श्रीलंकाको राष्ट्रपति निर्वाचनमा गोताभया राजपक्षको अग्रता

श्रीलंकामा शनिवार सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना भइरहँदा विपक्षी दलका गोताभया राजपक्षले आरम्भिक अग्रता लिएका छन् । उनले नौवटा जिल्लाको हुलाकबाट प्राप्त मत जितेका छन् ।

उनलाई चुनौती दिने सत्तारूढ दलका सजित प्रेमदासाले तीनवटा जिल्लाको हुलाकबाट प्राप्त मत जितेका छन् । 


Advertisement

लाखौं श्रीलंकालीहरूले शनिवार नयाँ राष्ट्रपतिका लागि मतदान गरेका हुन् । विगत १५ वर्षमा सबभन्दा ठूलो आर्थिक मन्दीबाट श्रीलंकालाई उतार्नका लागि नयाँ राष्ट्रपतिले भूमिका निर्वाह गर्नुपर्नेछ । यसै वर्ष ईस्टर सन्डेका दिन भएको शृंखलाबद्ध बम आक्रमणले देशमा लगानीकर्ताहरूको विश्वास संकटमा पारेको छ र पर्यटन क्षेत्रलाई पनि नकारात्मक असर पारेको छ । 

मतपरिणाम भोलि सोमवारसम्म घोषणा भइसक्ने अपेक्षा छ । 


Advertisement

शनिवार बिहानै अल्पसंख्यक मुसलमान मतदाताहरू बोकेका १०० भन्दा बढी बसको जत्थामाथि बन्दूकधारीहरूले आक्रमण गरेका थिए । घटना उत्तरपश्चिममा रहेको अनुराधापुरामा भएको हो । पुत्तलमबाट मन्नार गइरहेका बसमा आक्रमण हुँदा मतदाताहरूलाई चोटपटक लागेन तर केही बसहरू क्षतिग्रस्त भए । 

देशका अल्पसंख्यक तमिल समुदायका मतदाताको निर्णय यस निर्वाचनमा महत्त्वपूर्ण हुने देखिएको छ । अल्पसंख्यकहरूले सन् २०१५ मा भएको निर्वाचनमा निकै महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर यस चुनावमा तमिलहरूको प्रतिनिधित्व गर्ने तमिल नेसनल अलायन्सप्रति मतदाताहरूले असन्तुष्टि व्यक्त गरेको पाइएको छ ।

एजेन्सी 

कमेन्ट गर्नुहोस्