लाहुरेको शहरमा लोभलाग्दो कर्म

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

पोखरा लाहुरेहरूको शहर हो । त्यसमा पनि अधिकांश गुरुङ समुदाय लाहुरे छन् । तर गुरुङको छोरो उनी भने लाहुरे भएनन्, मोडल बने ।

केही समय र्‍याम्प उत्रे । पेशामा चित्त नबुझेपछि विदेश मोह जाग्यो । केही वर्ष दुःख भोगे ।


Advertisement

पछि स्वदेशमै सम्भावना देखेर पुनः फर्किए । व्यवसाय थाले । सानो लगानीबाट शुरू व्यवसायले उनलाई केही वर्षभित्रै भरपुर सन्तुष्टि दियो । किताबीभन्दा व्यावहारिक ज्ञान बढी सिकेका उनी भन्छन्, ‘यही विदेश छ । सम्भावनाको ढोका खोज्नुपर्दो रहेछ । युवा वर्ग सकेसम्म विदेशिनु हुँदैन ।’ 

सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–१७ हिमालीटोलमा १ दशकअघि फ्रेस हाउस चलाउने क्रममा ईश्वर गुरुङ (प्रयासी) लाई एक युवतीले जिज्ञासा राखिन्, ‘तपाईं मोडल हैन र ?’ 


Advertisement

त्यसबेला ईश्वरले आफ्नो परिचय लुकाउँदै ‘हैन’ भने । 

भर्खरै विदेशबाट फर्किएका उनले कान्छा बुवाको प्रेरणाले पुइमे फ्रेस हाउस एण्ड सप्लायर्स चलाएका थिए । हेर्दा आकर्षक र बलिष्ठ ज्यानका ईश्वर भने वास्तविक मोडल नै थिए । 

द लुक्स होमले सन् २००१ मा पोखरामा आयोजना गरेको फेस टू फेस कन्टेस्टका उनी विजेता हुन् । विजेता हुँदै उनी मिस्टर पोखरा घोषित भए । केही समय पोखरा र काठमाडौंमा गरी म्यूजिक भिडियो साथसाथै र्‍याम्पमा उत्रिएका ईश्वरले विभिन्न इभेन्ट पनि सञ्चालन गरे ।

पोखरामा शुरूआतमा चलेका मोडलको नाम लिनुपर्दा उनको नाम अग्रपंक्तिमा आउँछ । त्यसबेला केही वर्ष बिताएपछि उनमा विदेशको मोह जाग्यो ।  विदेश पनि गए । जापान, दुबई र मकाउमा गरी ४ वर्ष बिताएका उनी स्वदेशमै केही गर्छु भनी फर्किएर व्यवसाय थालेका थिए ।

गुणस्तर कायम र सहुलियत मूल्यमा सेवा दिने उनको पसलमा ग्राहकको अत्यधिक बढ्दै जान थाल्यो । उनलाई चिनेजानेकाले ‘मिस्टर पोखरा’ भन्थे । धुमिल चिन्नेले ती युवतीझैं मोडलको परिचय पनि थप्थे ।

उनले लोकान्तरसँग विगत सम्झँदै भने, ‘मलाई मिस्टर पोखरा वा मोडल भनी चिनाउन मन लागेन । पेशा नितान्त फरक भएकाले फ्रेस हाउसमै केन्द्रित भएँ ।’

फ्रेस हाउस चलेपछि उनले त्यहीँ अगाडि ठेलामै फास्ट फूड बेच्न थाले । युवायुवतीको रोजाइ नै पुइमे बन्न पुग्यो ।

यता आम्दानी पनि बढ्दै गयो । पछि रेस्टुरेन्टकै रूप दिने सोच पलायो । २०७० सालतिर जग्गा भाडामा लिएर करीब १७ लाख लगानीमा पुइमे फास्ट फूड एण्ड बार सञ्चालन गर्न थाले । लगानीमा आमा तारादेवीले आर्थिक सहयोग गरिन् । १५–२० जना युवालाई रोजगार पनि दिलाए । 

भन्नेहरूले त भन्थे – राजमार्गको स्टेसन नभएको ठाउँमा रेस्टुरेन्ट चल्न गाह्रो हुन्छ । लगानी फसाउने मात्र काम हो । अन्त कतै गर्दा राम्रो हुन्छ ।

 
ईश्वरले शुभचिन्तकको कुरा सुन्थे । तर सम्भावनाको ढोका पनि कल्पना गरिसकेका थिए । त्यसैले निरन्तर परिश्रम र कामप्रति दत्तचित्त बनेर राजमार्ग छेउमै आकर्षक डेकोरेसनमा रेस्टुरेन्ट चलाए । 

उनको मान्यता कायमै थियो, गुणस्तर र सहुलियत । जसले ग्राहक तान्न सहज भयो । काममा भ्याइँ–नभ्याइँ भयो । एकपछि अर्को कर्मचारी थप्दै गए । नजिकका मात्र हैन, टाढाटाढाबाट पनि मानिसहरू पुइमेमै खाजा खाना आउन थाले । पालो कुरेरै बस्न थाले । मम, चाउमिन, पिजा, बर्गर, राइस बिरानी लगायत खाजाका परिकारमा बेग्दै स्वादले ग्राहकको रोजाइ बन्न पुग्यो । थिचेको आलुको परिकारलाई पनि समावेश गरेर पहिचान बढाए । 

तत्पश्चात ईश्वरले केही वर्षमै ग्राहकको थप मन जित्दै आर्थिक उपार्जन गरे । अहिले त्यहीँ नाममै ५० मिटरमाथि आफ्नै बिल्डिङमै रेस्टुरेन्ट चलाएका छन् । २ वर्ष बित्यो घर बनेको । घर निर्माणमा केही लगानी घरपरिवारबाट पनि परेको उनले बताए । ३ तले घरको पहिलो र दोस्रो तला पूरै रेस्टुरेन्ट प्रयोजनका लागि प्रयोग छ । माथिल्लो तलामा आमा, पत्नी, १ छोरा र १ छोरीसँग बस्छन् । २४ जनालाई रेस्टुरेन्टमा काम दिएका छन् । 

‘लकडाउनअघि ३३ जनालाई रोजगारी दिलाएको थिएँ । अहिले केही कर्मचारी मात्र घटेका हुन्,’ उनले भने, ‘कोरोना प्रभावको असर कम हुँदै गएपछि थप जनशक्ति थप्ने विचारमा छु ।’ 

रेस्टुरेन्टमा मात्रै हालसम्म ७० लाखजति लगानी परेको उनले बताए । तत्कालै फूड क्याट्रिङ व्यवसाय पनि सञ्चालन गर्ने विचारमा उनी छन् । १० वर्षअघिसम्म कामको खोजीमा विदेश भौंतारिएका उनले अहिले आफैंले ठूलो संख्यामा आफूजस्तै युवालाई काम दिलाउन पाउँदा सन्तुष्ट रहेको बताउँछन् । रेस्टुरेन्टमा एकैपटक २०० जनासम्मलाई सेवा दिने क्षमता छ । आफ्ना परिकार पस्किन उनले पोखरा उपत्यकाभर निःशुल्क होम डेलिभरि दिन्छन् ।

पहिले लगानी खेर जान्छ कि भन्नेहरू उनको एकाएक प्रगति देख्दा छक्क पर्छन् । छोटो समयमै आँखै अगाडि देखिएको व्यावसायिक सफलताले अरुहरूको लागि पनि उनी प्रेरणाको स्रोत बनेका छन् । उनले भने, ‘यसप्रकारको व्यवसाय सञ्चालन गर्ने सोचका लागि आईडीया लिन कतिपय मानिसहरू आउनुहुन्छ । मैले जानेको कुरा सिकाएर पठाउँछु ।’ 

गुरुङ समुदायको एक थरको नाम रहेछ ‘पुइमे’ । शुरूशुरूमा भन्न अप्ठ्यारो मान्ने पोखरेलीको लागि त्यहीँ नाम अहिले जिभ्रोमा झुण्डिएको छ । यही नाम ब्रान्ड बन्दै गएपछि पुइमेकै नामबाट बिरौटामा सहकारी पनि सञ्चालित छ । सो सहकारीमा उनी पहिले ऋण संयोजक भएर पनि काम गरे । 

गत भदौमा उमेरले ४० टेकेका ईश्वरलाई पहिलोपल्ट नेपालभूमि छोडेर जापान जाँदा त्यहाँको इमिग्रेसनले समातेको घटना खुब याद आउँदो रहेछ । ‘टुरिस्ट भिसामा गएको, २ दिनमै इमिग्रेसनले समातेर फर्कायो,’ उनले सम्झे, ‘पछि फेरि दुबई गएँ । त्यहाँ पनि १० महिना मात्र बसें । फर्केर आएँ । पुनः मकाउ गएँ । १ क्यासिनोमा सेक्युरिटी गार्ड भएर १ वर्षसम्म खटिएँ । दुःख खुबै भोगियो । अब नेपालमै केही गर्छु भनी फर्केको हुँ । एसएलसीपछि मोडलिङ हुँदै अहिले जे गरें सन्तुष्ट छु ।’ 

व्यवसायका सिलसिलामा चुनौती पनि उत्तिकै रहेको उनी सुनाउँछन् । उनको त्यस ठाउँमा रेस्टुरेन्ट चलेपछि अरुहरूले पनि सिको गर्दै त्यहीँ आसपासमा रेस्टुरेन्ट चलाउन थाले । अहिले ६ वटा थपिएका छन् । व्यावसायिक प्रतिस्पर्धासँगै खानाका परिकारमा गुणस्तर कायम गर्नु चुनौती छ । साथसाथै कोरोना महामारीले ५–६ महिनासम्म बन्द नै गर्नुपर्दा ठूलो नोक्सानी भयो । सरकारले पनि स्वदेशमै केही गर्न चाहनेलाई सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था मिलाउनुपर्ने उनको जोड छ । 

कुराकानीको बिट मार्दै उनले भने, ‘ज्ञान र सीप नेपालमै सिँचित गर्छु भन्नेहरूलाई सरकारले लगानीको वातावरण मिलाउनुपर्छ । कम्तीमा ५–६ प्रतिशतमा ऋण दिनुपर्छ । अनि रोजगारी वृद्धि हुन्छ । विदेश पलायन रोकिने छ । देशले काँचुली फेर्नेेछ ।’

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्