वायुसेवा निगममा १०४ दिनदेखि भइरहेको आन्दोलन स्थगित, लयमा फर्कने अपेक्षा

वायुसेवा निगममा १०४ दिनदेखि भइरहेको आन्दोलन स्थगित, लयमा फर्कने अपेक्षा
फाइल तस्वीर।

राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा विगत १०४ दिनदेखि भइरहेको आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण लामो समयदेखि अशान्त रहेको निगम विस्तारै लयमा फर्किने निगमले अपेक्षा गरेको छ ।


Advertisement

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि संस्थालाई निजीकरण गर्न लागिएको भन्दै निगमभित्रका ट्रेड युनियनले आन्दोलन गर्दै आएका थिए । गत असार १८ गतेदेखि असोज २५ गते सोमवारसम्म निरन्तर कार्यालय समयमा धर्ना र नाराबाजी गर्दै विरोध जनाएका थिए ।


Advertisement

नयाँ सडकस्थित निगमको मुख्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हरेक दिन कर्मचारीले धर्नाको कार्यक्रम गर्ने गरेका थिए । झण्डै तीन महिनापछि विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाएपछि निगमभित्रको समस्या किनारा लाग्ने विश्वास गरिएको छ । 

पर्यटनमन्त्री प्रेम आलेले पदवहालीका क्रममा निगमलाई सुदृढ र प्रभावकारी ढंगले अघि बढाउने उद्घोष गरेका थिए । 


Advertisement

सोहीअनुरुप सोमवार मन्त्रालयमा पर्यटनमन्त्री आलेसँग भएको छलफलपछि कर्मचारीले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आफ्ना सबै आन्दोलन स्थगित गरेको मन्त्री आलेलाई जानकारी गराए ।

मन्त्री आले तथा वायुसेवा निगमका कर्मचारीबीच निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमति पश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले जानकारी दिए । 

उनले भने, ‘महाप्रबन्धक र हामी कर्मचारीबीच समस्या समाधान गरिने सहमति भएको छ, मन्त्रीले हामीलाई १५ दिनको समय दिनुभएकाले हामीले आफ्ना आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छौँ ।’ 

नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेलका कारण वायुसेवा निगम घाटामा गइरहेको आरोपसहित कर्मचारीले आन्दोलन गर्दै आएका थिए । 

आन्दोलनका कारण निगमका महाप्रबन्धक पौडेल १०२ दिनदेखि कार्यालय पुग्न सकेका थिएनन् । कर्मचारीको आन्दोलन स्थगित भएसँगै लामो समयदेखि अस्तव्यस्त बनेको निगमको काम कारवाही सहज हुने महाप्रबन्धक पौडेलको भनाइ छ । 

कमेन्ट गर्नुहोस्