माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
युक्रेनमाथि रुसले आक्रमण गरेको चौथो हप्ता चलिरहँदा युद्ध अन्त्य गर्नका लागि विभिन्न पहल भइरहेका छन् ।
अमेरिका र पश्चिमले युद्धलाई कूटनीतिक पहलका साथ टुंग्याउन कुनै प्रयास नगरेको, उल्टो हातहतियार दिएर युद्ध चर्काउन खोजेको भए पनि इजरायल र टर्कीले वार्ताका लागि भित्रभित्रै सघन प्रयत्न गरिरहेका छन् ।
रुस र युक्रेनका प्रतिनिधिहरू आफैंले पनि धेरैपटक प्रत्यक्ष तथा भर्चुअल माध्यममार्फत भेटेर कुराकानी गरिरहेका छन् । युद्धमा फसेका सर्वसाधारणलाई सुरक्षित निर्गमनका लागि भएका सहमति कार्यान्वयन भइरहेका छन् । तर युद्धविराम गर्ने विषयमा सहमति जुट्न सकेको छैन ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले वार्तामार्फत सहमति बनाएर मात्र युद्ध अन्त्य गर्न सकिने बताएका छन् । जतिसुकै अप्रिय भए पनि सहमति गरेर निर्दोष मानिसहरूको जीवन बचाउनु प्राथमिकतामा रहेको उनको भनाइ छ ।
रुसले पनि वार्ता र सहमतिका लागि आफू तयार रहेको तर युक्रेनी सेनाको असैन्यीकरण र नाजीविहीनीकरणको लक्ष्य पूरा गरिछाड्ने बताएको छ । युद्ध अन्त्य गर्नका लागि उसले युक्रेनसमक्ष विभिन्न शर्त तेर्स्याएको छ ।
प्रमुख शर्त यसप्रकार छन् ः १) युक्रेन पूर्ण तटस्थ बस्नुपर्ने अर्थात् पश्चिमी सैन्य गठबन्धन नेटोको सदस्य बन्न नहुने । २) युक्रेनमा रुसी भाषालाई पुनः मान्यता दिँदै रुसीभाषीहरूको युक्रेनीकरणलाई अन्त्य गर्नुपर्ने । ३) क्राइमियालाई रुसको भूभागका रूपमा मान्यता दिनुपर्ने । ४) डोनबास क्षेत्रमा रहेको डोनेत्स्क र लुगान्स्क जनगणतन्त्रको सार्वभौमसत्ता र स्वतन्त्रतालाई स्वीकार गर्नुपर्ने । ५) डोनबास गणतन्त्रहरूको मूल सीमाक्षेत्र (जसमा मारिउपोल जस्ता बन्दरगाह शहर पनि पर्छन्) कायम गर्नुपर्ने । ६) रुसले स्वीकार गर्ने हदमा युक्रेनका सशस्त्र बलहरूको संख्याको उच्चतम सीमा कायम गर्नुपर्ने । ७) गोप्य रूपमा आणविक हतियार कार्यक्रम अघि बढाउन नहुने । ८) विदेशी सेना र हातहतियार आफ्नो भूमिमा राख्न दिन नहुने ।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई नेटोमा प्रवेश गराउनका लागि पैरवी नगर्ने भनिसकेका छन् । अन्य शर्तका विषयमा पनि उनले कुराकानी गर्न सकिने बताएका छन् । मुख्य कुरो युक्रेनको तटस्थ हैसियतका विषयमा अड्केको छ अनि युक्रेनी सेनाको संख्या निर्धारणको विषय पनि पेचिलो छ ।
वास्तवमा रुसका यी दुई शर्तले युक्रेनको स्वतन्त्र परराष्ट्र तथा रक्षानीतिमा हस्तक्षेप गरेको युक्रेनको बुझाइ छ । एक सार्वभौमसत्तासम्पन्न राष्ट्रको हैसियतमा कुन देश वा संगठनसँग गठबन्धन गर्ने आफ्नो स्वतन्त्रताको विषय भएको युक्रेनको भनाइ छ । अनि सेना यति वा उति हुनुपर्ने भनेर रुसले रक्षानीतिमा समेत हस्तक्षेप गर्न खोजेको युक्रेनको बुझाइ छ ।
तर युक्रेनसँग धेरै विकल्प बाँकी छैनन् । उसका तथा पश्चिमका सञ्चारमाध्यमहरूले जतिसुकै झूटो तस्वीर प्रस्तुत गरेको भए पनि वस्तुतः रुसी सैनिकहरू युक्रेनका महत्त्वपूर्ण रणनीतिक स्थानलाई नियन्त्रणमा लिन सफल हुँदै गएका छन् । हुँदाहुँदा युक्रेनले आजोभ सागरसम्मको पहुँच समेत गुमाइसकेको छ ।
रुस र युक्रेनबीच भएको मिन्स्क सम्झौतालाई युक्रेनले पालन गरेको भए यो स्थिति नै आउँदैनथियो । तर रुसलाई चरम घृणा गर्ने अमेरिकी तथा पश्चिमी शक्तिहरूको लहलहैमा लागेर अनि उग्रराष्ट्रवादलाई प्रवर्धन गरेर युक्रेनले रुसीभाषीहरूलाई पर्याप्त स्वायत्तता दिलाउने मिन्स्क सम्झौतालाई लत्यायो । फलस्वरूप अहिले ठूलो धनजनको क्षति हुने गरी युद्धको चपेटामा युक्रेन पर्नुपरेको छ ।
रुसले युक्रेनलाई फिनल्यान्ड, अस्ट्रिया वा स्विडेन जस्तो तटस्थ रहनका लागि आह्वान गर्नु तर्कसंगत देखिन्छ । युरोपेली संघ (ईयू) का सदस्य राष्ट्र भए पनि यी मुलुकहरू नेटोका सदस्य भने हैनन् ।
सन् २००९ देखि लागू गरिएको लिस्बन सन्धिको धारा ४२.७ ले ईयूका सदस्य मुलुकहरूमध्ये कुनै एक आक्रमणमा परेमा सहायता गर्नुपर्ने दायित्व युरोपेली संघका मुलुकहरूलाई दिएको छ । तर त्यो नेटोको धारा ५ जस्तो सैन्य सहयोग गर्नुपर्ने दायित्व हैन ।
माथि उल्लेख गरिएका तीन मुलुक नेटो सहित कुनै पनि सैन्य गठबन्धनमा आबद्ध छैनन् । त्यसो त रुसले युक्रेनमाथि आक्रमण गरेपछि यी मुलुकहरूले आफ्नो सुरक्षाका लागि नेटो आवश्यक छ कि भन्ने अनुभव गरेका चाहिँ छन् ।
हुँदाहुँदा फिनल्यान्ड र स्विडेनले युद्ध गरिरहेका मुलुकलाई हतियार नपठाउने आफ्नो नीति त्यागेर युक्रेनलाई असल्ट राइफल र एन्टी–ट्यांक हतियार पठाएका पनि छन् । यसका बावजूद, यिनीहरूले सजिलै सैन्य गठबन्धनमा नरहने हदसम्मको तटस्थताको नीति परित्याग गर्ने देखिँदैन ।
दोस्रो विश्वयुद्धको बेलामा फिनल्यान्डले तत्कालीन सोभियत संघसित दुईपटक युद्ध गरेको थियो । तर त्यसपछि उसले सैन्य गठबन्धनमा नबसी व्यावहारिक परराष्ट्रनीति अपनाउँदै मस्कोसँग राजनीतिक तथा आर्थिक सम्बन्ध कायम गरेको थियो । फिनल्यान्ड वास्तवमा तटस्थ र मध्यवर्ती (न्युट्रल बफर) बनेर आर्थिक उन्नतिको बाटोमा लागेको हो ।
युक्रेनले पनि यसै गरे हुन्थ्यो भन्ने रुसको चाहना देखिन्छ । अमेरिकाका पूर्व परराष्ट्रमन्त्री हेनरी किसिन्जरले युक्रेनलाई फिनल्यान्ड जस्तो तटस्थ रहन केही वर्षअघि सल्लाह दिएका पनि हुन् । तर पश्चिमी भड्काउमा लागेका युक्रेनी उग्रराष्ट्रवादीहरूले किसिन्जरको व्यावहारिक सल्लाह मानेनन् ।
युक्रेनले मेक्सिकोबाट पनि गतिलो पाठ सिक्न सक्ने देखिन्छ । युक्रेन आक्रमणपछि रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकाले विभिन्न देशलाई दबाब दिएको भए पनि मेक्सिकोले स्वतन्त्र परराष्ट्रनीति अपनाउँदै त्यस्तो प्रतिबन्ध लगाएन ।
अनि मेक्सिकोले अमेरिकी नेतृत्वको खुला व्यापार सम्झौता युनाइटेड स्टेट्स–मेक्सिको–क्यानडा अग्रीमेन्ट (यूएसएमसीए जुन पुरानो नेफ्टाको नयाँ रूप हो) मा हस्ताक्षर गरेको छ । तर अमेरिका र क्यानडाले हस्ताक्षर गरेको नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमान्ड (नोराड) नामक रक्षा सम्झौतामा चाहिँ मेक्सिको जोडिएको छैन ।
अर्थात्, उत्तर अमेरिकामा मेक्सिको आर्थिक सम्झौताका लागि तयार तर रक्षा सम्झौतामा अनिच्छुक देखिएको छ । यसबाट उसको परराष्ट्रनीति व्यावहारिक तथा यथार्थवादी रहेको पुष्टि हुन्छ । युक्रेनले यस्तै किसिमको नीति अपनाउनु उचित हुनेछ ।
सैन्य गठबन्धन नेटोको सदस्य नबनोस् भनेर नै रुसले युक्रेनको पूर्वी भागमा रहेको डोनबासका दुई क्षेत्र डोनेत्स्क र लुगान्स्कमा चलेको पृथक्तावादी आन्दोलनलाई समर्थन गरेको हो (अहिले त तिनीहरूलाई रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिइसकेको छ) । पहिला जर्जियामा पनि रुसले त्यसैगरी साउथ ओसेटिया र अब्खाजियालाई स्वतन्त्र मुलुकको मान्यता दिएको थियो ।
आफ्नो सम्पूर्ण भूभागमा नियन्त्रण कायम गर्न नसक्ने मुलुकलाई नेटोले सदस्य बनाउँदैन । तर यस्तो स्थितिका बावजूद युक्रेनलाई नेटोको सदस्य बनाउनका लागि युक्रेनी उग्रराष्ट्रवादीहरूले पहल गरिरहेका थिए । त्यसो त युक्रेनको संविधानले नै सरकारलाई नेटोको सदस्य बन्नका लागि प्रयास गरिरहन प्रतिबद्ध बनाउँछ ।
नेटोको सदस्य बन्ने आकांक्षा युक्रेन सरकारले त्यागेको देखिन्छ तर ईयूको सदस्य बन्न चाहिँ ऊ लालायित छ । गत फेब्रुअरी २८ मा युक्रेन सरकारका शीर्ष अधिकारीहरूले ईयूमा युक्रेनको सदस्यताका लागि निवेदनमा हस्ताक्षर गरेका थिए र ईयूलाई नयाँ विशेष प्रक्रियामार्फत तत्कालै दाखिला गराउन अनुरोध गरेका थिए ।
रुसले युक्रेनलाई ईयूको सदस्य बन्नबाट चाहिँ रोक्न खोज्नु गलत हुनेछ । ईयूको विकल्पका रूपमा रुसले ल्याएको युरेसियन इकोनोमिक युनियनप्रति धेरै मुलुकको आकर्षण नदेखिँदा युक्रेन पनि त्यसमा जोडिन चाहेको छैन ।
सैन्य गठबन्धनबाट तटस्थ रहने प्रतिबद्धता युक्रेनले लिएको दिन रुसले उदारता देखाएर युक्रेनलाई ईयूको सदस्य बन्न दिँदा दुवै पक्षका लागि उचित ठहरिनेछ । आखिर अस्ट्रिया, स्विडेन र फिनल्यान्ड जस्ता मुलुक पनि ईयूको सदस्य छन् ।
युक्रेनले राखेको आर्थिक उन्नतिको आकांक्षालाई ईयूको सदस्यताले साकार गर्न सक्छ । तर ईयूले युक्रेनलाई छिटो सदस्य बनाउने विषयमा शंका छ किनकि उसले खोजेको जस्तो सुशासन लगायतको पात्रता युक्रेनमा छैन ।
युद्ध टुंग्याउनका लागि आफ्नो भूमिमा विदेशी सैन्य अड्डा वा हातहतियार नराख्ने रुसी शर्तलाई युक्रेनले मान्न सक्ने संकेत दिएको छ । त्यसको बदलामा उसले अमेरिका र बेलायत जस्ता आणविक हतियार भएका मुलुकबाट सुरक्षाको प्रत्याभूति पनि खोजेको छ ।
रुसले भविष्यमा पुनः आक्रमण नगर्ने सुनिश्चितताका लागि युक्रेनले यस्तो प्रत्याभूति खोजेको हो । रुसले युक्रेनको यो शर्त मान्नु तर्कसंगत ठहरिनेछ किनकि अमेरिका, बेलायत र नेटोका अन्य सदस्यले युक्रेनी भूमि तथा जलक्षेत्रको उपयोग गरेर रुसको भूसुरक्षालाई जोखिममा पर्न रचेको षड्यन्त्र चिर्न ऊ सफल भइसकेको छ ।
युद्ध शुरू गर्न सजिलो छ तर त्यसलाई टुंग्याउन निकै गाह्रो हुन्छ । रुसले पनि युक्रेनमा सोचे जस्तो छिटो सफलता पाइरहेको छैन र आरम्भिक दिनमा उसले गरेका ट्याक्टिकल र अपरेसनल गल्तीहरूका कारण आफ्ना शीर्ष अधिकारी सहित धेरै सैनिकहरूको ज्यान गुमाउनुपरेको छ ।
युक्रेनीहरूले यत्तिको प्रतिकार गर्लान् र जेलेन्स्कीले यस्तो प्रेरणादायी भूमिका निर्वाह गर्लान् भनी रुसले आकलन गर्न नसकेको स्पष्ट छ । तर युद्धमा निकै अघि बढिसकेकाले आफ्नो अभीष्ट पूरा नभइकन बीचैमा फर्कन पनि रुसका लागि प्रतिष्ठाको प्रश्न छ ।
त्यसो त युक्रेनलाई नेटोको सदस्य बन्नबाट रोक्न अनि युक्रेनी भूमिमा विदेशी सैन्य अड्डा र क्षेप्यास्त्र राख्न नदिन आफू सफल भएको भनी पुटिनले रुसी जनतालाई बताउने अवसर पाउन लागेका छन् । त्यसलाई रुसको विजयका रूपमा उनले अर्थ्याउन सक्नेछन् ।
उता जेलेन्स्कीले तटस्थताको बदलामा सुरक्षा प्रत्याभूति प्राप्त गरेमा त्यसलाई विजयका रूपमा प्रस्तुत गर्न सक्छन् । तत्कालै रुसको सैन्य कारवाही टुंगियो भने पनि जेलेन्स्कीलाई युक्रेनी र पश्चिमीहरूले नायकको दर्जा नै दिनेछन् ।
तर सम्झौता हुन नसकेर युद्ध लम्बिइरह्यो भने युक्रेन टुक्रिनेदेखि भूपरिवेष्ठित राज्य बन्न बाध्य हुनेसम्मको स्थिति आउनेछ । त्यस्तो स्थितिमा जेलेन्स्कीलाई इतिहासले सकारात्मक वर्णन गर्ने छैन ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...