×

NMB BANK
NIC ASIA


‘बधाई छ नयाँ गर्लफ्रेन्ड बनाएछौ ।’ – उसले लामो समयपछि म्यासेज गरी ।
‘हाहाहा’ – मेरो हाँसो जम्मा तीन अक्षरको थियो ।
‘के तिमीलाई कहिलेकाहीं मेरो याद आउँछ?’ – मैले म्यासेजको रिप्लाई नै गरिन ।

कहानी झ्यालको पर्दाबाट सुरु भएको हो । तर अन्त्य त्यही पर्दाले गर्न सकेन । हामीमा खुला पर्दाले झन आत्मीयताको गाँठो कसिदियो । गाँठो पुरानो भएपछि कच्चा हुन्छ भन्ने छैन रैछ ।

घामका उज्यालाहरू जबरजस्ती झ्यालको पर्दाबाट भित्र छिर्न खोज्दै थिए । उसले पर्दा खोली र कोठालाई अझ उज्यालो बनाई । लाग्यो, उसले आफ्नो गोपनियताको एक पाटो पर्दासँगै छरपस्ट पारिदिई । तर उसको नियोजित उद्देश्य थिएन त्यो । किनभने उसको तीन तल्ला माथिको कोठाको झ्याल मेरो कोठाको ठीक सामुन्ने छ भन्ने उसलाई हेक्का थिएन । कालो सीसा भएको घरमा बस्नुको एउटा फाइदा यो पनि हो ।

मैले उसको गतिविधि खुब नजिकबाट नियाल्न पाएको थिएँ । तर गतिविधि त्यति डरलाग्दा पनि थिएनन् । बरु डाहालाग्दा थिए । ऊ कोठामा एक्लै हुँदा आफ्ना गुडियाहरूसँग खुब समय बिताउँथी । कहिलेकाहीं छिनछिनमा कपडा बदल्थी । ऐना हेर्थी । तर रमाइला कार्यकलाप हेर्ने मेसो सधै भने जुरेको हुन्थेन । झ्यालको पर्दा खोलिएको हुनुपर्थ्यो ।

त्यसदिन म धैरे बेरसम्म उसको झ्यालको पर्दा खुल्ने आशामा आफ्नो झ्यालको कालो सीसाबाट बाहिरी दुनियाँ हेरिरहें । लगभग आधा घण्टापछि उसले आफ्नो झ्यालको पर्दा खोली । यो बिहानी परिवेश हो । ऊ कोठामा एक्लै बस्ने गर्थी । सुनेको थिएँ, ऊ एक सम्मेलनमा भाग लिन काठमाडौं आएकी थिई ।

सोही घरकी दिदीसँग मेरो राम्रो सम्बन्ध थियो । उनको एकमात्र छोरोलाई मैले होम टिउसन पढाउथें । त्यो पनि कम शुल्कमा ।

एकदिन अफिस जाने बेलामा दिदीलाई सोधें – ‘तपाईको घरमा बस्ने ती नयाँ मान्छे को हुन् दिदी?’
‘मेरी बैनी हुन् । किन?’

‘नयाँ देखेर । सोधेको मात्र नि दिदी ।’ – मैले मुस्कुराएर यत्ति भनें ।

ती दिदीको छोरो मसँग खुब नजिकिएको थियो । दिनमा एकपटक मेरो कोठामा आएकै हुन्थ्यो । म प्राय लामो समयसम्म क्लासिक गीतहरू सुनेर बस्थें । ऊ आउँथ्यो । एकछिन हल्ला गर्थ्यो । मैले झ्यालबाट हेर्नुको अर्थ कहिल्यै बुझ्दैनथ्यो । उसकी सानीमा हुन् भन्ने थाहा भएपछि मैले एकदिन त्यो केटोलाई सोधें – ‘तिम्री ममी राम्री कि सानिमा?’

उसले सहज उत्तर दियो – ‘सानिमा नि ।’

म एक सासको हाँसो हाँसें । किनभने मलाई पनि उसकी सानिमा प्यारी लाग्न थालेको थियो ।

दिन भर्खरै सुरुवात भएको थियो । हरेक दिन झ्यालबाट उसको दर्शन गर्दागर्दै म ऊप्रति आकर्षित भइसकेको थिएँ । उसले बिहानी सन्ध्यामा मोडलले झैं आफ्नो कोठामा क्याटवाक गर्थी । यताउता गर्थी । ज्यान तन्काउँथी । कसरत गर्थी । त्यसपछि बाहिरी वस्त्र लगाउँथी । र, पर्दा बन्द गर्थी ।

केही दिनपछि उसको र मेरो पसलमा भेट भयो । उसले मलाई नचिनेपनि मैले उसलाई चिनिसकेको थिएँ । पसलमा साहुजीले चिनी जोख्दै थिए । म एकछिन त केही बोल्नै सकिन । बोल्न खोजें । तर, सकिन । पसलतिर हेरेरै हिम्मत जुटाएर मैले मुस्कुराउँदै भनें – ‘छ नि, कसरत गर्नका लागि कोठा अलि सानो छ हैन र?’
उसले मेरो कुरालाई नसुने झैं गरी । तराजुमा आँखा डुलाई । एकछिन पछि अलमल परेर फिस्स हाँसी । त्यो हाँसोमा आवाजको मात्रा शून्य थियो ।

कस्लाई भन्या? – उसले हाँसो बन्द गरेर ठाडो उत्तर दिई ।
‘तिम्र्रै कुरा गरेको हो ।’ – मैले मुस्कुराएँ ।
‘बुझिन त ।’
‘मैले प्राय बिहान उठ्ना साथ तिम्रो दर्शन गर्नुपरेको हुन्छ ।’

यतिबेला भने ऊ आवाजसहित हाँसी । पसलेले पुलुक्क हेर्‍यो । हामी अब कुरा गर्नका लागि इच्छुक त थियौँ । तर परिवेश मिलिरहेको थिएन । मैले सानो चिटमा मेरो नम्बर उसले किनेको सामान राखिएको झोलामा राखिदिएँ । र, पसलेलाई चिनीको पैसा दिँदै भनें – ‘म्यासेज मी ।’
उसले एकपटक घुरेर हेरी । मलाई खुब रमाइलो लागिरहेको थियो । तर उसले फर्केर हेरिने । हाम्रो पहिलो संवाद यतिमै सीमित भयो ।

त्यो दिन मेरो लागि बहुत लामो दिन बनेर आयो । उसको म्यासेज कुरेर समय बिताएँ । तर न म्यासेज आयो, न झ्यालको पर्दा खुल्यो । त्यतिबेला मलाई दिक्क लाग्नृुको अर्को कारण उसले पर्दा बन्द गरिरही । साँझपख मैले उसलाई पसलमा आएको देखें । किन्नुपर्ने सामान त केही थिएन । तर पनि हतार हतारमा पसलमा गएँ । रिचार्ज कार्ड मागें । मलाई देख्नासाथ ऊ हिँडी । मलाई साँच्चै नरमाइलो लाग्यो ।

शायद उसले इग्नोर गरी । हुन त हामीबिच के नै कुरा भएको थियो र उसले सम्झौता गर्न ?

तर पनि मलाई उसको म्यासेजको आशा लाग्न थालेको दुई दिन भइसकेको थियो । बिहान बिस्तारै उज्यालो हुँदै थियो । मोबाइलमा म्यासेज आयो । हतारिँदै म्यासेज हेरें । नयाँ नम्बरबाट एउटा शब्दविहीन म्यासेज आएको थियो । मैले सिधै रिप्लाई गरें – ‘पर्दा खोल । हिजोदेखि बन्द छ ।’

मलाई हाँसो पनि लागेको हो । रमाइलो पनि लागेको हो । नजिकैको आफ्नै मित्र जस्तो पनि लागेको हो ।

अहँ, म्यासेजको रिप्लाई आएन । फेरि झमक्कै साँझ पर्‍यो । र, साँझमा एकपटक पर्दा खोलियो । कोठा पहिले भन्दा चिटिक्कको देखियो । उसले पूरै शरीर ढाकिने गरी कपडा लगाएकी थिई । पर्दाबाट मलाई आफ्नो हातको माझी औंला देखाइ झैं लाग्यो । तर म प्रष्ट छैन यसबारेमा । त्यसपछि पर्दा फेरि बन्द भयो । अर्थात नम्बर उसकै हो भन्नेमा म पक्का भएँ ।

अहँ ! कुरा गर्ने मेसो मिलेन । समयले केही दिन पार गराइसकेको थियो । झ्यालका पर्दाहरू बन्द हुन थालेका थिए ।
‘किन नि सधै झ्याल बन्द?’ – मैले उसलाई म्यासेज ठेलें ।

दिनभरी म्यासेजको रिप्लाइ आएन । साँझपख मोबाइलले म्यासेजको संकेत गर्‍यो । हतपत मोबाइल हेरें । म्यासेज थियो – ‘फ्याउराहरूले जंगलबाट चिहाइरहे । खोर बन्द नगरी सुखै पाइन ।’

मलाई उम्दा हाँसो लाग्यो । एकछिन त हाँसो रोक्नै सकिन । त्यसो त मलाई उसको कल्पना गर्दा पनि हाँसो लाग्न थालेको थियो । किनकि उसका सुरुका क्रियाकलापहरू साह्रै तेजिला थिए ।

झ्यालका पर्दा बन्द हुन थालेका थिए । मलाई ऊसँग कुरा गर्न ठूलो रहर जागेर आएको थियो । लाग्थ्यो, त्यो रहर मेरो जिन्दगीको अन्तिम इच्छा हो ।

बेलाबेलामा उसलाई मोबाइलबाट फोन डायल नगरेको पनि होइन । तर उसले मेरो नम्बर कहिल्यै उठाउँदिनथी । सधै सुनिन्थ्यो – ‘माफ गर्नुहोला । तपाईले डायल गर्नुभएको नम्बर उठेन ।’

बन्द झ्यालले मलाई दिक्क बनाएको थियो । ऊ त्यहीं छे कि, कतै गई भन्ने पनि थाहा थिएन । छिमेकी दिदीलाई भेट्ने नाताले उनको घर गएँ । दिदीका छोराहरूले मलाई अंकल भन्थे । दिदीले भाइ भन्थिन् । कहिलेकाहीँ विदेशमा भएका उनका पतिदेवसँग मेरो कुरा पनि हुने गथ्र्यो । यही चिनजानको नातो सम्झेर म दिदीको घर गएँ ।

दिदीले मेरो स्वागतमा दुध नहालेको रातो चिया बनाइन् । मुुसुक्क हाँस्दै मलाई हार्दिकताका साथ बस्न आग्रह गरिन् ।
‘भाइले त कस्तो न्यास्रो मेटाइदिन्छौ मेरो ।’ – कफी लेखेको कपमा ल्याइएको रातो चिया दिँदै उनले भनिन् ।
खै किन हो, मलाई थोरै असहज लागिरहेको थियो । हजुरआमाका पालाका बेहुलीलाई झैं सरम लाग्यो । आधुनिक भाषामा ‘अड फिल’ भयो ।

‘कहिलेकाहीं त आउने गर्नुस् न भाइ । छोरोले पनि सारै राम्रो पढाउनुहुन्छ भन्छ ।’ – दिदीको सकारात्मक निम्ता थियो त्यो । मैले सुरुप्प चिया पिउँदै मुन्टो हल्लाएँ ।

‘दिदी त्यो माथि बस्ने केटी छे नि, गई कि कोठा सरी?’ – मैले कुराको दौरानमा युवतीको बारेमा सोधें ।
‘यहीं छे नि । कुरा भएको छैन र?’ दिदीले जिस्काइन् ।
मैले भनें, ‘छैन । नदेखेर मात्र हो ।’
‘सधै बिहान पाँच बजे प्राथनामा जान्छे त । भेट्नुस् न ।’ – उनले सुनाइन् ।
चियाको कप नजिकै राखेर मैले दिदीसँग जान्छु भनें । ती छिमेकी दिदीले मलाई दिनदिनै आउनका लागि आग्रह गरिन् ।

त्यसदिनदेखि मैले उनको झ्यालको पर्दा पनि ख्याल गर्न थालें ।

ठ्याक्कै अर्को दिन । मोबाइलले पौने पाँचको जनाउ घण्टी बजायो । झ्याप्प आँखा खुले । अरु दिन मलाई मोबाइलको घण्टी सुनेपछि झनै निद्रा लाग्थ्यो । त्यो दिन निद्राले छोड्यो । उत्तिखेरै दिमाग फ्रेस भयो ।

लगभग सात मिनेटमा रेडी भएर म उसको घरको ढोकानिर मोबाइल चलाउँदै धेरैबेरसम्म बसें । सेकेन्ड सुई कछुवाको रफ्तारमा चलिहेको थियो । वातावरण त्यति धैरै कोलाहलमा डुबिसकेको थिएन ।

एकैछिनमा ऊ आई ।

मलाई नदेखेझैं गरी । मैले सोधें, ‘आज किन ढिला?’
‘हैन, सधै यस्तै हो ।’ – उसले नरम भएर आवाज दिई ।
‘मलाई त यति नजिकबाट तिमीसँग बोल्दा गाह्रो भएझैं लाग्यो । किन होला?’ – उसका पाइलालाई पिछा गर्दै मैले सोधें ।
‘यस्तै हो आजकालका केटालाई । केटी देख्यो कि, तात्न थाल्ने ।’

मैले उसको जवाफको प्रतिक्रियामा हाँसो फर्काइदिएँ । उसले पनि आफ्ना सेता चटक्क मिलेका दाँत देखाइदिई । बिहानको झिसमिसे उज्यालोमा उसको मुस्कान प्रष्ट देखिन्थ्यो ।

हामीले लगभग सत्ताइस मिनेट परिचयात्मक कुरा गर्‍यौं । उसले जम्मा एक महिनाको लागि काठमाडौं आएको बताई । त्यतिबेला भने घडीको सेकेन्ड सुई दगुर्न थालेजस्तो लाग्यो । परिचयको सुरुवाती नै बिछोडको योजनासहित भएको थियो । मैले यत्ति बुझेको थिएँ ।

त्यसदिनदेखि हामी निरन्तर रुपमा कुरा गर्न थालिरह्यौं । उसले मेरो फोन उठाउन मात्र होइन । मेरो आग्रहमा पर्दा खोलिदिन पनि थाली । आफ्नो कोठाबाट उसको कोठा नियाल्दा मलाई हजुरबाले सुनाएका स्वर्गीय कथाकी राजकुमारी जस्ती लाग्थी ऊ । जसले सेताम्मे पोशाक पहिरिएर आफ्ना आकर्षक शरीरलाई विभिन्न हाउभाउ पुतलीझैं नाच्थी हजुरबाका कथामा ।

दुई हप्तामै हामी मिल्ने साथी भइसकेका थियौं । साथी पनि के भन्नु हामी प्रेमका भावना प्रस्तुत गर्न थालिसकेका थियौं । साँच्ची मैले मेरी गर्लफ्रेन्ड छे भन्ने भुलिसकेको थिएँ त्यो बेला । बेलाबेलामा कलेजकी गर्लफ्रेन्ड सिन्धुले फोन त गर्ने गर्थी । तर, मेरो ध्यान अर्को ध्रुवतिर आकर्षित भइरहेको थियो ।

सन्ध्या र मबीच श्रंगारका कुरा हुन्थे । व्यवहारका कुरा खासै हुँदैनथे ।

त्यसपछि, हामीले दिनदिनै भेट्ने वातावरण मिलायौं । हामी छुट्टिने समय पनि नजिकिन हतार गरिरहेको थियो । धेरै कुरा आदानप्रदानका लागि आतुर थिए ।

भेटमा कहिलेकाहीँ हामी जिस्किन्थ्यौं । मभन्दा धेरै त ऊ नै जिस्किन्थी होला । ऊप्रतिको आकर्षणले मलाई जिस्किन दिएको थिएन ।

केही हप्ता हामीले साथै बितायौं । मल्टिप्लेक्स हलमा फिल्म हेर्न गयौं । पुरानो हुनै लागेको बाइक चढेर हामी थुप्रै पार्कहरू घुम्यौं । सेल्फी खिच्यौं । अरुले थाहा पाउलान् कि भनेर ती सेल्फीहरू फेरि डिलिट गर्‍यौं ।

बेलाबेलामा सिन्धुसँग पनि पातलो कुरा भइरहेका थियो ।

केही हप्तामै हामीले त्यो समयलाई स्मरणीय होइन, अविस्मरणीय बनाएका थियौं । उसले भन्ने गर्थी, ‘भोलि हामी छुट्नुपर्छ । त्यसपछि त मलाई भुल्छौ होला है?’
मैले भन्ने गर्थें, ‘त्यस्तो पनि होला र?’

हामीले आर्कषणको एउटा सीमा पार गरिसकेका थियौं । तर पर्सी उसले काठमाडौंलाई बिदा गर्नुपर्ने थियो । अगाडिकै सिटमा टिकट काटिसकेको उसले सुनाएकी थिई । उसका यी वाध्यताहरू मलाई त्यति स्वादिला लागिरहेका थिएनन् । ऊ सधै त्यही कोठामा बसोस् र कहिल्यै पर्दा नलगाओस् भन्ने मान्यतामा थिएँ म ।

‘हामी छुट्ने बेला आएको छ । छोटो र मीठो साथका लागि धन्यवाद ।’, अन्तिम दिन उसले म्यासेज गरी ।
‘आज मेरो कोठामा बस्न आऊ न ।’, मैले हार्दिक अनुरोध गरें ।
‘त्यसो नगरौं होला । पर्दापारीको दूरी नै ठीक छ ।’
‘ह्या, प्लिज ।’

मैले तारन्तार अनुरोध गरेको हुँ । अन्ततः उसले भनी, ‘आऊ मेरो कोठामा ।’
त्यो मेरा लागि गोल्डेन मौका थियो । पर्दापछाडि देखेको बिम्बलाई मैले आफ्नै आँखाले हेर्न पाउने भएको थिएँ । मैले सधै खोलियोस् भन्ने चाहेको पर्दा केही समयका लागि बन्द होस् भन्ने मेरो चाहना पूरा हुनेवाला थियो ।
त्यो एक रातको कुरा हो । अर्थात वातावरण पूरै सुनसान थियो ।

उसले घरको मुल गेट खोली । भित्र दिदीले छोरालाई हकारेको आवाज बाहिरसम्मै भागिरहेको थियो । म तिनै आवाजहरूबीच लुकामारी खेल्दै उसको कोठामा पुगें ।

रात उज्यालो हुन आत्तिएजस्ता लागिरहेको थियो । मलाई फेरि रातकै सहारामा अर्को घरमा फुत्त भाग्नुपर्ने पनि थियो ।

उसको कोठा मलाई परिचित झैं लागिरहेको थियो । उसले अंकमाल गर्ने गुडियाहरू हाम्रो उपस्थितिमा मुसुक्क मुस्कुराएका थिए । सधैभरी झ्यालको बाटो हुँदै एक्लै आइरहने मनले आज ज्यान नै बोकेर ल्याएको थियो कोठासम्म ।
त्यो भेट अन्तिम भेट हुनसक्छ भन्ने हामीले अड्कल काटेका थियौं । त्यसैले हामी थोरै बेचैन थियौं ।

‘फेरि भेट होला त?’ हामी एउटै खाटमा आमने सामने बसेका थियौं ।
‘हुन सक्छ ।’ — म बिस्तारामा पल्टिएँ ।

ऊ पनि ठ्याक्कै मेरो अपोजिटमा पल्टिई । पर्दा बन्द थियो । लाइट मधुरो थियो ।

‘हनिमुन मनाउन लाग्याजस्तो भयो त ।’ – मैले सुृस्तरी भनें ।
उसको मुखबाट हाँसो फुत्कियो । लाग्छ, उसले हाँसो रोक्नै सकिन ।
हामीले एकआपसमा प्रेम साट्यौं । चुम्बन साट्यौं । हात मिलायौं । यसो गर्दा हाम्रो मन पनि बिस्तारै चलायमान भइरहेको थियो । वातावरण पूरै सुनसान थियो ।

पूरै सुनसान ।

छेउमा हामी दुवैका मोवाइल एकैठाउँमा बसेका थिए, जसरी हामी बसिरहेका थियौं । दिदीले सुन्ने डरले हामीले खुबै सानो स्वरमा कुरा गरिरहेका थियौं । त्यसैले पनि वातावरण पूरै सुनसान थियो ।

रात आफैमा सुत्न बाँकी थियो । उसले छेउमा राखिएको गुडिया तानी । र, हामी दुईको बीचमा राखिदिई ।
‘हाम्रो छोरो हो?’, मैले जिस्काएँ ।
‘यत्रो एक महिनाको संगतमा तिमी यति भल्गर छौ भन्ने लाग्याथेन ।’, उसले मलाई सम्झाउन थाली ।

मैले आफ्ना लस्करै मिलेका दाँत देखाएर एकपटक अल्छी हाँसो हाँसे ।

‘मलाई त तिम्रो माया लाग्न थालेछ ।’, उसले यसो भन्दा ओइलाएको मेरो मन फेरि जुरुक्कै उठ्यो ।

हामीले धेरैबेरसम्म प्रेमका कुरा गर्‍यौं । छुट्न नचाहेको वाध्यताको कुरा गर्‍यौं । मैले तिमीलाई माया गर्छु पनि भनिन । उसले पनि मलाई तिमीसँगै राख पनि भनिने ।

उसले हामीबीच सीमास्तम्भ बनाइएको गुडिया आफ्नो काखमा च्यापेर सुतेकी थिई । गुडिया तान्न खोज्दा झुक्केर मेरो हातले उसको छातीमा छोइदियो । ऊ एक्कासी आत्तिई । त्यसपछि मलाई अत्ताई ।

उसका आँखाहरूले केही भन्न खोजिरहेका थिए । उसको जिउले झगडा गर्न खोजिरहेको थियो । उसले बिस्तारै आफ्ना हातहरू चलाइरहेकी थिई ।
‘झुक्केर हो ।’ — मैले भनें ।
‘फेरि झुक्किऊ न ।’ — उसले जिस्काई ।

मलाई एकफेर हाँसो लाग्यो । धेरै अघिदेखि नै मेरो मन तङ्ग्रिसकेको थियो । उसले झन जिस्काइदिई ।
कतिपय अवस्थामा वातावरण शून्य हुन्थ्यो । शायद हामीले एकआपसमा कुरा गर्न सकिरहेका हुन्थेनौं । मनका कुराहरु पहिलो भेटमै कसरी साटफेर गर्न सकिन्छ भन्ने कुराले हामी दुवैलाई गलाएको थियो । मलाई त हाम्रो मित्रताको बन्दै गरेको पुल नै भत्किने हो कि भन्ने भय पनि थियो ।

मैले देखें, उसका आँखा राता भइसकेका थिए । गुडियालाई बेस्करी समाएकी थिई । म उसको नजिक नजिक सर्न थालें ।

एक्कासी कसैले ढोका ढकढक ग¥यो । सुरिलो आवाज सुनियो, ‘ए सन्ध्या ।’

उसको त्यो कामेच्छा एकाएक सेलायो । मेरो मन भने भने अझै सेलाएको थिएन । उसले भनी, ‘दिदी ।’

म भाग्दै बाथरुममा लुक्न गएँ । दिदीले सन्ध्यालाई बाहिरबाटै बोलाइन् । सन्ध्या गई ।

धेरैबेरसम्म पनि ऊ फर्केर नआएपछि म बाथरुमबाट निस्किएँ । एकाध घण्टा उसलाई कुरें पनि । फेसबुक खोलें । स्टाटस फुरेन । लामो समय नआएपछि उसको मोवाइल छेउमा शिथिल भएर बसेको मेरो मोबाइल खल्तीमा हालें । र, लुक्दै फेरि कोठामा फर्किएँ ।

अर्कोदिन उसले बिहानै फोन गरेर भनी, ‘सरी है ! हिजो भाइ बिरामी भएर हस्पिटल जानुपर्‍यो । हामीले मोबाइल छुटाएछौं ।’

मलाई रिस पनि उठिरहेको थियो । त्यसैले पनि मैले उसलाई रेस्पोन्स दिइन । हाम्रो कुरा त्यो दिनका लागि बन्द भयो । भेट त झन कहिल्यै भएन । शायद ऊ गाउँ फर्केकी हुनुपर्छ । तर, मलाई पछिसम्म पनि उसको यादले चिमोटिरहन्थ्यो । बेलाबेलामा उसले फोन गरेर हालखबर सोध्थी । मैले हालखबर सोध्थें । कुरा सकिन्थ्यो ।

सन्ध्या टाढिएपछि म सिन्धुसँग नजिकिएको थिएँ । टिउसन पढ्न आउने दिदीको छोरोले भनेको थियो, ‘सानिमाको त बिहे भैसक्यो रे !’
त्यसदिनदेखि मेरो मरेको मन झन मर्‍यो । भुइँतिर फर्केको उन्युजस्तो भयो ।

लामो समयसम्म सन्ध्यासँग कुरा भएको थिएन । उसको याद पनि लगभग लापत्ता भइसकेको थियो । दिउँसोको समय हुनुपर्छ । सिन्धु र म क्याफेमा कफी र चुरोटको मिक्स स्वाद लिइरहेका थियौं । एस्ट्रेछेउ राखेको मेरो मोबाइलमा नचिनेको नम्बरबाट फोन आयो ।

‘हेलो’, मैले हेर्न पनि नपाउँदै सिन्धुले उठाई ।

उताबाट कुनै रेस्पोन्स आएन । हामीबीच कुरा गरेको शायद उता सुनिएको थियो । सिन्धुले मेरो मुखमा पुलुक्क हेरी । मैले आँखिभौं निधारतिर लगें ।

साँझपख त्यही नम्बरबाट एउटा म्यासेज आयो ।
‘बधाई छ नयाँ गर्लफ्रेन्ड बनाएछौ ।’ – उसले लामो समयपछि म्यासेज गरेकी थिई ।
मसँग हाँस्नु बाहेक अरु प्रत्युत्तर थिएन । त्यसैले मैले ‘हाहाहा’ लेखेर पठाएँ ।
‘मेरो हसब्याण्ड पनि ठ्याक्कै तिमीजस्तै हुनुहुन्छ । कुनै दिन उहाँसँग भेटाउँला ।’ – उसले फेरि अर्को म्यासेज गरी ।
यसपटक त मसँग तीन अक्षरको ‘हाहाहा’ पनि बेस्वादको लागिरहेको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x