काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन अस्वीकार गरेका छन् । अहिलेकै अवस्थामा राजीनामा दिए देशमा अस्थिरता आउने उनको दावी छ ।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने दावी गरेको सोही टेलिभिजनको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।
नेकपाको ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो संभावना नरहेको पनि बताएका छन् । प्रचण्ड–नेपाल पक्षलाई सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समर्थन नगर्ने उनको दाबी छ ।
ओलीले राष्ट्रपतिको आलोचना गर्नेहरु गणतन्त्र विरोधी रहेको पनि आरोप लगाएका छन्।
राष्ट्रपतिमाथि एक चौथाईले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्ने भए पनि संसदले त्यो पारित नगर्ने प्रधानमन्त्रीले बताएको समाचारमा उल्लेख छ ।
लोकान्तर संवाददाता