२९ असार २०८३, सोमबार
नागरिक उड्डयन प्राधिकरणमा झमेला

क्यानका 'लोभी' महानिर्देशक– उमेरहदले अवकाश पाएपछि पनि पदमा रहिरहन दौडधूप

पुस २६, २०७८
क्यानका 'लोभी' महानिर्देशक– उमेरहदले अवकाश पाएपछि पनि पदमा रहिरहन दौडधूप

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री ऐन र नियमावलीलाई पन्छाउँदै महानिर्देशकको पदावधि लम्ब्याउन दौडधूपमा लागेका छन् ।

क्षेत्री आफ्नो पदावधि लम्ब्याउन कानूनी उपचारको बाटोमा लागेका हुन् । उनले शुक्रवार अदालतबाट अन्तरकालीन अन्तरिम आदेश ल्याएर आफ्नो पदावधि एक साता लम्ब्याइसकेका छन् । 

थप अवधि लम्ब्याएर चार वर्ष पुर्‍याउन क्षेत्रीले अदालतको ढोका ढक्ढक्याएका हुन् ।

मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर क्षेत्रीले दायर गरेको यो मुद्दामा सर्वोच्चले पुस ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

त्यतिञ्जेलसम्म क्षेत्रीलाई नहटाउन सर्वाेच्चले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चको अन्तरिम आदेश

प्राधिकरणमा ३२ वर्ष सेवा गरेका क्षेत्री मूल ढोकाबाटै प्रवेश गरेर साढे दुईमहिना महानिर्देशक भए ।

उमेर हदका कारण २३ पुस (शुक्रवार)देखि अवकाश पाएका क्षेत्रीले कानूनी छिद्रको प्रयोग गर्दै झ्यालबाट प्रवेश गरेर पदावधि बढाउन खोजिरहेका हुन् ।

क्षेत्रीलाई सरकारले ८ कात्तिक २०७८ मा महानिर्देशकमा नियुक्त गरेको थियो ।

नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ बमोजिम प्राधिकरणको रिक्त महानिर्देशक पदमा नियुक्त गरिएको थियो ।

प्राधिकरण ऐन अनुसार प्राधिकरणकै १२ औं तहमा कार्यरत वा सरकारी सेवामा रहेका कर्मचारीलाई महानिर्देशकमा नियुक्त गर्ने व्यवस्था छ । 

उक्त व्यवस्थाअनुसार महानिर्देशकको पदावधि चार वर्षको हुने उल्लेख छ । तर, क्षेत्री उमेर हदका कारण अवकाश पाउने अन्तिम दिन मात्रै अदालत गएका छन् ।

प्राधिकरण अन्तर्गतका कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५६ अनुसार १२ औं तहको पदमा ६ वर्ष, महानिर्देशक भएको ४ वर्ष वा ५८ वर्षको उमेर हद जुन छिटो हुन्छ, सो अनुसार अवकाश पाउने व्यवस्था स्पष्ट छ ।

क्षेत्रीले उमेर हदका कारण अवकाश पाइसकेकाले अब नेपाल सरकारले पुनः नियुक्त गरेमा मात्र उनी महानिर्देशक रहन सक्ने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

क्षेत्रीले भने सरकारले आफूलाई चार वर्षका लागि नियुक्त गरेकाले चारै वर्ष महानिर्देशकको जिम्मेवारी पाउनुपर्ने दाबी गरेका छन् ।

शुक्रबारबाट उमेरहदका कारण अवकाश पाएसँगै प्राधिकरणको कर्मचारी नभएको र सरकारले नियुक्त गरेको हुँदा चार वर्ष नै आफूले काम गर्न पाउनुपर्ने तर्क गरेर अदालत गएको पनि उनले बताएका छन् । 

क्षेत्रीले अदालतले गर्ने फैसला नै अन्तिम हुने भएको हुँदा सो बाहेक अरू बाटो बन्द भएको तर्क पनि दिएका छन् । 

वरिष्ठलाई पन्छाएर कनिष्ठलाई जिम्मेवारी

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले वरिष्ठलाई पन्छाएर कनिष्ठ कर्मचारीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका छन् ।

आइतवारको मन्त्रीस्तरीय निर्णयबाट १२ औं तहमा कार्यरत कनिष्ठ उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

पर्यटन मन्त्रालयका सहप्रवक्ता टेकनारायण पौडेलका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निमित्तको जिम्मेवारी दिइएको हो ।

प्राधिकरणको १२ औं तहका सबै महानिर्देशकका लागि योग्य भएको र निमित्त वरिष्ठलाई नै दिनुपर्छ भन्ने कुनै कानूनी व्यवस्था नभएको तर्क पौडेलले गरे ।

क्षेत्रीले अवकाश पाएपछि प्राधिकरणको दैनिक कामकाज नरोक्न निमित्तको जिम्मेवारी तोकिएको भएपनि सोमवार नै अदालतको आदेश आइसकेकाले अब त्यही आदेश कार्यान्वयन हुने पौडेलले बताए । 

प्राधिकरणका उपमहानिर्देशकमा ठाकुर प्राधिकरणकै रोलक्रम अनुसार सबैभन्दा कनिष्ठ हुन् । उनी भन्दा माथि पाँच जना वरिष्ठ उपमहानिर्देशक छन् ।

प्राधिकरणका अनुसार १७ मंसिर २०७७ मा उपमहानिर्देशक भएका भोलाप्रसाद गुरागाईं सबैभन्दा वरिष्ठ हुन् । 

त्यसपछि सोही दिन १२ औं तहमा नियुक्त भएका प्रतापबाबु तिवारी छन् ।

प्राधिकरणका अनुसार १५ पुसमा १२ औं तहमा नियुक्त भएका चारजना उपमहानिर्देशकमा वरिष्ठताका आधारमा हंशराज पाण्डेय, देवचन्द्रलाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर रहेका छन् ।

उमेरहदमा भने सबैभन्दा कम सेवा रहने उपमहानिर्देशमा भोलाप्रसाद छन् । उनको पदावधि फागुन १७ सम्म मात्रै छ । त्यसपछि कम सेवा अवधि गोविन्द दाहालको २२ फागुन २०७९ सम्म छ ।

अन्य उपमहानिर्देशकहरू भने महानिर्देशक भएमा ४ वर्षे कार्यकाल पूरा गर्न पाउने अवस्था छ ।

नियुक्तिमा स्पष्ट व्यवस्था नहुँदा चलखेलको बाटो खुला

प्राधिकरण ऐन तथा नियमावलीमा नै स्पष्ट व्यवस्था नहुँदा चलखेलको बाटो खुला भएको पाइन्छ । 

ऐन नियम बनाउँदा स्पष्ट व्यवस्था गर्ने र कानूनी छिद्रको प्रयोग गर्न दिने सम्भावना नै हटाएको अवस्थामा मात्रै सरकारले नै चलखेल गर्ने, अधिकार खोज्ने, मनलाग्दा राख्ने र नचाहँदा हटाउने गरिएको पूर्व सचिव विमल वाग्ले बताउँछन् । 

यस सम्बन्धमा कानूनी व्यवस्था थोरै अस्पष्ट हुँदा त्यसैमा टेकेर क्षेत्रीले ४ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने माग गरेको वाग्लेले बताए ।

‘अवकाश पाएपछि प्राधिकरणको कर्मचारी नहुने हुँदा बाँकी अवधि सरकारी नियुक्तिमा नै निरन्तर रहन खोजेको देखिन्छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्