०३ साउन २०८३, आइतबार
पर्यटन उद्योगमा आशाको झिल्को

पर्यटकीय नगरी पोखराको आकाशमा फेरि चीलझैं फनफनी उड्न थाले प्यारासुट

असोज १५, २०७७
पर्यटकीय नगरी पोखराको आकाशमा फेरि चीलझैं फनफनी उड्न थाले प्यारासुट

पर्यटकीय नगरी पोखराको एक चिनारी प्याराग्लाइडिङ पनि हो । चीलझैं फनफनी आकाशमा उड्ने यही प्याराग्लाइडिङ कोरोना भाइरस (कोभिड–१९) प्रभावका कारण भएको लकडाउन र निषेधाज्ञाले अन्य क्षेत्रझैं ६ महिनादेखि बन्द थियो ।

कोरोना जोखिम कायमै रहे पनि पछिल्लो समय सरकारले विविध क्षेत्र सञ्चालन गर्ने क्रममा प्याराग्लाइडिङ सञ्चालनमा पनि छुट दिएको छ ।

गत असोज १ गतेदेखि नै पोखराका प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने भनिएकोमा व्यवसायीले असोज ५ गतेपछि मात्र लामो समयको स्थगनपछि अनौपचारिक उडान थालेका थिए । अनौपचारिक उडानको झण्डै १० दिनपछि बिहीवारदेखि औपचारिक रूपमा व्यावसायिक प्याराग्लाइडिङ उडान हुँदैछ ।

नेपाल हवाइ खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले कोरोना जोखिममा आवश्यक स्वास्थ्य सचेतना अपनाउँदै २–४ वटा कम्पनीले मात्र औपचारिक उडान थाल्ने जानकारी दिए ।  उनले भने, ‘लामो समयको लकडाउनपछि असोज ५ गतेदेखि अनौपचारिक उडान गरिएकोमा केही कम्पनीले ग्लाइडरको परफमेन्स चेक गरेका छन् । कागजपत्र अद्यावधिक गरिसकेका छन् । तसर्थ २–४ कम्पनीले बिहीवारदेखि औपचारिक उडान गर्न लागेका हुन् ।’

उडान दररेटमा समेत छुट दिइएको छ । विगतमा प्याराग्लाइडिङ उड्दा ७ हजार ५०० रुपैयाँसम्म पर्ने गरेकोमा मानिसको चाप कम भएकाले सो मूल्य समायोजन गरी ५ हजार रुपैयाँसम्ममा उडान गर्न कम्पनीहरू तयार छन् ।

चालू सिजन प्याराग्लाइडिङ उडाउने मुख्य सिजन हो । तर पोखरामा कोरोना प्रभावका कारण विदेशी पर्यटक आउन सकेका छैनन्, यहाँ भएका पनि अधिकांश आ–आफ्नो देश फर्केका छन् । प्याराग्लाइडिङको लागि हाललाई लक्षित ग्राहक भनेका नेपाली नै हुन् ।

पोखराका ६० वटा प्याराग्लाइडिङ कम्पनी संघमा आबद्ध छन् । कोरोनाका कारण प्याराग्लाइडिङ रोकिँदा ६ महिनामा करीब ५० करोड रुपैयाँ घाटा हुन पुगेको नाको अनुमान छ । पोखराको प्याराग्लाइडिङमा १ हजार जना प्रत्यक्ष रूपमा रोजगाररत छन् । जसमा हरेक कम्पनीमा कम्तीमा १ जना पाइलट, ३ जना अन्य स्टाफ हुने गर्छन् । टेकअफ र ल्यान्डिङ गर्दा ५०–६० जना कर्मचारी आवश्यक पर्छन् भने कम्पनीको मार्केटिङको लागि कर्मचारी खटिएका हुन्छन् । प्याराग्लाइडिङका लागि नेपाली र विदेशी गरी ३०० बढी पाइलट आबद्ध थिए । यसरी समग्रमा १ हजार जतिले प्याराग्लाइडिङ क्षेत्रमा प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् ।

पर्यटन प्रवद्र्धनको महत्त्वपूर्ण क्षेत्र मानिने प्याराग्लाइडिङ कम्पनीको लागि सरकारले विशेष छुट दिनुपर्ने नाको माग छ । प्याराग्लाइडिङबाटै २०७२ सालमा सर्वाधिक मूल्य अभिवृद्धि कर बुझाई कास्कीमा उत्कृष्ट करदाताको रुपमा यो संस्था सम्मानित भएको थियो । तसर्थ ठूलो संख्यामा व्यक्तिहरू रोजगाररत रहेको र खेलमार्फत पोखरा चिनाउने भएकाले सरकारले विशेष ध्यान दिनुपर्ने नाको माग छ ।

नेपालमा २ दशकको यात्रा

युरोपबाट शुरू प्याराग्लाइडिङले नेपालमा २ दशकको यात्रा पूरा गरिसकेको छ । नेपालमा प्याराग्लाइडिङ भित्र्याउनुको पहिलो श्रेय वंजन परिवारलाई जान्छ । युरोपका धेरै देशबाट विकसित प्याराग्लाइडिङ नेपालमै पहिलो पटक नुवाकोटका विरु वंजनको प्रयासमा पोखरामा सन् १९९२ देखि वंजन परिवारले भित्र्याएका हुन् ।

प्याराग्लाइडिङ भित्रिएसँगै उनकै छोरा राजेश नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलटको रूपमा चिनिए । पर्यटन व्यवसायीका अनुसार पोखरामा सन् १९९० देखि व्यावसायिक उडान थालिएको इतिहास छ ।

त्यसबेला बेलायतका स्टक्टर एडम हिलले पोखरामा पहिलो पटक प्याराग्लाइडिङको सफल उडान गरेपछि पोखरामा साहसिक प्याराग्लाइडिङको बाटो खुलेको हो । पोखराको पहिलो प्याराग्लाइडिङ कम्पनी सनराइज हो । सनसाइज प्याराग्लाइडिङ सञ्चालन गरेका विरु विदेशिएपछि उनका छोराले सोको जिम्मेवारी लिएका थिए ।

साहसिक खेल प्याराग्लाइडिङको आकर्षणले बिस्तारै १५९२ मिटर उचाइको सराङ्गकोट प्याराग्लाइडिङले महत्त्वपूर्ण स्थानको रूपमा चिनारी बोक्यो । पोखरामा वर्षको ९ महिनासम्म प्याराग्लाइडिङ उडाउन पाइन मौसमले साथ दिने भएकाले पनि यसको आकर्षण बढ्दै गयो । यसरी क्रमशः प्याराग्लाइडिङ कम्पनी खुल्दै गए । हाल यसको संख्या ५ दर्जन पुगेको हो । पोखराको सराङ्गकोटबाट डोरी र ग्लाइडर साथमा जोखिम मोलेर आकाशमै विना इञ्जिन स्वतन्त्र उड्न विदेशीसँगै नेपालीको आकर्षण बढ्दै गएको हो । सराङ्गकोटबाट उडेका मानिसहरू फेवाताल किनार खहरेमा अवतरण गर्ने गर्छन् ।

पछिल्ला केही वर्ष पोखरासहित छिमेकी स्याङ्जाको स्वरेकमा पनि व्यावसायिक उडान थालिएको थियो । त्यहाँ प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्यान्डिङ) वल्र्ड कप समेत २ वर्षअघि सफलतापूर्वक सम्पन्न भएको थियो । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल पूरा भएपछि पोखराको आकाशबाट भने प्याराग्लाइडिङ कम्पनी विस्थापित हुनुपर्नेछ । सोको लागि नजिकका ठाउँमा उपयुक्त स्थान खोजी समेत शुरू भइसकेको छ ।

एसियाली गेम्समा चम्केको प्याराग्लाइडिङ

राज्यले नपत्याएको प्याराग्लाइडिङ खेलले २ वर्षअघि १८ औं एसियाली गेम्समा रजत पदक जितेसँगै नेपालको साख जोगाएको थियो । एसियाली गेम्समै पहिलो पटक सहभागी गराइएको प्याराग्लाइडिङमा नेपालले सन् २०१८ अगस्ट २० देखि २९ सम्म जाकार्तामा भएको खेलमा पहिलो पटक सहभागी हँुदै रजत पदक जित्न सफल भएको थियो ।

प्याराग्लाइडिङको ६ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा नेपालले ५ जना खेलाडी संलग्न भएको ‘क्रस कन्ट्री इभेन्ट’मा जापानलाई २७ अंकले पछि पार्दै रजत पदक हात पार्न सफल भयो । पोखराका खेलाडी विमल अधिकारीको कप्तानीमा विशाल थापा, युकेश गुरुङ, सुशील गुरुङ र विजय गौतमको टीमले उत्कृष्ट प्रदर्शन गरी एसियाली गेम्समा नेपाललाई पदकविहीन हुनबाट बचाएका थिए ।

प्याराग्लाइडिङको सामूहिक खेलमा नेपालले धेरै वर्षपछि रजत जित्न सफल भएको छ । यसअघि नेपालले १७ औं एसियाली गेम्समा एकलतर्फ कास्य पदक ल्याएको थियो । राज्यस्तरबाट मान्यताप्राप्त प्याराग्लाइडिङ खेल भए पनि राज्यले पर्याप्त लगानी नगर्दा पनि सफलताले धेरै सम्भावनाको ढोका खुलेको प्याराग्लाइडिङ प्रशिक्षक योगेश भट्टराईको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्