम्रो रहेको तर्क गरेका छन् । उनले व्यक्तिको सम्पत्तिको स्तर हेरेर कर लगाउनु उपयुक्त हुने बताए ।  ‘आर्थिक असमानता एकदमै बढ्न थाल्यो । जन्मजातै म धनी बाउआमाको सन्तान छु भने मैले अंशमा थुप्रै चीज पाउँछु । विचरा केही नहुने मान्छेको सन्तानले केही पनि पाउँदैन । त्यो हिसाबले मैले पुर्ख्यौली सम्पत्तिमा प्रगतिशील कर लागउनुपर्छ भनेर भन्दै आएको छु,’ उनले भने, ‘सम्पत्तिको स्तरको आधारमा निश्चित प्रतिशत निर्धारण हुनुपर्छ । कतिपयले अहिले नेपालमा पुर्ख्यौली सम्पत्तिमा कर लगाउने बेला भएको छैन भन्ने कुरा उठाएका छन् तर मेरो भनाई चाहिँ शुरू गर्दै गरिएन भने कहिल्यै पनि बेला भएको हुँदैन भन्ने हो ।’

सम्पत्ति हस्तान्तरणमा एकैपटक सबै वर्गमा कर लगाउने नभएर बिस्तारै सम्पत्तिको स्तर अनुसार लगाउँदै जानुपर्ने उनको भनाई छ । ‘भ्याट्ट लगाइहाल्ने होइन । मेरो मत चाहिँ यो कर लगाउनुपर्छ भन्नेमा हो,’ उनले थपे, ‘सबैलाई यति प्रतिशत भनेर लाउने होइन । एउटा न्यूनतम मापदण्ड हुनुपर्छ । जस्तैः १ करोड रुपैयाँको सम्पत्ति राख्ने कि २ करोड राख्ने कि, अथवा एक विगाह, २ विगाह जमिन राख्ने कि भन्ने हो ।’

न्यूनतम सीमासम्म सम्पत्ति हस्तान्तरणमा कर लाग्न नहुने र पुर्ख्यौली सम्पत्तिको आधारमा कर लगाउनुपर्नेमा उनले जोड दिए । ‘जति बढी पुर्ख्यौली सम्पत्ति आउने हो, त्यही अनुपातमा कर लगाउँदै जानुपर्छ,’ उनले भने, ‘१० करोड बराबरको छ भने अलिकति लगायो, २० करोड बराबरको छ भने अलि बढी लगायो । यदि १ अर्ब बराबरको सम्पत्ति नै आउने रहेछ भने त्यसलाई त्यही अनुपातमा बढी कर लगाउनुपर्छ ।’

कमेन्ट गर्नुहोस्