हुम्लामा टेलिफोन सेवा अवरुद्ध

हुम्लाको तल्लो क्षेत्रमा रहेका ४ वटा गाउँपालिकामा पुनः सञ्चारविच्छेद भएको छ ।

नमस्ते टेलिफोनले काम नगर्दा स्थानीय नागरिकले पटक–पटक सास्ती खेप्दै आएका छन् ।


Advertisement

जिल्लाका सर्केगाड, अदानचुली, खार्पुनाथ, ताजाकोट, चंखेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र ९ वटा नमस्ते टेलिफोनका टावर निर्माण गरिएको भए पनि सन्तोषजनक काम नगरेको स्थानीयले गुनासो गरेका छन् । 
    
जिल्लाको तल्लो क्षेत्रमा रहेको कालिकाको नमस्टे टेलिफोन सेवाले करीब १ महिना बढीदेखि काम गर्न छोडेको छ । सर्केगाड गाउँपालिकाको भदालीमा रहेको नमस्ते टेलिफोन सेवाले महिनौंदेखि काम गर्न छोडेको स्थानीय शुरबहादुर रोकायाले बताए । पटक–पटक मर्मतका लागि नेपाल टेलिकममा खबर गर्दा कुनै सुनुवाइ नभएको उनको गुनासो गरेको छ । 
   
राम्रोसँग मर्मत हुन नसक्दा जिल्लाको तल्लो क्षेत्रमा रहेको ताजाकोट, चंखेली, अदानचुली गाउँपालिकामा केही समय अगाडि मर्मत भएको भनिएको नमस्ते टेलिफोन सेवा फेरि अवरुद्ध भएको छ । विगत लामो समयदेखि हुम्लाको नमस्तेको टावरले काम नगर्दा मोबाइलमा रहेको रुपैयाँ मात्र सकिने तर फोन नहुने समस्या आएको उनले बताए ।
   
७ वटै गाउँपालिकाभित्रका करीब ५० हजारभन्दा बढी नागरिक यो सेवाबाट वञ्चित हुनुपरेको छ । एकअर्कामा फोन गर्दा नसुनिने अवस्था अझैसम्म पनि नहटेको स्थानीयको गुनासो रहेको छ । जिल्ला बाहिर रहेका आफन्तसँग कुरा गर्न खोज्दा पनि फोन नभएपछि विभिन्न काममा बाधा परेको चंखेली गाउँपालिकाका स्थानीय विष्णुभक्त जैसीले बताए ।

चंखेली गाउँपालिका मेल्छाममा रहेको नमस्तेको टावरले कात्तिक ९ गतेदेखि काम नगरेपछि सो ठाउँका करीब ८ हजार नागरिक टेलिफोन सेवाबाट वञ्चित हुनुपरेको स्थानीयले गुनासो गरेका छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्