
कैलालीमा माटो परीक्षण प्रयोगशाला स्थापना भएको ४ वर्षभन्दा बढी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानमा जिल्लाको कैलारी गाउँपालिका–८ पृथ्वीपुरमा प्रयोगशाला स्थापना भएको हो तर व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी लिएको स्थानीय अँखुवा कृषि सहकारी संस्थाले गैरजिम्मेवार बन्दा स्थापनाकालदेखि नै बन्द रहेको छ ।
२०७३ पुस ६ गते शुरू भएको परियोजना अन्तर्गत माटो परीक्षण सूक्ष्म प्रयोगशाला (मिनी ल्याब) पनि स्थापना भएको गरिएको थियो । स्थापनासँगै माटोको गुणस्तर परीक्षण गरी कृषि उत्पादनमा वृद्धि ल्याउने उद्देश्य राखिएको थियो ।
परियोजना कार्यान्वयन इकाई सञ्चालक समितिका सचिव अजित चौधरीले हालसम्म पनि सञ्चालनमा नआउँदा एकातिर लाखौंको यन्त्र उपकरणहरू प्रयोगविहीन भएका र अर्कोतिर स्थानीय कृषकले माटो परीक्षण गर्नबाट वञ्चित हुनुपरेको बताए ।
उनले भने, ‘कृषि आधुनिकीकरणमा प्रयोगशालाको ठूलो महत्त्व रहन्थ्यो । यसमा राज्यको ठूलो लगानी लागेको छ तर सञ्चालकहरूको कमी कमजोरीले स्थापनाकालदेखि नै बन्द छ ।’ प्रयोगशाला सञ्चालनमा ल्याएर माटो परीक्षणप्रति किसानलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।
कूल २० लाख ९४ हजार लागतमा स्थापना गरिएको प्रयोगशालामा ८५ प्रतिशत लगानी परियोजनाकै छ । जहाँ ५ दर्जन बढी यन्त्र उपकरण रहेका छन् तर गाउँघरमै रहेको प्रयोगशाला सञ्चालनमा नल्याउँदा स्थानीय कृषकले माटो परीक्षण गर्न कञ्चनपुरस्थित बाली संरक्षण प्रयोगशाला सुन्दरपुर जानुपर्ने बाध्यता रहेको पृथ्वीपुरका भलमन्सा मायाराम चौधरीले बताए ।
सहकारीले केही उपकरण अपुग भएको, जनशक्ति अभाव र किसानमा अझै पनि शुल्क तिरेर परीक्षण गराउनुपर्छ भन्ने बानीको विकास नभएकाले सञ्चालन गर्न नसकेको दाबी गरेको छ ।
सहकारीका सचिव हेमराज ढुंगानाले शुरूमा निःशुल्क परीक्षण गर्दा केही नमूना जाँच गरिएको र पछि थोरै शुल्क लिन थालेपछि किसानले माटोको नमूना नल्याउँदा बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
उनले भने, ‘माटोको अम्लीय र क्षारीय गुण परीक्षणको प्रतिनमूनाको जाँच शुल्क सरकारले ११२ रुपैयाँ तोकेको छ तर सहकारीले १०० रुपैयाँ लिने निर्णय गरेको छ । निःशुल्क गर्दा केही आए तर शुल्क लिन थालेपछि नमूना आउनै छोड्यो ।’
औजार नभएको अवस्थामा किटको माध्यमबाट परीक्षण गर्न सकिने भए पनि किसानमा परीक्षण शुल्क तिर्ने बानीको विकास नहुँदा समस्या भएको उनको भनाइ छ । हालसम्म १५० वटा माटोको नमूना मात्रै परीक्षण गरेको सहकारीले जनाएको छ ।
सहकारीले प्रयोगशाला अझै अधुरो रहेको समेत जिकिर गरेको छ । प्रयोगशालालाई चाहिने केही औजार नभएको र ती औजार खरिद गर्न ६ लाख रुपैयाँसम्म लगानी चाहिने बताइएको छ तर लगानीको अभावसँगै जनशक्ति अभावले सञ्चालनमा समस्या भएको सहकारीका सचिव ढुंगानाले बताए ।
सञ्चालनमा सहयोगको लागि वडा कार्यालयदेखि कैलारी गाउँपालिकालाई समेत अनुरोध गरेको तर सहयोग नहुँदा पनि अप्ठ्यारो भएको सहकारीको भनाइ छ ।
प्रयोगशालामा माटोको अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा नाप्न सकिन्छ, माटोमा भएको जैविक र प्राङ्गारिक गुण समेत यकिन गर्ने सुविधा सञ्चालन गर्न सकिने सहकारीले जनाएको छ ।
प्रयोगशाला सामुदायिक प्रकोप पीडित उद्धारको घरमा स्थापना गरिएको थियो । जिल्ला समन्वय समिति कैलाली तथा केही दातृ निकायको सहयोग र जनश्रमदान गरी साढे १४ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको थियो ।
तर सहकारी निष्क्रिय भएपछि प्रयोगशाला मात्रै प्रयोग भएको छैन । प्रयोगशाला राखिएको सो भवन समेत जीर्ण बनेको छ । मर्मतसम्भार नहुँदा भवनको ठाउँठाउँमा चिरा परेको स्थानीयले गुनासो गरेका छन् ।