३ महिनामा कति पढेर परीक्षा दिने ?

तस्वीर सौजन्य : कान्तिपुर दैनिक

फागुनदेखि शैक्षिकसत्र सुरु हुने कर्णालीका हिमाली विद्यालयमा दसैंअघि नै विद्यार्थी अर्धवार्षिक परीक्षा भ्याएर अन्तिम परीक्षाको तयारीमा हुन्थे । कोर्स पनि आधाभन्दा बढी गइसकेको हुन्थ्यो ।

विश्वव्यापी कोरोना संक्रमणको महामारीका कारण विद्यार्थीले किताबको पाना पल्टाउन नपाएरै नौ महिना बितेको छ । ‘यो वर्ष त नपढेरै बित्ने भयो, कोरोनाले पढाइ डामाडोल बनायो,’ मुगुको महाकाली माध्यमिक विद्यालयमा अध्ययनरत नवीनकुमार मल्ल भन्छन्, ‘कोरोना कम भएपछि अन्यत्र त स्कुल खुल्लान्, हाम्रोमा चिसोका कारण त्यो अवस्था पनि छैन, के गर्ने हो ?’


Advertisement

नवीनलाई जस्तै कर्णालीका हिमाली भेगका विद्यार्थीलाई नपढेरै शैक्षिकसत्र सकिन लाग्दा यस्तै चिन्ताले सताउने गरेको छ । उनीहरूको साझा चिन्ता छ– ‘किताबको पाना पल्टाएका छैनौं, कसरी कक्षा चढ्ने ?’ साविक कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पाका पूरै तथा कालीकोटको​​तिलागुफा नगरपालिका र महाबै गाउँपालिकाका विद्यालयमा फागुनदेखि शैक्षिकसत्र सुरु हुन्छ ।

कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार फागुनदेखि शैक्षिकसत्र सुरु हुने ५ सय ९६ विद्यालयमा करिब ९५ हजार विद्यार्थी अध्ययनरत छन् । निर्देशनालयकी निर्देशक दीपा हमाल शैक्षिकसत्र सुरु हुनेबित्तिकै कोरोना कहर भित्रिएको र सत्र सकिन धेरै समय नरहेकाले अन्यत्रभन्दा बढी मारमा परेका बताउँछिन् ।


Advertisement

फागुनदेखि शैक्षिक सत्र सुरु हुने विद्यालयमा भदौ अन्तिम साता अर्धवार्षिक परीक्षा हुन्छ । दसैं–तिहारलगत्तै करिब एक महिना पढाइ भएपछि मंसिर अन्तिम साता वार्षिक परीक्षा हुन्छ । पुस १५ सम्म वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी फागुनसम्मका लागि हिउँदे बिदा गरिन्छ । यस हिसाबले हेर्दा दसैं–तिहारपछि विद्यालय खुलिहाले पनि हिमाली विद्यालयहरूसँग पढाइ र परीक्षाका लागि एक महिना पनि समय छैन ।

हुम्लास्थित मानसरोवर माविका शिक्षक लालबहादुर ऐडी कोरोनाले शैक्षिक क्यालेन्डर प्रभावित हुँदा एसईईको आधार कक्षाका रूपमा हेरिने ८, ९ र १० का विद्यार्थीलाई बढी चिन्तित बनाएको बताउँछन् । ‘विद्यार्थीलाई एक दिन पनि नपढाएर शैक्षिकसत्र खेर जाने भयो, परीक्षा पनि कसरी लिने अन्योल छ,’ उनले भने, ‘सहरबजारमा जस्तो यहाँ इमेल–इन्टरनेट र एफएमबाट पनि पढाउन सम्भव छैन ।’

छैन वैकल्पिक शिक्षा
कोरोनाका कारण विद्यालय बन्द भएका बेला सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गरेको छ । निर्देशिकामा कोभिड–१९ वा यस्तै प्रकारको विपद् वा महामारीजन्य अवस्थामा रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठ, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायतका वैकल्पिक माध्यमबाट अध्ययन–अध्यापन सुचारु राख्न सकिने उल्लेख छ । तर फागुनदेखि शैक्षिकसत्र सुरु हुने हिमाली जिल्लाका अधिकांश विद्यालयमा वैकल्पिक माध्यम पनि प्रभावकारी हुन सकिरहेको छैन ।

हुम्लाको अदानचुली गाउँपालिका–३ रोकायागाउँका उज्ज्वल नेपाली सरकारले अन्यत्रका विद्यार्थीलाई हेर्ने आँखाले हेर्दा आफूहरूको भविष्य अन्धकार भएको बताउँछन् । स्थानीय सूर्योदय माविमा कक्षा ९ मा अध्ययनरत उनी घरमै स्वअध्ययन गरिरहेका छन् तर नजानेको कुरा कसैसँग सोध्न सक्दैनन् । ‘न यहाँ फोन लाग्छ, न इन्टरनेटको सुविधा छ, रेडियो पनि राम्ररी सुनिँदैन,’ उनले भने, ‘हिँडेर शिक्षक भेट्न जाऊँ भने दुई–तीन घण्टा लाग्छ, यस्तो अवस्थामा कसरी पढ्ने ?’

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले गरेको अध्ययनअनुसार कर्णालीका १० जिल्लाका १८.४ प्रतिशत विद्यालय मात्रै इन्टरनेटको पहुँचमा छन् । नेपाल टेलिभिजनको पहुँचमा कर्णालीका ९.५४ प्रतिशत विद्यालय छन् भने स्थानीय टेलिभिजनको पहुँच भएका विद्यालय ५.९१ प्रतिशत रहेका छन् । रेडियो नेपालको पहुँचमा ८३.१९ प्रतिशत छन् भने स्थानीय एफएमको पहुँचमा रहेका विद्यालय ७४.१६ प्रतिशत छन् । कर्णालीमा कुनै पनि विद्युतीय सञ्चारको पहुँच नपुगेका विद्यालय ८.९१ प्रतिशत छन् । सेभ द चिल्ड्रेनका शिक्षा संयोजक आत्माराम भट्टराई फागुनदेखि शैक्षिकसत्र सुरु हुने हिमाली जिल्लाका विद्यालयमा रेडियो, टेलिभिजन, इन्टरनेटलगायत वैकल्पिक शिक्षण सिकाइको अवस्था नाजुक रहेको बताउँछन् ।

वैकल्पिक शिक्षाको समेत वातावरण नहुँदा हिमाली विद्यालयका विद्यार्थीको सिकाइ गुणस्तरमा दीर्घकालीन प्रभाव पर्ने चिन्ता पनि उत्तिकै देखिन थालेको सरोकारवाला बताउँछन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१० स्थित जनप्रभा माविका प्रधानाध्यापक यामप्रसाद शर्माले विद्यालय खुलिहाले पनि विद्यार्थीलाई पुनर्ताजगी गर्न हम्मे हुने बताउँछन् । ‘न हामीले पढाउन पाएका छौं न अन्य माध्यमबाट पढ्न पाएका छन्,’ उनले भने, ‘दसैं–तिहारपछि स्कुल खुलिहाले पनि कसरी सम्झाउने भन्ने चिन्ताले सताइरहेको छ ।’

प्रअ शर्माले भनेझैं पढ्न नपाउँदा विद्यार्थीले पहिले सिकेको कुरा पनि बिर्सिंदै गएका छन् । १० कक्षामा अध्ययनरत हुम्ला, अदानचुलीका नरबहादुर पार्की घरमा जति पढ्न खोजे पनि बुझ्न नसकिने बताउँछन् ।

‘स्कुलमा
पढ्दा सरले भनेको सुनिन्थ्यो, किताबमा पनि दोहोर्‍याएर पढिन्थ्यो,’ उनले भने, ‘घरमा आफ्नै दिमागले नभ्याइँदो रहेछ ।’

शैक्षिकसत्र सकिन साढे तीन महिना बाँकी रहे पनि चिसो र दसैंतिहारको कारण हिमाली विद्यालयमा पठनपाठनको सम्भावना निकै कम छ । यस्तो अवस्थामा केही विद्यालयले दसैंअघि पठनपाठन सुरु गरे पनि विद्यार्थीको उपस्थिति न्यून रह्यो । मुगुको मुगमकार्मारोङ गाउँपालिकाले असोज पहिलो सातादेखि सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको थियो तर विद्यार्थीहरू जडीबुटी टिप्न पाटनतिर गएपछि पठनपाठन हुन सकेन ।

मुगुमकार्मारोङका अधिकांश गाउँका बालबालिका कटुकी, भोत्ले, वनलसुन, तिलेलगायत जडीबुटी टिप्न पाटन गएका थिए । स्थानीयबासी राजकुमार भामले दसैंअघि पढाइ हुने सम्भावना रहेको भए पनि विद्यार्थी आम्दानीका लागि जडीबुटी टिप्न जाँदा पठनपाठन प्रभावित भएको बताए । ‘विगतमा यार्चाको कारण एक–दुई महिना पढाइ बिथोलिन्थ्यो, अहिले त वर्षै जालाजस्तो छ,’ उनले भने, ‘कोरोनाले बालबच्चाको पढाइलाई अझ कति धक्का पुग्ने हो थाहा छैन ।’

विकल्प के ?
वैकल्पिक शिक्षाको अवस्था न्यून र शैक्षिक सत्रसमेत सकिन लागेकाले कर्णालीका हिमाली विद्यालयका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने सरोकारवालाको भनाइ छ । शैक्षिकसत्र लम्ब्याएर वैशाखामा पुर्‍याउन वा बाँकी रहेको समय अध्ययनकार्य व्यवस्थित तवरले सुचारु गर्न योजना बनाउनुपर्ने उनीहरूको भनाइ छ ।

जुम्लाको चन्दननाथ नगरपालिकाकी नगर प्रमुख कान्तिका सेजुवालले सरकारले यसतर्फ सोच्नुको साटो सुरक्षित तवरले विद्यालय खोल्ने तयारी हुँदासमेत बन्द गर्न निर्देशन दिएको बताइन् । ‘हिमाली जिल्लाका विद्यालयहरूमा विद्यार्थीको चाप निकै कम हुने भएकाले सामाजिक दूरी र स्वास्थ्यका मापदण्ड अपनाएर पढाइ सुरु गर्न सकिन्छ,’ उनले भनिन्, ‘तर यसका लागि सरकारले सहजीकरण गरिदिनुपर्छ ।’ चन्दननाथ नगरपालिकामा २०–२५ जना विद्यार्थी भएका विद्यालय असोज पहिलो साताबाट खोल्न खोज्दा स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको उनले बताइन् । कान्तिपुर दैनिकमा चाँदनी कठायतले खबर लेखेकी छन् ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्