आलेख

राष्ट्रिय स्वाभिमानको पुनर्जागरण : यसरी गर्न सकिन्छ फोहोरी राजनीतिको अन्त्य

डा. युवराज संग्रौला
डा. युवराज संग्रौला

पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक संग्रौला समसामयिक राजनीतिमा टिप्पणी गर्छन् ।  

राष्ट्रिय स्वाभिमानको पुनर्जागरण : यसरी गर्न सकिन्छ फोहोरी राजनीतिको अन्त्य

वर्तमान अवस्थाको यथार्थ पृष्ठभूमि


Advertisement

निरंकुश पञ्चायती व्यवस्थालाई विस्थापित गरी बहुदलीय व्यवस्थाको पुन:स्थापना गर्ने २०४६ सालको जनआन्दोलनद्वारा आम नेपाली जनताले आफ्नो समृद्धि निर्माण र राष्ट्रिय स्वतन्त्रताको उत्थानको आकांक्षा राखेका थिए । तर २०४७ सालको संविधान कार्यान्वयन जनताको आकांक्षाअनुसार भएन ।


Advertisement

राजनीतिक दलहरूका बीचमा तीव्र एवं गहिरो मतान्तर, सत्ता आकांक्षा र निहित स्वार्थ, अवाञ्छित तथा अनैतिक प्रतिस्पर्धा र भ्रष्टाचारको प्रवृत्तिहरू घनीभूत भए । विदेशी शक्तिका स्वार्थले राष्ट्रिय राजनीति प्रभावित हुन गयो र आर्थिक विकास र सामाजिक रुपान्तरणका कार्यक्रमहरूमा विदेशी दातृ संस्था, अन्तर्राष्ट्रिय वित्तिय संस्था तथा विदेशी गैरसरकारी संस्थाको अनुचित प्रभाव र दखल मात्र होइन नियन्त्रणको अवस्था कायम भयो । खुला बजारतन्त्रका नाममा विकृत नव-उदारवादहरूलाई अन्धाधुन्ध ढंगले लागू गरियो ।

संवत् २०५८/५९ सम्म आइपुग्दा २०४६ सालको जनआन्दोलनबाट सिर्जना भएको राष्ट्रिय परिवर्तन र जनसमृद्धिका सपनाहरू ध्वस्त भए । त्यसताका देशको नेतृत्व गर्ने नेताहरू तिनै थिए जो आज पनि नेतृत्वमा छन् । त्यसबेला नेपालमा थोरबहुत हुर्किएको औद्योगीकरण, कृषिको आधुनिकीकरण र विकास संरचना निर्माणलाई ध्वस्त पार्दै कथित नवउदारवादले राज्यको संरक्षणमा सञ्चालित आधारभूत उद्योग तथा प्रतिष्ठानहरू ध्वस्त पार्‍यो ।


Advertisement

यही नवउदारवादको झण्डा अन्तर्गत प्राथमिक तहदेखि उच्च शिक्षा तहसम्म शिक्षालाई व्यापारीकरण गरी शिक्षालाई राष्ट्रिय विकासको अभिन्न अंगका रूपमा रही औद्योगीकरण, कृषि आधुनिकीकरण र विकास संरचना निर्माणमा आवश्यक पर्ने दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने संयन्त्र बन्नबाट बर्खास्त गरी विदेशी नकल गर्ने, पराई संस्कृति रोपण गर्ने र जनशक्ति पलायन गर्ने माध्यमका रूपमा स्थापित गरियो । विदेश नीतिमा दक्षिणी छिमेकीको हैकम कायम गर्दै महाकाली सन्धिजस्तो राष्ट्रहितविरोधी सन्धीमा सहीछाप गर्ने कार्य गरियो ।

समग्रमा राष्ट्रको विदेश नीति, सुरक्षा नीति, लोककल्याणकारी राज्य व्यवस्था प्रबर्द्धन गर्ने आर्थिक नीति र विचारधारा, राजनीतिक अनुशासन तथा नैतिक मूल्यमान्यतालाई बर्खास्त गर्दै सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक अराजकताको निर्माण गरी २०४६ को जन आन्दोलनबाट स्थापित उदारपन्थी लोकतन्त्रको विसर्जनको वातावरण तयार पार्ने काम राजनीतिक दलका अकर्मण्यता, दृष्टिहीनता, विचारहीनता र सत्ता महत्त्वकांक्षाद्वारा प्रेरित अवान्छित गतिविधिबाट भयो ।

त्यस किसिमको अवान्छित राजनीतिक संकटबाट राष्ट्रिय राजनीतिमा दक्षिणपन्थी पुनरुत्थान र वामपन्थी अवसरवादका वृक्षहरू एकैचोटि पलाए । एकातर्फ राजा वीरेन्द्रको सकल परिवारको हत्या भई राजा ज्ञानेन्द्रको उत्तराधिकारित्व निर्माण हुँदै राष्ट्र संकटकालको भूमरीमा प्रवेश भयो र भीडन्तका घटनाहरूको श्रृंखला निर्माण गर्दै राष्ट्रिय राजनीति एउटा अनिश्चित भविष्यतर्फ मोडियो ।

अर्कातर्फ माओवादी जनयुद्ध क्रमश: गैरराजनीतिक उन्मादतर्फ मोडियो र अन्तमा भारतीय खेल प्रायोजनको रंगमञ्चभित्र प्रवेश गरी विसर्जन वा अवसरवादमा बिलय भयो । राजा ज्ञानेन्द्रको अपरिभाषित निरंकुश अभियान र माओवादको जनगणतन्त्रको अभियानमा आएका विसर्जनवादले नेपाली समाजको लोकतान्त्रिक र आर्थिक समृद्धिका सपनाहरूमाथि तुषारापातको अर्को श्रृंखला तयार भयो । तर नेतृत्व गर्नेहरू भने पहिलाकै रहे ।

त्यसपछिको राजनीति नेपालीको हातमा रहेन । संकटकाल पूर्व २०४६ को जनआन्दोलनको नेतृत्व गर्ने शक्तिहरू आफैँ त्रुटिपूर्ण अभियानद्वारा ध्वस्त भए । परम्परागत राजावादी शक्ति र परिवर्तनको नेतृत्व गर्ला भन्ने ठानिएको माओवादी शक्ति विदेशीहरूको छद्‍म प्रभाव र दबाबबाट मुक्त हुन सकेनन् ।

परिणामस्वरूप विदेशी खेलहरूको भूमरीभित्र फसेको पहिलो संविधान सभाको जीवन अवसान भयो । २०१५ सालको भूकम्पले ध्वस्त भएको देश र त्यसका कारणले केही हदसम्म खुलेका चेतबाट नयाँ संविधान त जारी भयो, तर राष्ट्रले भारतीय नाकाबन्दीको सामना गर्‍यो । आमजनता राष्ट्रिय स्वाभिमानको पक्षमा उभिए र त्यसकै प्रवाहमा पहिलोपटक समाजवाद पक्षधर वामपन्थी शक्तिको अत्यधिक बहुमतको सरकार निर्माण भयो । तर त्यसको दुर्दशा हेरेर अहिले इतिहास समेत अचम्मित भएको छ भन्दा अत्युक्ति हुँदैन । अर्थात् नेपालको २०४६ पछाडिको ३० वर्ष पनि पञ्चायती व्यवस्थाको ३० वर्षसरह असफल र निकम्मा रह्यो ।

राजनीतिक विश्रृंखलाका कारक तत्वहरू

मूलत: वर्तमान राजनीतिक विश्रृंखलता, आर्थिक विचलन, सांस्कृतिक विगठन र अकल्पनीय भ्रष्ट्राचारका अवस्थाहरू निर्माण गर्नमा देहायका पाँचवटा कारक तत्वहरूले भूमिका खेलेका छन् ।

१) नेपाली राजनीतिक दलका नेताहरूमा मौलाएको चरम सत्ताआकांक्षा र सत्ताको प्राप्तिबाट धन, मान र सम्मान कमाउने अनैतिक लोभ र लालसा ! यस्तो अवस्था त्यसबेला जन्मन्छ जब राजनीतिक दलहरूमा विचारधारात्मक चेतना, प्रतिबद्धता र लगाव समाप्त हुन्छ । आज नेपाली राजनीतिको सत्ताआरोहणमा सफल भएका वामपन्थी शक्तिमा मार्क्सवाद-लेनिनवाद विसर्जन भएको अवस्था छ । उनीहरूमा समाजवादको अभिष्ट डडेलो लागेको जंगल जस्तो भएको छ । तर पनि उनीहरूमा चेत पलाएको छैन । त्यसका युवा नेता समेत घडीको पेन्डुलम बनेका छन् । नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवाद र बीपी कोइरालाको लोकतन्त्रप्रतिको सम्झौताहीन मान्यताच्युत भएर सत्तामुखी जत्था बनेको छ । नेपालको वर्तमान राजनीतिक अवस्था सन् १९११ देखि १९२७ सम्मको चिनियाँ राजनीतिक संकट र भारतमा मोरार्जी देसाईको प्रधानमन्त्रित्व कालदेखि चन्द्रशेखर प्रधानमन्त्री हुँदाका समयमा देखिएको दिसाविहीन अराजक अवस्थामा खडा भएको छ । राजनीतिक विचारधाराविहीन राजनीतिको यात्रा क्रमश निरंकुशतातर्फ मोडिन्छ भन्ने कुराको उदाहरण चियाङ् काई सेक, मार्कोस र चुन दु हुवानले देखाउँछन् ।

२) राष्ट्रिय स्वार्थलाई राज्यको सर्वोपरी स्वार्थका रूपमा ग्रहण गर्न नसक्नु वा नचाहनु तथा देशभक्तिलाई नागरिकहरूमा उजागर गर्न नसक्नु वर्तमान अवस्थाको निर्माण गर्ने अर्को कारक तत्व हो । विगत दुई दशकमा नागरिकहरूमा विदेश पलायनको संस्कार निर्माण भएको छ । संस्कृतिमा विदेशी वस्तुको उपभोक्तावाद चरम बनेको छ । विदेशी तत्वहरूको प्रत्यक्ष एवं परोक्ष पक्षपोषण गर्नेहरूले देश, संस्कृति र इतिहासको पक्षमा बोल्ने र बहस गर्नेको मान मर्दन गर्दै आइरहेका छन् । अत: राष्ट्र कमजोर भएको छ र राष्ट्रघात गर्नेहरू बलिया भएका छन् ।

३) कृषि उत्पादन तथा स्थानीय घरेलु उत्पादन तहसनहस पार्ने नीतिगत कार्यक्रमहरू अर्को कारक तत्वका रूपमा रहेको छ । बिउदेखि बिक्री बजारसम्म माफियाहरूको जालो बनेको छ । नेपाली किसानको उत्पादन भारतीय उत्पादनबाट विस्थापित भएको छ । परिणामस्वरूप राष्ट्रले दुई खरबभन्दा बढी रकमको खाद्यान्न तथा तरकारी आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । देशका अधिकांश किसान गरीब भएका छन् । जमिन बाँझो छ । युवाशक्ति पलायन भएका कारणले नेपालको श्रम बजार भारतीय श्रमिकमा निर्भर रहन गएको छ । २०१६ को पीयू सेन्टरको तथ्यांक अनुसार नेपालबाट बर्सेनि ३ खर्ब २२ अर्ब रेमिट्यान्स भारत गइरहेको छ ।

४) कूटनीतिक असफलता वर्तमान अवस्था निर्माणको अर्को कारण हो । विगतमा नेपालले कमजोर चीन र कमजोर भारतका बीचमा कूटनीतिक सन्तुलन गर्नुपर्थ्यो । तर आज चीन एउटा अन्तर्राष्ट्रिय शक्ति र भारत क्षेत्रीय शक्तिमा रूपान्तरण भएका छन् । नेपालले दुई शक्तिशाली राष्ट्रका बीचमा सन्तुलन गर्नुपर्ने बाध्यता भएपनि नेपाली राजनीतिक नेतृत्व यस यथार्थलाई आत्मसात गर्न असफल भएको मात्र होइन तत्पर नै नरहेको देखिन्छ । भौगोलिक सिमाना नजोडिएको पश्चिमी शक्तिको प्रभाव अहिले व्यापक देखिन्छ र चीनसँगको सम्बन्ध रणनीतिक तहमा उजागर गर्न नेपाली नेतृत्व निष्क्रिय रहेको देखिन्छ । यसबाट नेपालको परम्परागत सुरक्षा प्रणाली प्रभावित भई आम सचेत नेपालीमा निरासा झन गहीरिएको छ ।

५) युवा पुस्ताको योग्यता र सक्षमता निर्माणको योजनालाई प्राथमिकता नदिई युवाहरूलाई चेतनाशुन्य कार्यकर्तामा रूपान्तरण गर्ने राजनीतिक प्रवृत्ति अर्को मुर्धन्य कारणका रूपमा रहेको छ ।

उपरोक्त कारक तत्वहरूको मूल:

सन् १८१६ मा ब्रिटिस उपनिवेशवादसँग पराजित भई बाध्यतावश सुगौली सन्धी गर्नुपरेपछि आज २०० वर्षसम्म नेपाली राष्ट्र अपमानित इतिहास बोक्न बाध्य छ । आज पनि सन् १९५० को सन्धीअन्तर्गत नेपाल उपनिवेशी अधिनबाट मुक्त हुन सकेको छैन । सन् १९४७ को गोर्खा भर्तिसम्बन्धी त्रीपक्षीय सम्झौताले नेपाली जनसंख्या उपनिवेशी संयन्त्रअन्तर्गत रहन बाध्य रहेको छ । नेपालमा ब्रिटिस सरकार र भारत सरकारका सैनिक डिपोहरू सञ्चालनमा छन् जहाँबाट ब्रिटीस र भारतीय सेनामा नेपाली युवाहरूको भर्ती हुने गर्छ । उनीहरू नेपाली नागरिकका रूपमा यी देशका स्वार्थ संरक्षणमा युद्ध गर्न बाध्य छन् । यस स्वतन्त्रता माथिको कलंकका विरुद्धमा राजनीतिक नेतृत्व, देशको सञ्चार माध्यम र शिक्षा प्रणाली आवाजहीन छ । जनसंख्यामाथिको यो उपनिवेशलाई अन्त्य नगरेसम्म देशको इतिहास सम्मानित हुन सक्तैन ।

साथै नेपाल विषम आर्थिक असमानताको शिकार भएको छ । देशका ७० प्रतिशत नागरिक गरीब छन्, भलै धनीका धन कागजमा बाँडेर गरीबी घटेको प्रचार राज्यले गरिरहेको छ । देशको उच्च शिक्षामा ८० प्रतिशतभन्दा बढी पहुँच माथिल्लो १०-२० प्रतिशतको छ । स्वयं शिक्षाले वर्गीय विभाजनलाई प्रश्रय दिइरहेको छ । झन्डै १५ प्रतिशत व्यवसायिक दक्षता भएका दलित जनसंख्या आज पनि छुवाछुतको मारमा छ । त्यो वर्ग सामाजिक रूपमा बहिष्कृत, आर्थिक रूपमा विपन्न छ । महिलाहरूको औपचारिक क्षेत्रमा समेत भेदभाव यथावत छ । शिक्षा उत्पादनशिल र व्यवसायिक नभएका कारणले बेरोजगार जन्माउने थलो बनेको छ । योजनाहीन शहरीकरणले जमिनको अतिक्रमण, पर्यावरणको क्षय र भूमाफियातन्त्रलाई प्रोत्साहित गरेको छ । यी सबै चुनौतीका बीचमा राजनीतिक व्यवस्था भ्रष्ट्राचार प्रबर्द्धन गर्ने अवसरवादी खेलमा रूपान्तरण भएको छ ।

यस्तो अवस्थामा स्वाभिमानको पुनर्जागरण, कलंकित इतिहासको अन्त्य र नागरिक समृद्धिको चेतनायुक्त अभियान निर्माण गर्नु राष्ट्रका हरेक चेतनशील नागरिकको कर्तव्य हुन सकेन भने नेपालको अस्तित्व केवल नक्सामा मात्र भेटिनेछ । अत: संविधानले प्रक्षेपण गरेको समाजवादउन्मुख राष्ट्रको निर्माणमा युवाहरूको चेतनशील नेतृत्व निर्माण गर्नु आवश्यक छ । नेपाली स्वरूपको समाजवादी व्यवस्थाको उत्थान गर्नुपर्ने अवस्था छ । राजनीति नै नीतिहरूको मूल संरचना हो । विगतको अवस्था परिवर्तन नगरी अन्य समस्याहरूको सम्बोधन गर्न सकिन्न । राजनीतिको यो फोहोर सफा गर्ने कुचो राष्ट्रिय स्वाभिमानको अभियान हो र यसमा हरेक बुद्धिजीवि, प्राज्ञ र शीक्षित युवाहरूको भूमिका रहेको छ ।

कसरी सफा गर्न सकिन्छ राजनीतिक फोहोर?

विम्बका रूपमा भन्ने हो भने यो फोहोरलाई रोगी शरीरसँग दाजौँ । सिकिस्त बिरामीलाई कडा औषधि दिने वा नरम औषधि दिएर बचाउने ? नेपाली राज्य व्यवस्थाको वर्तमान अवस्था सिकिस्त बिरामीको जस्तै छ । जुन संकटमा देश खडा छ, त्यो संकटले राष्ट्रलाई जरैदेखि मक्काएको रुखको अवस्थामा खडा गरेको छ । संक्रामक रोगले आम नागरिकको शारीरिक तथा मानसिक अवस्था भयावहपूर्ण बनेको छ । जो संक्रमित छ, ऊ शारीरिक रूपमा कमजोर छ । जो संक्रमित छैन, ऊ मनोवैज्ञानिक तनावमा बाँच्न बाध्य छ । राजनीति चरम विभाजनको संकटमा छ । अर्थतन्त्र भताभुङ्ग अवस्थामा छ । शिक्षा चौपट्ट अवस्थामा छ । सामाजिक जीवन छिन्न भिन्न छ । गरीबहरू औषधि नपाएर मरिरहेका छन् । भ्रष्ट्राचार भयावह बनेको छ । नेता ठूलाबडाले भ्याक्सिन पाए, तर राष्ट्रका भविष्य विद्यार्थी र बाटो खन्ने मजदुरले पाएनन् ।

यस्तो अवस्थामा १९१० को दशकमा दुईजना चिनियाँ विज्ञहरूले दुई खालका रणनीतिहरू अगाडि सारेका थिए। चङ्ग गोफा कडा औषधिका पक्षमा थिए । उनको भनाइ थियो- "सबै रोग अन्त्य गर्ने कडा औषधि दिनुको विकल्प छैन ।" हुन लिनईले भने नरम औषधिले शरीर तंग्रिन दिनुपर्छ, त्यसपछि मात्र कडा औषधि दिनुपर्छ, भने । नेपाललाई कस्तो औषधि दिनुपर्छ भन्ने बहस अब निर्माण हुनुपर्छ । एउटा कुरा के पक्का हो भने एउटा रोगलाई अर्को रोगले प्रतिस्थापित गरेर शरीर बचाउन सकिन्न । सन् १९६० मा अमेरिकामा केन्सिनियन विकास समाजवादको ढाँचा लागू गरिएको थियो । तर पूँजीवादले उत्पादनमा सीमित कर्पोरेट समूहलाई एकाधिकार दियो र सन् १९८० को दशकमा नवउदारवादको औषधि लिएर रेगानसँगै मिल्टन फ्रिडमेन आए । परिणाम कोभिड १९ को महामारीमा अमेरिकी समाजको चरम विभाजन देखियो ।

त्यसै समयमा सिंगापुरमा 'उद्देश्यमूलक प्रयोजनवाद' लि क्वान यु ले प्रयोग गरे र दक्षिण कोरियाले त्यसको उपयोग गर्‍यो । मलेशिया पनि त्यही समूहमा संलग्न भयो । सन् १९९० पछि चीनले उत्पादनशीलताको प्रबर्द्धन आम जनतामा गर्‍यो र तीन दशकमा गरीबी समाप्त गर्‍यो । गहिरो अनुसन्धान, परीक्षण र प्रयोग नगरी सत्य वा यथार्थ प्रकट गर्न सकिन्न । आर्थिक सम्मुनतिमा 'उत्पादन र उत्पादनशीलता प्रबर्द्धन' नै सबैभन्दा सफल रणनीति देखिएको छ । पछिल्लो समयमा दक्षिण अफ्रिका, भियतनाम, क्युबा, कोस्टारिकाले पनि यही उदाहरण देखाएका छन् । तर भारतमा विभाजित एवं अराजक राजनीतिले त्यो विकास शहरमा मात्र केन्द्रित रहेको छ । राष्ट्रको विकासमा तीनवटा खुट्टा (ओदान) को प्रदर्शन सफल अर्थतन्त्रले देखाएका छन् ।

१) राष्ट्रिय स्वाभिमान र त्यसको रक्षा गर्ने प्रभावकारी सुरक्षा निति

२) कृषि उत्पादनको विकास र आधुनिकीकरण एवं कृषि उत्पादनमा आधारित औद्योगीकरण हुँदै वस्तु उत्पादन गर्ने औद्योगीकरणमा रूपान्तरण

३) विकासका संरचनाहरूको निर्माणप्रति प्रतिबद्ध, जनताप्रति उत्तरदायी, विज्ञ एवं विचारधाराद्वारा निर्देशित राजनीति !

यी तीन खुट्टा भएको ओदानमा मात्र समृद्धिको खाना पाक्न सक्छ । अत: भविष्यको नेपाली राजनीतिलाई आर्थिक समुन्नति निर्माण र परिपक्व लोकतन्त्रप्रति लक्षित गर्नु आवश्यक छ ।

अत: निम्न केही कुरालाई ध्यान दिऊँ:

१) एउटा रूख होइन, वनलाई हेरौँ । अर्थात समग्रलाई हेरौँ र योजना निर्धारण गर्ने मार्गचित्र तयार पारौँ ।

२) जुन व्यक्तिले विचारधारात्मक नैतिकता र सिद्धान्त बोक्दैन । उसले राज्यको बागडोर बोक्न सक्तैन । राजनीति अवसरको खेल र मण्डला रोमान्स होइन ।

३) एउटा उखान छ, झ्याउँकिरी रमाउँदै गीत गाउँछ । झ्याउँकिरी कहाँ कराउँदैछ भनेर मेन्टिसले थाहा पाउँछ र झ्याउँकिरी मेन्टिसको शिकार हुन्छ । मेन्टिसले झ्याउँकिरी खाएर मुख पुस्न पाएको हुँदैन, गौँथलीले मेन्टिसको शिकार गर्छ । नेताको झगडामा विदेशीले देश नखाऊन् ।

४) मरेका रूखमा नयाँ मुना पलाउँदैनन्, मल नपाएपछि रूख मर्छ । विचारधारा मल हो । वर्तमान राजनीतिक दलमा विचार छ ?

५) अन्तत: जनताले नै देशलाई सही बाटोमा लान्छन् र जनता चेतनशील भएको देश मात्र बाँच्दछ । देश नेता र राजाले जोगाउने भए रोमन साम्राज्य र मगध साम्राज्य अहिले पनि जीवितै हुन्थे ।

६) पुरानो रोगले अल्सर र त्यसपछि क्यान्सर जन्माउँछ ।

७) नदीको सतहमात्र देखिन्छ, तल पिँधमा के छ देखिन्न ।

८) नेपाललाई बनाउन सकिन्छ । तर विचार र काइदा सही हुनुपर्छ । अबको राजनीति सिर्जनात्मक हुनुपर्छ, प्रतिक्रियात्मक होइन । 

डा. युवराज संग्रौला
डा. युवराज संग्रौला

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्