एक साताअघि मिर्गौला पुनः प्रत्यारोपणको शल्यक्रियापछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज प्रक्रिया लम्बिएको छ ।
बुधवार संक्रमणको आशंका भएपछि उनको पिसाबको नमूना जाँच्नका लागि पठाइएको थियो । अस्पताल स्रोतका अनुसार संक्रमण हो कि होइन भनेर अहिले नै पत्ता लागिसकेको अवस्था छैन ।
'मिर्गौला प्रत्यारोपण गरेपछि विभिन्न संक्रमणको जोखिम हुने सम्भावना कायमै रहन्छ,' अस्पताल स्रोतले भन्यो, 'तिनै सम्भावित जोखिमहरूलाई ध्यानमा राखेर हामीले विभिन्न परीक्षणहरू गरिरहेका छौं । प्रधानमन्त्री ओली स्वस्थ हुनुहुन्छ, तर जोखिममुक्त हुनुहुन्न ।'
१२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरेको मिर्गौलाले गत साउनदेखि काम गर्न छाडेपछि अघिल्लो साताको बुधवार पुनः प्रत्यारोपण गरिएको थियो । मिर्गौला पुनः प्रत्यारोपण गरेका डाक्टर प्रेम ज्ञवालीले बुधवार शल्यक्रिया गरिएका बिरामीलाई अस्पतालले सामान्यतयाः सोमवार डिस्चार्ज गर्ने गरेको बताएका थिए । प्रधानमन्त्री ओलीमा थप संक्रमण हुन सक्ने देखिएपछि उनको डिस्चार्ज प्रक्रिया लम्बिएको हो ।
प्रत्यारोपणपछि ३ कारणले संक्रमणको जोखिम बढ्न सक्छ – डा. ऋषिकुमार काफ्ले, मिर्गौला रोग विशेषज्ञ
मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले मिर्गौला पुनः प्रत्यारोपणपछि ३ किसिमका संक्रमणको जोखिम बढ्ने बताउँछन् ।
बिहीवार लोकान्तरसँग कुरा गर्दै डाक्टर काफ्लेले भने, 'पहिला प्रत्यारोपित मिर्गौलामा आउनसक्ने संक्रमणको कुरा भयो, दोस्रो शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाले काम गरोस् भनेर खाएको 'इम्युनो सप्रेसिभ' औषधिका कारणले शरीरका अन्य भागहरूमा, जस्तो घाँटी दुख्ने, पिसाबमा संक्रमण हुने, निमोनिया हुने लगायतका अन्य संक्रमण देखापर्न सक्छ र शरीरका विभिन्न अंगहरूमा समस्या आउन देखिन्छ, तेस्रो अन्य बाह्य कारणले संक्रमणको जोखिम हुन सक्छ ।'
डाक्टर काफ्लेले मिर्गौलाले राम्रोसँग काम गरेको भनेर प्रत्यारोपण गर्ने चिकित्सकहरूले भनिसकेका कारण सम्भावित संक्रमणको जोखिमबाहेक अन्य सबै ठीक भएको बुझ्नुपर्ने बताए ।
'मिर्गौलाले राम्रोसँग काम गर्यो भनेर आइसक्यो,' डाक्टर काफ्लेले भने, 'आर्टरी र भेन जोड्नेबित्तिकै मिर्गौलाले काम शुरू गरिसक्छ । जोड्दा सिलाएको ठाउँबाट भित्रको फ्लुड लीक हुने सम्भावना भएपनि त्यसलाई निरीक्षण गर्न 'ड्रेन ट्युब' लगाइन्छ । केही दिनमा त्यो पनि ठीक भइहाल्छ ।'
अहिले सबै ठीक भइसकेर डिस्चार्ज गर्ने स्थिति रहेको डाक्टर काफ्लेले बताए । 'स्टिच पनि रिमुभ भयो, औषधिहरूको पनि स्ट्याबिलाइजेसन भयो । किड्नी फङ्क्सन पनि राम्रो भयो । शरीर पनि स्वस्थ भयो । भाइटल इन्डेक्स पनि ठीक छ । अबको कुरा डिस्चार्ज नै हो,' उनले भने ।
उनले प्रधानमन्त्री अस्पतालको आईसीयूमा ठीक हुनु भनेको बालुवाटारमा फर्केर पनि ठीक भइरहनु नभएको बताए । बालुवाटारमा सम्भावित संक्रमणको जोखिम रहने भएकाले तयारी पश्चातमात्र अस्पतालबाट डिस्चार्ज हुनु बुद्धिमता भएको डाक्टर काफ्लेको भनाई छ ।
'त्यहाँ आईसीयूमा ठीक हुनुहुन्छ, तर बालुवाटार पुगेपछि ठीक हुनुहुन्छ कि नाइँ भन्ने महत्त्वपूर्ण प्रश्न हो,' डाक्टर काफ्लेले भने, 'भोलि उहाँलाई भेट्न मान्छेहरू जालान्, तीमध्ये कतिपय संक्रमित होलान् । देखिने रोगी पनि जान सक्छन्, नदेखिने रोगी पनि जान सक्छन् ।'
बालुवाटारमा कसले भेट्ने, कसरी भेट्ने भनेर एउटा प्रोटोकल तयार गरेर मात्र डिस्चार्ज गरौँ भन्ने परिवारबाट आएको कुराको ख्याल गरेर अस्पतालले डिस्चार्ज गर्नुपर्ने उनले बताए ।
'पछिल्लो समयमा पिसाबमा इन्फेक्सन हो कि भन्ने शंका भएको मैले बुझेको छु,' डाक्टर काफ्लेले भने, 'पहिला एन्टीबायोटिक दिइएको भन्ने थियो । ४८ घण्टामा त्यो कल्चरको रिपोर्ट नआइकन उहाँलाई डिस्चार्ज गरेर पठाउने कुरा त आएन ।'
डाक्टर काफ्लेले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेपछिको र अहिलेको परिस्थिति फरक रहेको बताए । उनले त्यतिबेला ओलीसँग त्यति ठूलो जिम्मेवारी नरहेको तर अहिले ठूलो जिम्मेवारीमा रहेकाले अहिले एकदम शतर्कता अपनाउनुपर्ने बताए ।
शरीरमा इम्युनो सप्रेसनको मात्रा धेरै दिएपछि शरीर कमजोर हुने र सामान्य इन्फेक्सनले समेत दुख्न सक्ने डाक्टर काफ्लेको भनाइ छ ।
'दिन दुगुना राता चौगुना भन्छन् नि, अहिले रात चौगुनाको हिसाबले इन्फेक्सन बढ्छ,' डाक्टर काफ्लेले भने, 'इन्फेक्सन भएपछि औषधि खाउँला भनेर बस्नु त भएन, सकेसम्म इन्फेक्सन नै हुन नदिने गरेर उहाँलाई राख्नुपर्यो । ६ महिना असाध्यै केयर गर्नुपर्ने समय हो । उहाँको मिर्गौलाले कसरी काम गर्छ भनेर ६ महिनाले देखाउँछ ।'
कुनै पनि संक्रमणलाई नजरअन्दाज गर्नुहुँदैन - डाक्टर सन्तोष गुरुङ
अर्का मिर्गौला प्रत्यारोपण विशेषज्ञ डाक्टर सन्तोष गुरुङ ट्रान्सप्लान्टपछि देखिने 'क्लेबसेला ब्याक्टेरिया'को संक्रमणलाई आफूहरूले स्वाभाविक मानेर उपचार गर्ने गरेको बताउँछन् ।
'ट्रान्सप्लान्ट गरेपछि देखिने क्लेबसेला लगायतका अन्य इन्फेक्सनहरूलाई हामीले स्वाभाविक मान्छौं,' डाक्टर गुरुङले लोकान्तरसँग भने, 'किड्नी, पिसाब आउने पाइप र थैलीमा संक्रमण देखिन सक्छ ।'
डाक्टर गुरुङले उमेरका कारणले पनि संक्रमण हुनसक्ने कुरालाई ध्यान दिनुपर्ने बताए । 'उमेरका कारणले पनि त्यो संक्रमणले सजिलै आक्रमण गर्न सक्छ,' उनले भने, 'अर्को कुरा इम्युनो सप्रेसिभ औषधिका कारणले पनि त्यो संक्रमण हुन सक्छ ।'
डाक्टर गुरुङले शरीरमा विभिन्न सीमितता हुने भन्दै कुनै पनि संक्रमणलाई नजरअन्दाज गर्न नहुने बताए । 'त्यस्तो संक्रमण पिसाब रुटिनमा एनालाइसिस गर्दा पनि देखिन सक्छ, कल्चरमा पनि देखिन सक्छ,' उनले भने, 'यसलाई ठूलो जोखिमका रूपमा नलिए पनि तत्कालै थप औषधि चलाउनुपर्ने हुन्छ ।'
सामान्य जनजीवनमा फर्किन ६ महिनादेखि वर्षदिनसम्म लाग्न सक्छ - डाक्टर दिव्यासिंह शाह, निजी चिकित्सक, प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई सामान्य जनजीवन बिताउन ६ महिनादेखि वर्षदिनसम्म लाग्ने बताएकी थिइन् ।
मंगलवार त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहले मिर्गौला पुनः प्रत्यारोपणको पहिलो महिना औषधिको डोज बढी हुने हुनाले विशेष ख्याल राख्न जरुरी भएको र ६ महिनापछि मात्र सामान्य मान्छे जसरी जीवन बिताउन सक्ने बताएकी हुन् ।
‘औषधिको डोज बढी भएकाले संक्रमणको सम्भावना बढी रहन्छ,’ शाहले भनिन्, 'उहाँलाई र परिवारलाई मिर्गौलासम्बन्धी ज्ञान भएकाले त्यति संकट नआउला । मेरो विचारमा ६ महिना वर्ष दिनसम्म एक्टिभ, ओरिजिनल र साधारण मान्छे जसरी जीवन बिताउन सक्नुहुनेछ ।’
शाहले प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान आफूले सल्लाह नदिने बताइन् । ‘भीडभाडमा जान हामी सल्लाह दिँदैनौं,’ उनले भनिन्, ‘आफ्नो सचिवालयबाट नियमित काम गर्न सक्नुहुन्छ । अन्य व्यक्तिसँग अलिकति सम्मानित दूरीमा रहेर काम गर्न सक्नुहुन्छ ।’
‘औषधिको डोज बढी भएकाले संक्रमणको सम्भावना बढी रहन्छ,’ शाहले भनिन्, 'उहाँलाई र परिवारलाई मिर्गौलासम्बन्धी ज्ञान भएकाले त्यति संकट नआउला । मेरो विचारमा ६ महिना वा वर्ष दिनसम्म एक्टिभ, ओरिजिनल र साधारण मान्छे जसरी जीवन बिताउन सक्नुहुनेछ ।’
शाहले प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान आफूले सल्लाह नदिने बताइन् । ‘भीडभाडमा जान हामी सल्लाह दिँदैनौं,’ उनले भनिन्, ‘आफ्नो सचिवालयबाट नियमित काम गर्न सक्नुहुन्छ । अन्य व्यक्तिसँग अलिकति सम्मानित दूरीमा रहेर काम गर्न सक्नुहुन्छ ।’
मिर्गौलादाता समीक्षा संग्रौला बुधवार नै डिस्चार्ज
नाताले प्रधानमन्त्रीको भाञ्जी पर्ने मिर्गौलादाता समीक्षा संग्रौलालाई भने बुधवार नै अस्पतालबाट डिस्चार्ज गरियो । केही दिनअघि लोकान्तरसँग कुरा गर्दै ओलीको मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक डाक्टर प्रेमराज ज्ञवालीले समीक्षाले मामा ओलीसँगै डिस्चार्ज हुन मन गरेको बताएका थिए ।
दुवैको डिस्चार्ज बुधवार गर्ने तयारीमा अस्पताल रहेको थियो, तर प्रधानमन्त्री ओलीको पिसाबमा संक्रमणको शंका देखिएको र परीक्षणका लागि थप ४८ घण्टा लाग्ने भएपछि संग्रौलालाई डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनुभन्दा अघि समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेर 'कस्तो छ मामा ?' भनेर सोधेकी थिइन् ।
ईश्वर अर्याल
पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।