
जिल्ला प्रशासन कार्यालय गुल्मीले विश्वमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार पौडेलले यो निर्णय अगाडि स्थानीय तहसँगै सर्वदलीय सर्वपक्षीय परामर्श गरेका थिए ।
जिल्लामा प्रवेश गर्ने खाद्यान्य, तरकारी, फलफूल, दूध, पानी, इन्धन, औषधि बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
उनले अर्को सूचना नभएसम्मको लागि यो निर्णय कार्यान्वयन गर्न सम्पूर्णलाई जिल्ला सुरक्षा समितिले आग्रह गरे । मालबहाक गाडीको हकमा पनि चालक र सहयोगी मात्र हुनु पर्नेछ । उनीहरू पनि हेल्थ डेक्समा अनिवार्य चेकजाँच गर्ने र आवश्यक परे क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । औषधि र पेट्रोलपम्प २४ सैं घण्टा खुला रहनेछन् । इन्धन, दाल, चामल, तेल, नुन, दूधडेरी, तरकारी तथा फलफूल पसल बाहेक सबै पसलहरू बन्द गर्ने निर्णय बैठकले गरेको छ ।
विश्वभर कोरोना संक्रमणको त्रास बढेपछि त्यसको न्यूनीकरणको लागि गुल्मी उद्योग वाणिज्य संघले सदरमुकाममा सोमवार आफैंले पसल बन्द गराउँदै हिँडेको थियो । सवै वर्ग आफैं सचेत नभएसम्म जोखिम कम गर्न नसकिने भएकाले संघले नै बन्द गराउँदै हिडेको वाणिज्य संघका महासचिव तारा भुसालले बताए । उनले सदरमुकामसहित ठुला बजार रिडी, बलेटक्सार, वामी टक्सार लगायतका स्थानमा पनि व्यावसायीहरूले पसलहरू बन्द गराएको जानकारी दिए । जसका कारण नेपाल बन्दको भन्दा पनि बजार क्षेत्र सुनसान बन्दै गएका छन् ।
*यसअघि शीर्षकमा त्रुटि भएकोले सच्चाइएको छ ।