२६ जेठ २०८३, मंगलबार
मोही तोकिएको ५२ वर्षसम्म छैन पूर्जा

प्रधानमन्त्री देउवाकै घरजग्गामा तीनपुस्ते 'हलिया', उनकै बेवास्ताले पाएनन् लालपूर्जा !

प्रधानमन्त्री देउवाकै घरजग्गामा तीनपुस्ते 'हलिया', उनकै बेवास्ताले पाएनन् लालपूर्जा !

सरकारले देशैभरबाट हलिया तथा कमैया मुक्तिको घोषणा गरिसकेको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाकै घरजग्गामा तीन पुस्तादेखि १६ दलित परिवार हलिया बसेका छन् । 

उनको जग्गा कमाएका दलितहरू २०२६ सालमा नै मोही किटान भएका थिए, तर लालपूर्जा भने अहिलेसम्म पाएका छैनन् । देउवा पाँचपटक देशको प्रधानमन्त्री भइसकेका छन । देउवा प्रधानमन्त्री रहँदा हलियामुक्ति र मोहियानी हकको एजेन्डामा मन्त्रिपरिषद्ले गर्ने निर्णय प्रक्रियामा पटक–पटक सहभागी पनि छन् । तर, उनकै जग्गामा बसेका हलियालाई भने अहिलेसम्म मुक्त गरेका छैनन् । 

गन्यापधुरा गाउँपालिको रुवाखोलामा देउवाका हजुरबुवाको पालादेखि नै दलित परिवार हलिया बसेका हुन् । देउवाको परिवार पहिलेदेखि नै हुने खानेमा गनिन्थ्यो ।

देउवा परिवारले पुस्तौंदेखि राखेका दलित परिवार हलियाबाट करीब १० वर्ष अगाडिदेखि मुक्त भए । तर, उनीहरूले देउवा परिवारको जग्गा कमाएबापत पाउनुपर्ने मोहियानी हक भने अहिलेसम्म पाएका छैनन् ।

शेरबहादुरका ६ दाजुभाइमध्ये कोही गाउँ छाडेर तराई झरेका छन् त केही काठमाडौंमै घरजग्गा किनेर बसेका छन् । तर, उनकै परिवारमा तीन पुस्ता हलिया बसेका कमैयाले मोहियानी किटान भएको ५२ वर्षसम्म पनि लालपूर्जा पाएका छैनन् ।

यहाँका दलित परिवारले २०२६ असारमै मोहियानी हकको प्रमाणपत्र पाए । तर अहिलेसम्म कसैले पनि त्यो मोहीबाट छुट्टिएको जग्गाको लालपूर्जा भने पाएका छैनन् । ती दलित परिवारले प्रधानमन्त्री देउवाकै बुवा प्रसादसिंहले दिएको प्रतिपरिवार १ रोपनी १३ आना जग्गाको लालपूर्जा मागेको ५ दशक भैसक्यो ।

शेरबहादुरका बुवा र हजुरबुवाले मोहियानीलाई मोही हक त दिए, तर उनीहरूले लालपूर्जा भने अझै पाउन सकेनन् । प्रधानमन्त्री देउवा गाउँमै नफर्कने हुँदा मोहियानी लागेका दलित र गैरदलित परिवारले भेट्नै पाउँदैन । 

चुनावमा भोट हाल्न हेलिकप्टरबाट पुगेको मौका छोपी ४ पटक दलित परिवारले लालपूर्जा दिलाई पाऊँ भन्दै देउवालाई नै सादा बिन्तीपत्र चढाइसकेका छन् । तर, देउवाले चासो नदिँदा हकबाट वञ्चित भएको उनीहरूको गुनासो छ ।

देउवाले एकपटक मौखिक निर्देशन मात्र दिए पनि आफूहरूले लालपूर्जा पाउने उनीहरूको विश्वास छ । तर बेवास्ता गर्दा लालपूर्जाविहीन भएर बस्नुपरेको मोहियानी हकदार मानबहादुर सार्कीले बताए ।

मानबहादुर सार्की

‘देउवाकै कारण हामी कांग्रेस भया हौं । हामीले अहिलेसम्म भोट उनैलाई दिया छौंं । यति जग्गाको लालपूर्जा दिया हुन् भने जिन्दगीभर उनैलाई भोट हाल्न्या थियौं,’ मानबहादुरले भने ।

उनका अनुसार दलित मात्रै नभएर गैरदलित पनि देउवा परिवारको जग्गामा मोहियानी हकदार छन् ।  

मानबहादुरले थपे, ‘हरेकपटक चुनावमा भोट हाल्न मात्रै आउँछन् । यसअघि पनि तीनपटक भोट हाल्न आउँदा हाम्रो समस्या राख्या हौं । देउवाले हुन्छ भन्या हुन्, तर शहर गएपछि बिर्सिगए ।’

मोहियानी हकका अर्का दाबेदार मल्के सार्की पनि लालपूर्जा पाइने आशामा मोहीको कागज देखाउन आइपुगे । देउवाको घर खोज्दै जाने क्रममा बाटोमा भेटिएका उनले छोटो कुराकानीमै आफ्नो समस्या सरकारलाई सुनाइदिन आग्रह गरे ।

मल्के सार्की

देउवासम्म फेरि एकपटक कुरा पुग्यो भने लालपूर्जा पाइन्थ्यो कि भन्ने उनको आशा छ । त्यहीबीचमा हामीलाई केहीबेर रोकेर मोहियानी हकको कागजपत्र देखाउन आइपुगेका थिए, उनी ।

स्थानीय बलबहादुर सार्की पनि देउवासँग कहिल्यै भेट नहुने र आफ्नो आवाज सुनिदिने कोही नभएको दुखेसो गर्छन् । 

उनले भने, ‘वडामा गएर बुझ्दा अधिकार हो, पाइन्छ भन्छन् । लौ दिलाइदिनुस् भन्यो जिल्ला प्रशासन कार्यालय जाऊँ भन्छन् । ऋण धन गरेर जिल्ला प्रशासन गएर सोध्यो माथिको निर्देशन आएको छैन भन्छन् ।’

उनले थपे, ‘हामी गरीब दुःखी कहाँ गएर बौलौं ? कसैले हाम्रो कुरै सुन्दैनन् ।’

बाबुकै नाममा अहिलेसम्म लालपूर्जा नहुँदा छोराहरूलाई गाह्रो परिरहेको मानबहादुरका छोरा श्यामबाहादुरले लोकान्तरलाई बताए । 

छाक टार्न तराईका जिल्लामा दैनिक ज्यालामजदूरी गर्दै आएका उनी आफन्तको बिहेका लागि भनेर गाउँ आइपुगेका रहेछन् ।

‘चुनाव अगाडि के–के न हुन्छ भन्दै भोट हाल्न दौडधूप गर्छौं । भोट हालेर आयो आफ्नो समस्या वर्षौंसम्म जस्ताको तस्तै,’ उनले दुखेसो पोखे ।

पाँचपटक आफ्नै गाउँठाउँका व्यक्ति प्रधानमन्त्री हुँदा पनि आफूले भने उनैबाट पाउनुपर्ने मोहियानी हकको लालपूर्जा नपाएको उनले बताए ।

‘हामीले जान्दादेखि प्रधानमन्त्री हुनुहुन्छ, उहाँ (देउवा) आउँदा भेट्न समेत पाइँदैन,’ श्यामबहादुरले लोकान्तरसँग भने ।

नातामा शेरबहादुरको देउवाको काकी पर्ने राजुदेवी देउवा (६७ वर्ष) ले आफ्नो परिवारको धेरै जग्गा जमिन रहेको र आफूहरूले काम गर्न नसक्दा अधियाँमा कमाउन दिएको बताइन् ।

कति जमिन आफूले काम गर्न नसक्दा बेचेको त कति अधियाँमा कमाउन दिएको उनको भनाइ थियो ।

राजुदेवीका अनुसार शेरबहादुरका बुवाका तीन भाइ थिए । उनीहरू एउटैको भागमा २२ नाल (२२ हल गोरुले जोत्ने) जग्गा परेको उनी बताउँछिन् । 

शेरबहादुरका बुवा प्रसादसिंह गाउँकै धनीमानी मानिन्थे । घरमा घोडा पालेको थिए भने हलिया र कमैयाले सबै काम गरिदिने गरेको पनि उनी सम्झिन्छन् ।

शेरबहादुरका ६ दाजुभाइमध्ये कसको भागमा कति जग्गा पर्‍यो र के गरे भन्ने विषयमा भने आफूलाई थाहा नभएको उनको भनाइ छ ।

देउवाका बुवा र आफूहरूको भागमा परेको जमिन कमाउन दिएको उनले बताइन् । 

‘कित्ना जग्गा कमाउन दिया हौं भन्ने भुलिगयाँ । २२ नाल जमिन एकाका भागमा परियाथ्यो,’ राजुदेवीले भनिन्, ‘अहिले मोहीमा पाया छन्, पूर्जा सरकारले दिया छैन ।’

सरकारले २०६५ सालमा हलिया मुक्तिको घोषणा गर्दै सुदूरपश्चिमका ९ र मध्यपश्चिमका ३ गरी १२ जिल्लामा हलिया मुक्त गरेको थियो ।

यी १२ जिल्लाका १६ हजार ९५३ हलिया परिवारको नाममा रहेको ऋण तत्कालीन सरकारले खारेज गरेको थियो । सरकारले यी हलियालाई चार वर्गमा वर्गीकरण गरेर पुनःस्थापनाको कार्यक्रम ल्याएको थियो । 


मुक्त हलियालाई जग्गा खरिद तथा दर्ता र घर निर्माण तथा मर्मतसम्बन्धी अनुदान उपलब्ध गराएर पुनःस्थापना गर्ने नीति लागू भएको थियो ।

तर देउवाकै परिवारसँग जोडिएका हलियाहरू आजसम्म लापूर्जा नपाएर पीडामा छन् ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्