
गत भदौ १६ गते मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गरे । ट्वीटमा भनिएको थियो, ‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धबारे छलफल भएको छ । द्विदेशीय व्यापार, ऊर्जा तथा ट्रान्जिटका लागि सहकार्य आवश्यकता भएको महसूस गरिएको छ । साथै नेपालमा युरिया मल तत्कालै आयातका लागि मैले गरेको आग्रहमा बंगलादेशकी प्रधानमन्त्री हसिना सकारात्मक हुनुभएको छ ।’
असार–साउनमा रोपेको धानमा मल हाल्ने समयमा बजारमा मल अभाव हुँदा किसान समस्यामा परेपछि प्रधानमन्त्री ओलीले बंगलादेशबाट मल आयात गर्न पहल गरे । यसै सन्दर्भमा प्रधानमन्त्रीस्तरीय फोनवार्ता र मल आयातको विषयले सर्वत्र चर्चा कमायो ।
धान रोप्ने समयदेखि धान गोड्ने समयसम्ममा पनि मल अभावको उही चपेटा भोगिरहेका किसानका लागि प्रधानमन्त्रीको त्यो पहलको समाचारले थोरै भए पनि सान्त्वना दियो । तर मल किसानको खेतमा कहिले पुग्ने हो ? अझै अनिश्चित छ ।

‘मल आयातका लागि प्रधानमन्त्रीस्तरीय छलफल भएपछि हामीले आधिकारिक रुपमा बंगलादेशलाई पत्र पठायौं,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले लोकान्तरसँग भने । उनका अनुसार दुवै देशबीच प्रधानमन्त्रीस्तरीय छलफल चल्नु अगावै अनौपचारिक रूपमा मल आयातबारे कुरा भएको थियो ।
मन्त्रालयले पठाएको पत्रमा बंगलादेश सरकारले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । ‘बंगलादेशको पत्र आएसँगै नेपालमा मल आयात कसरी गर्ने भन्ने प्रक्रियाबारे छलफल शुरू भएको छ,’ उनले भने । नेपालले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल मागेको छ । बंगलादेशमा मल बिक्री गर्ने नीति नभएका कारण पैंचो ल्याउन लागिएको प्रवक्ता केसीले बताए ।
किसानका लागि ‘आकाशको फल’
बजारमा युरिया मलको बढी माग साउनको अन्तिम हप्तादेखि शुरू भएको थियो । भदौको तेस्रो हप्ता पूरा हुँदा समेत मल आयात प्रक्रिया अनिश्चित छ । बजारमा मल अभाव भएको १ महिना नाघिसकेको अवस्था छ । सरकारले भने बंगलादेशबाट मल आयात हुने र बजार मागलाई धान्ने बताउँदै आएको छ ।
आयातको प्रक्रिया शुरू भएको १५–२० दिनमा बंगलादेशबाट नेपालमा मल आयात शुरू हुने मन्त्रालयका प्रवक्ता डा. केसी बताउँछन् । तर मल आयातको प्रक्रिया नै शुरू भएको छैन । उनी भन्छन्, ‘हामीले सक्दो छिटो गर्ने प्रयास गरेका छौं ।’
मल निर्यातका लागि बंगलादेशले नेपाललाई पत्र पठाइसकेको छ । पत्रमा कसरी आयात गर्ने, कहिलेसम्ममा आयात गर्ने र पैँचो फिर्ता कहिलेसम्म र कसरी गर्ने भन्नेबारे नेपालको धारणा मागिएको प्रवक्ता केसीले बताए । उनले भने, ‘हामीले प्रक्रिया तथा सबै कुरा उता सिफारिस गरेपछि आयातका लागि बाटो खुल्छ, जुन काम शुरू भइसकेको छ ।’
धानमा युरिया मल हाल्ने अन्तिम समय घर्किनै लागेको नेपाल सरकारका पूर्व सचिव एवं कृषि विज्ञ डा. हरि दाहालले लोकान्तरलाई बताए । ‘बंगलादेशबाट १ महिनाभित्रैमा मल आयात भए पनि यो सिजनको धानले त्यो मल नपाउने देखिन्छ,’ उनले भने, ‘आगामी १ महिनामा त धानमा चामल पसाउन शुरू भइसक्छ । धान किसानको लागि त्यो मल काम लाग्दैन ।’
आयात प्रक्रियाको नै टुंगो नभएको बंगलादेशको मल यसपालि किसानका लागि ‘आकाशको फल’ जस्तै हुने देखिएको छ ।
ठेकेदारले फसाउँदा किसानमाथि धोका
कोरोना महामारीका कारण मल अभाव भएको बताउँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिले भने ठेकेदारको छलकपटका कारण किसानमाथि धोका भएको निष्कर्ष निकालेको छ । मल आयातको जिम्मा पाएका २ ठेकेदार कम्पनीले समयमा मल नल्याइदिँदा किसानमाथि धोका भएको प्रवक्ता डा. केसीले बताए । उनी भन्छन्, ‘खरिद नियमावली अनुसार हामीले ठेक्का दिनुपर्ने बाध्यता थियो, उनीहरूले कम मूल्यमा प्रस्ताव गरेका थिए । अहिले आएर उनीहरूले धोका दिए ।’
बजारमा अहिले साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याएको युरिया मल वितरण भइरहेको छ । आइतवारसम्ममा १२ हजार मेट्रिक टनभन्दा बढी मल आयात भएको मन्त्रालयको भनाइ छ । ‘मल आयात भइरहेको छ, वितरण पनि भइरहेको छ, बिस्तारै समस्या हल हुन्छ,’ प्रवक्ता केसीले भने ।