हुम्ला गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् ।
विगत ३ दिनदेखि अज्ञात रोगका कारण दैनिक करीब २० वटा स्थानीय जातका (लोकल) कुखुरा मर्ने गरेको स्थानीय बताउँछन् ।
५ दिनअघि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका–२ उनपानी र रिप गाउँका २ जना व्यापारीले बिक्रीका लागि १६ वटा कुखुरा ल्याएपछि गाउँका स्थानीय जातका (लोकल) कुखुरामा रोग फैलिएको बताइएको छ ।
कुखुरामा कुन रोग लागेको हो भन्ने पहिचान हुन नसकेको भए पनि स्थानीयले मरेका कुखुरा दैनिकजसो पकाएर खाने गरेका छन् । जिल्ला बाहिरबाट ती कुखुरा नल्याउँदासम्म गाउँका कुखुरामा कुनै पनि रोग नलागेको स्थानीय लामा रावलले बताए ।
बाहिरबाट ल्याएका कुखुराबाट रोग सरेको हुन सक्ने उनको अनुमान छ । बाहिरबाट ल्याएका कुखुरा जोडीको ५ हजार ५०० रुपैयाँका दरले गाउँलेले किनेपछि स्थानीय जातका कुखुरामा रोगको प्रकोप देखापरेको स्थानीय रावलको भनाइ छ ।
कुखुरामा कराउने र झोक्राउने जस्ता लक्षण देखिने र केही समयपछि मर्ने गरेको छ । गाउँमा सयौं कुखुरा मरिसक्दा पनि खार्पुनाथ गाउँपालिका पशु शाखा कार्यालयले यसतर्फ गम्भीर हुन सकेको छैन ।
मरेको कुखुरालाई क्षेत्रीय प्रयोगशालामा पठाएर परीक्षण गरेपछि खाने योग्य भएमात्र खानुपर्ने पशु सेवा तथा भेटेनरी कार्यालय हुम्लाका सूचना अधिकारी कृष्ण रोकायाले बताए ।
थाली गाउँमा अज्ञात रोगका कारण कुखुरा मर्ने गरेको जानकारी हालसम्म नआएको खार्पुनाथ गाउँपालिका पशु सेवा प्रमुख नरेन्द्र शाहीले बताए ।
रासस