११ साउन २०८३, सोमबार
चरम मूल्यवृद्धिले जन्माएको प्रश्न

इन्धन आयात घटाउने बहस– जोरबिजोरका नाममा सास्ती दिने कि विद्युतीय सवारीमा जोड ?

फागुन २७, २०७८
इन्धन आयात घटाउने बहस– जोरबिजोरका नाममा सास्ती दिने कि विद्युतीय सवारीमा जोड ?

रसिया–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई दिनअघि मात्रै प्रति ब्यारेल १२३ डलर पुगेको छ ।

बिहीवार ११९ डलर प्रतिब्यारेल कायम रहेको कच्चा तेलको मूल्यमा दैनिक घटबढ भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेकै कारण नेपालमा पनि यसको प्रभाव परिरहेको छ । 

रसिया र युक्रेन युद्धका कारण तेलको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।

आयल निगमले अहिले पनि हरेक १५ दिनमै २ अर्ब ५० करोड घाटा खाइरहेकाले अझै घाटा हुने र घाटा कम गर्न तेलको मूल्य बढाउनुपर्ने तर्क गरिरहेको छ ।

अमेरिका र साउदी अरेबियापछि रुस तेस्रो धेरै तेल उत्पादन गर्ने राष्ट्रमा हो । रुसले हरेक दिन ५० लाख ब्यारेल तेल उत्पादन गर्छ । त्यसको ३० प्रतिशतभन्दा बढी निर्यात यूरोपेली मुलुकलाई गर्ने गरेको छ ।

तेलको मूल्य बढेर आयातमा धेरै रकम विदेशिएपछि नियन्त्रणको विषयमा बहस पनि भइरहको छ । सरकारले विद्युतीय गाडीलाई प्रवद्र्धन गर्ने, नवीकरणीय ऊर्जामा जोड दिने, विद्युत् खपत बढाउने र आम उपभोक्तालाई प्रत्यक्ष सम्बोधन गर्ने गरी बिजुलीमा राहत दिएर पेट्रोलको खपत घटाउन सक्छ ।

यस्तो विकल्पमा भने सरकार गम्भीर नभएको र कर उठाउनमै केन्द्रित हुँदा महंगीमा पनि उपभोक्ताले राहत पाउन नसकेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

बुधवार मात्रै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको खपत घटाउने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले सवारी साधनमा जोर/बिजोर प्रणाली लागू गर्नेदेखि इन्धन बिक्रीमा कोटा तोक्नेसम्मको निर्देशन दिएको छ ।

समितिले भारतीय सवारी साधनलाई नेपालमा इन्धन भर्न रोक लगाउनेसम्मको उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । 

नेपालबाट दैनिक रूपमा बाहिरिने गरेको डेढ खर्ब रूपैयाँको आयात कम गर्ने गरेको छ । यस्तो आयातको सबैभन्दा महत्त्वपूर्ण हिस्सा पेट्रोलियम पदार्थको छ । 

पेट्रोलियम पदार्थ आयातको विकल्प खोज्न सरकारलाई बुधवार मात्रै संसदीय समितिले निर्देशन दिएको छ । नेपालमा मासिक २६ अर्ब रुपैयाँभन्दा बढीको इन्धन आयात हुन्छ । भन्सार विभागको तथ्यांकअनुसार नै नेपालमा चालू आवको पहिलो सात  महिनामा १ खर्ब ८२ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । 

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अहिले खरिद गरेर बेचेकै मूल्यमा अब इन्धन बिक्री गर्न सक्ने अवस्था छैन ।

निगमले तेल किनेर बेच्दा इन्डियन आयल कर्पोरेसनलाई जसोतसो भुक्तानी गरिरहेको भएपनि पछिल्लो १५ दिनदेखि भने घाटाकै कारण भुक्तानीका लागि समेत आवश्यक जोहो गर्न सकेको छैन । पछिल्लो समय इन्धनमा भएको अधिक खर्च र अन्तर्राष्ट्रिय स्तरमा मूल्य बढेर आएका कारण निगम घाटामा छ । निगमले अहिले पनि मासिक ५ अर्ब रुपैयाँ घाटा खाएर इन्धन बिक्री गरिरहेको तथ्यांक सार्वजनिक गरेको छ ।

निगमले यसअघि जम्मा गरेको सञ्चित कोषको रकम रित्तिएको छ भने सरकारले सहयोग नगरे इन्धनको पैसा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको बताएको छ । 

अन्तर्राष्ट्रिय बजारमा ९५ देखि १०० डलर प्रतिब्यारेल मूल्य हुँदा निगमले पाएको दरमा मात्रै निगमलाई अहिले हरेक १५ दिनमा साढे २ अर्ब रुपैयाँ घाटा छ । 

अहिले तेलको मूल्य बढेर अन्तर्राष्ट्रिय बजारमा ११५ डलरभन्दा माथि पुगिसकेकाले अब निगमले पाउने मूल्य झनै बढेर आउँछ ।

इन्धनमा घाटा कम गर्न मूल्य बढाउने वा सरकारले घाटा हुने रकम पूर्ति गरिदिनुपर्ने बाहेकको विकल्प नदेखिएको आयल निगमका प्रवक्ता उपाध्यायको भनाइ छ । 

अझै इन्धनको मूल्य बढिरहेकाले निगमलाई मासिक १० अर्ब रुपैयाँ घाटा हुने अवस्था आउन सक्ने देखिएको छ । उक्त घाटा पूर्ति गर्ने गरी योजना बनाएर जानुपर्ने उपाध्यायको भनाइ छ ।

निगमले १५ दिन पहिले आईओसीलाई तेलको पैसा भुक्तानी गर्न नसकेपछि सरकारसँग ५ अर्ब रुपैयाँ मागेर काम चलाएको थियो ।

अहिलेको अवस्था अनुसार अझै मूल्य उकालो लागेर गइरहेकाले अबको ५ दिनपछि नै निगमलाई अर्को १० अर्ब आवश्यक पर्न सक्छ ।

इन्धन आयात घटाउन सरकारले अनुदान दिने, ऋण दिने, कर घटाउने वा कुनै न कुनै विकल्प दिनुपर्ने हुन्छ । 

उपभोक्तालाई कुनै पनि हालतमा सास्ती दिन पाइँदैन –अधिकारकर्मी

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर वा लाइनमा लगाएर उपभोक्तालाई सास्ती दिन नपाउने उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन् ।

उनले भने, ‘सरकारले पेट्रोलियम पदार्थमा अधिक कर असुलिरहने, बिक्रेतालाई कमिसन बढाएर बाँढिरहने अनि आयाल निगमले घाटाको नाममा मूल्यवृद्धि गरिरहने कुरा आपत्तिको विषय हो ।’ 


सरकारले विकल्प खोज्ने नाममा कम आयात गर्ने, कोटा प्रणाली लागू गर्ने भन्दै उपभोक्तालाई त्रसित बनाउने र दुःख दिने नियत देखाएको र यस्तो कदम कुनै पनि हालतमा स्वीकार्य नहुने बानियाँको भनाइ छ ।

बानियाँले भने ‘आयल निगमले ९३ रुपैयाँमा किनेको पेट्रोल १५० मा बेच्दा कसरी घाटा लाग्छ ?’ अनावश्यक रूपमा कर थोपरेर घाटा देखाउने काम बन्द हुनुपर्ने उनको माग छ ।

बरु दीर्घकालीन रूपमा यो समस्या हल गर्नका लागि विद्युतीय सवारीको प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

विद्युतीय चुल्होको प्रवद्र्धन गर्ने र कम तेल खपत गर्ने गरी योजना तत्काल बनाउनुपर्ने आशयले उक्त निर्देशन सरकारलाई दिएको र सोही अनुसार कार्यान्वयन हुन्छ भनेर बुझिएको पनि उपभोक्ता अधिकारकर्मी बानियाँको भनाइ छ ।

इन्धनको खपत घटाउन र विकल्प खोज्न सरकार गम्भीर नभएको आरोप उनले लगाए । 

salt training

कमेन्ट गर्नुहोस्