०२ साउन २०८३, शनिबार

उत्कृष्ट गाउँपालिका कैलारीको चुनावमा प्रतिष्ठाको लडाइ, पुरानै प्रतिस्पर्धी आक्रामक

बैशाख २६, २०७९
उत्कृष्ट गाउँपालिका कैलारीको चुनावमा प्रतिष्ठाको लडाइ, पुरानै प्रतिस्पर्धी आक्रामक

कैलालीको कैलारी गाउँपालिकामा आसन्न निर्वाचनको सरगर्मी निकै चढेको छ ।

उम्मेदवारहरू आफ्नै प्रचार शैलीका साथ मतदाता रिझाउन व्यस्त छन् । बिहान चियाको चुस्कीसँगै शुरू हुने विभिन्न उम्मेदवारको घरदैलो अभियान अबेर रातिसम्म चल्छ ।

सरकारको प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार कैलारी गाउँपालिका ७६.४९ अंक प्राप्त गरी मुलुककै उत्कृष्ट पाँचौं पालिकामध्ये परेको छ । जसको नेतृत्वका लागि उम्मेदवारबीच प्रतिष्ठाको लडाइ देखिएको छ । 

२०७४ सालको निर्वाचनताका प्रतिपस्पर्धा गरेका प्रतिस्प्रर्धी नै मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लाजुराम चौधरी ६ हजार २०४ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजसमझ चौधरी ५ हजार ८८७ मतमा सीमित हुन पुगे । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार होमबहादुर गुरुङले २ हजार ७८३ मत प्राप्त गरेका थिए । 

तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार कलेसुराम चौधरी २ हजार ४२३ मत, तत्कालीन नयाँ शक्ति पार्टीका गंगा चौधरीले २ हजार ७० मत र नेकपा एमालेका रामप्रसाद चौधरीले १ हजार ६२२ मत प्राप्त गरेका थिए ।

२०७९ वैशाख ३० गते हुने निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । अघिल्लो निर्वाचनका अधिकांश प्रतिस्पर्धीहरू हाल दोहोरिएका छन् । 

निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका लाजुराम चौधरी तथा उनको पार्टी नेकपा माओवादी केन्द्र कुनै पनि हालतमा आफ्नो विरासत जोगाउने कसरतमा छ । पुनः उम्मेदवारी दिएका नेपाली कांगेसका उम्मेदवार राजसमझ चौधरी जसरी पनि जित्नुपर्ने भन्दै लागि परेका छन् ।

माओवादी र कांग्रेस एकअर्काविरुद्ध आक्रमक ढंगले चुनावी प्रचारमा छन् । सत्तारुढ गठबन्धनभित्रका दलमध्ये माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाउने सहमति भएको थियो तर कांग्रेसले सहमति नमानेपछि माओवादी केन्द्रले धोकाका रूपमा लिएको छ ।

गाउँपालिकास्थित विपतपुर मुक्तकमैया शिविरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद वीरमान चौधरीले कांग्रेसले बागी उम्मेदवारी दिन लगाएर कैलारीमा घात गरेको बताए । यद्यपि आफूहरूको जीत सुनिश्चित हुने धेरै आधार रहेको उनले बताए ।

नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरीले स्थानीय माओवादी केन्द्र र कांग्रेसबीचको सहमति अनुसार आफूहरू मित्रवत प्रतिस्पर्धामा गएको स्पष्ट पारे । अघिल्लो निर्वाचनमा आफूले हार व्यहोरेको बताउँदै उनले हारलाई उल्ट्याएरै छाड्ने बताएका छन् । यहाँको विकास र समृद्धिका लागि विभिन्न एजेण्डासहित चुनावमा होमिएको उनले बताए ।

टोलटोलमा बंगुर पार्टी दिन थालियो : गुरुङ

अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार गुरुङले पनि अध्यक्ष पदमा उम्मेदवारी दिई मैदानमा होमिएका छन् । गाउँपालिकामा त्रिकोणात्मक प्रतिस्पर्धा रहेको बताउँदै उनले अरु दलमाथि निषेधको रणनीति अपनाएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘वडा नम्बर १ र ३ का मेरा कार्यकर्तालाई नियन्त्रणमा लिने, राति–राति बंगुर, खसी काटेर भोज दिने काम कांग्रेसले गरिरहेको छ । निकै भड्किलो चुनावी प्रचारशैली कांग्रेसको छ । माओवादीको पनि धम्कीपूर्ण प्रचारशैली छ ।’

गुरुङले आफ्नो प्रतिष्ठाको लडाइभन्दा जनताको आवश्यकताको आधारमा आफ्नो उम्मेदवारी रहेको दाबी गरे ।

माओवादी केन्द्रका उम्मेदवार समेत रहेका निवर्तमान गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकालाई मुलुककै नमूना गाउँपालिका बनाउन आफूहरू सफल भएको बताउँदै ग्रीन र स्मार्ट गाउँपालिका बनाउने अवधारणाका साथ विभिन्न अग्रगामी विकासका एजेण्डाका साथ पार्टीले पुनः आफूलाई दोहोर्‍याएको बताए ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित ५ वडामा जितेको थियो । ९ वडा रहेको गाउँपालिकाको २ वडा कांग्रेस, १ वटा वडामा तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिक र १ वडामा स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्