
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारले शुक्रवार मन्त्रिमण्डल विस्तार गरेको छ । मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेससहित माओवादी केन्द्रका गरी ६ जना मन्त्री थपेका हुन् ।
यसअघि गत जेठ २९ मा मुख्यमन्त्री नियुक्त पोखरेलले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का गरी ५ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।
शुक्रवार मन्त्रीको शपथ लिनेहरूमा माओवादी केन्द्र र कांग्रेसका ३–३ जना छन् ।
माओवादीको भागमा परेको अर्थ मन्त्रालयमा रामजी बराल जीवन, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयमा दीपक थापाले शपथ लिए ।
यस्तै, कांग्रेसबाट कास्कीका बिन्दुकुमार थापा कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् भने स्याङ्जाका मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रीको शपथ लिए ।
बागलुङका मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बने ।
यसअघि माओवादीबाट मधु अधिकारी गुरुङ स्वाथ्य तथा जनसंख्या मन्त्री बनिसकेकी छन् । माओवादीबाट जिल्लागत रुपमा बराल कास्की, चन्द्रबहादुर बागलुङ, दीपक स्याङ्जा र मधुमाया लमजुङकी हुन् ।
कांग्रेसबाट यसअघि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बनेका कुमार खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय सुम्पिएको छ । कास्की जिल्ला निवासी उनी सरकारका प्रवक्ता समेत हुन् ।
पूर्व सहमतिअनुसार जसपाले २ मन्त्रालय पाउने भनिए पनि जसपाका हरिशरण आचार्य मात्रै मन्त्री बनेका छन् । यसअघि नै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा लिएका उनी शुक्रवारको शपथ समारोहमा भने आएनन् ।
यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) युवा तथा खेलकुद मन्त्री छन् ।
सत्तारुढ नेपाली कांग्रेससँग बिहीवार मन्त्रालय भागबण्डामा सहमति जुटेपछि माओवादी केन्द्रले आफ्नोतर्फबाट मन्त्री चयन गरेको हो ।