हावाहुरीबाट केरा खेती नष्ट

जेठ ३०, २०७६

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पुर्‍याएको छ । गत बिहीवार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरू ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् । 

कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाइएको केरामा हावाहुरीले ९० प्रतिशत क्षति गरेको किसान मङ्गल चौधरीले बताए । उनका अनुसार हावाहुरीले ४२ हजार ५ सय केराका बोट ढालेको छ । जसबाट एक करोड ४८ लाख ७५ हजार रकम बराबरको केरा खेतीमा किसानलाई घाटा लागेको छ ।


ADVERTISEMENT

केराको बोट खरीद, लगाउने खर्च, मल, सिँचाइ गोडमेल गरी प्रतिबोट केरा ३५० रुपैयाँ लागत खर्च लाग्ने गरेको छ स्थानीय किसान रामआश्रय रानाले भने, 'दश कट्ठामा लगाएको पूरै केरा हावाहुरीका कारण ढलेपछि नोक्सानी भएको छ ।'

नौ जातको केरा रोपेका यहाँका किसानले हावाहुरीले व्यापक क्षति पुर्‍याउँदासमेत निरीक्षणका लागि हालसम्म सरकारी निकाय र जनप्रतिनिधि नपुगेको स्थानीय किसानले गुनासो गरेका छन् । धेरै जनाले गाउँको समूह, सहकारी संस्था र बैंकबाट कर्जा लिएर केरा खेती गरेका छन् । केरा खेती पूरै बर्बाद भएपछि समूहबाट केरा खेतीका लागि लिएको २० हजार ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको भङ्गी रानाले बताए ।

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस