
२०७४ सालमा स्थानीय सरकार गठनलगत्तै विभिन्न चोकमा रहेका शालिक व्यवस्थापन गर्ने क्रममा पोखराको सराङकोट क्षेत्रमा राष्ट्रिय विभुति तथा शहीद पार्क निर्माण कार्य शुरू भयो ।
स्मार्ट सिटीको अवधारणा र सडक चक्लाबन्दीका लागि पोखरा महानगरपालिकाभित्र विभिन्न चोकमा रहेका करीब १ दर्जन शालिकसहित राष्ट्रिय विभुति र शहीदका मूर्ति स्थापना गर्न पार्क बनाइयो ।
हरेक वर्ष बजेट विनियोजन गर्ने गरी पोखरा महानगरपालिका कार्यपालिकाको बैठकको पार्क बनाउने निर्णय गरेको थियो । पार्कमा तत्कालै राजा पृथ्वीनारायण शाह, शहीद लखन थापा, जनआन्दोलन–२ का प्रथम शहीद भीमसेन दाहाल लगायत ४ जनाका मूर्ति बनाइयो ।
तर विभुति तथा शहीदका लागि पछिल्लो २ वर्षदेखि न कुनै बजेट विनियोजन भयो, न त बजार चोकका मूर्ति स्थानान्तरण नै गरियो । बरु पार्कमा आ–आफ्ना नेताका मूर्ति बनाउने होडबाजी राजनीतिक दलबीच चलिरहेको छ ।
विभिन्न फरक–फरक राजनीतिक दलसम्बद्ध संघसंस्थाले कुनै सम्बन्धित निकायको अनुमति विना नै जग्गा ओगट्दै होर्डिङ बोर्ड राखेका छन् । मूर्ति बनाउन दिने/नदिने वा ओगटेको जग्गा फिर्ता लिने/नलिने भन्ने विषयमा निर्णय गर्ने प्रक्रियाबारे महानगरपालिका अन्योलमा परेको छ ।
पोखरा महानगरपालिकाको कार्यपालिका बैठकको निर्णय बमोजिम पोखरा–१८ को करीब ६० रोपनी जग्गामा गण्डकी प्रदेशकै सम्पूर्ण शहीद, विभुति र ४ राष्ट्रिय शहीदका मूर्ति बनाउने योजनाका साथ ३ वर्षअघि पार्क बनाइएको हो । पार्कमा मुस्किलले ४ वटा मूर्ति बने ।
त्यसपछि कसको मूर्ति बनाउने, कसको नबनाउने भन्ने विषयमा राजनीतिक दलहरूबीच अनौपचारिक शितयुद्ध चल्न थाल्यो । जसका कारण करीब वर्ष दिनदेखि नै पार्क निर्माणका सम्पूर्ण काम ठप्प छन् ।
पोहोर साल पार्कमा नेपाली कांग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालाको मूर्ति बनाउने भन्दै जीपी कोइरालाइ फाउन्डेसनले होडिङ बोर्र्ड टाँस्यो । त्यसलगत्तै कम्युनिस्ट नेता मदन भण्डारीको मूर्ति बनाउने भन्दै मदन भण्डारी फाउन्डेसनले होडिङ बोर्ड राखेको छ ।
‘कम्युनिस्ट नेता मदन भण्डारीको शालिक बनाइपाऊँ भनेर महानगरपालिकामा निवेदन दिएका थियौं, निवेदन पास भएको पनि हो तर बजेट भने आएन,’ मदन भण्डारी फाउन्डेसन कास्कीका अध्यक्ष माधव बाँस्तोलाले भने । शालिक बनाउन संस्थागत रूपमै प्रक्रिया शुरू गरे पनि महानगरबाट कुनै प्रक्रिया अघि नबढेकाले विगत डेढ वर्षदेखि काम पूर्ण रूपमा ठप्प भएको उनले बताए ।
चालू आर्थिक वर्षको शुरूआतमा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले जनयुद्धका बेला बेपत्ता शहीदका मूर्ति बनाउने भनेर २० लाख रुपैयाँ संसद विकास कोषबाट निकासा गरे तर त्यो बजेटले मूर्ति बनेनन् । बरु मूर्ति बनाउने स्थल सुनिश्चितताका लागि तारबार, पर्खाल तथा ढुंगा बिच्छ्याउने काम भयो ।

पछिल्लो समय विभिन्न कारणले पार्कलाई अपेक्षाकृत निर्माण गर्न नसकिएको पोखरा महानगरपालिका अन्तर्गत पार्क व्यवस्थापन समितिका संयोजक रणबहादुर थापाले बताए । ‘यही माहोलमा मूर्ति बनाउन दिइयो भने अन्य जुनसुकै समूहको प्रस्ताव पनि स्वीकार गर्नुपर्ने हुन्छ, त्यसले पछिल्ला दिनमा झन् बढी विवाद ल्याउन सक्छ, बरु महानगरपालिकामा पुनः बैठक बसेर यी विषयमा निर्णय गर्नुपर्ने देखिन्छ,’ उनले भने ।
पार्कसँगै जोडिएको अर्को जग्गामा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको मूर्ति बनाएर पार्क निर्माण शुरू गरिएको थियो । कुनै अमूक दल विशेषका नेताको मूर्ति बनाएको विषयलाई नजिर बनाउँदै अहिले फरक–फरक राजनीतिक दलका संघसंस्थाले आफ्ना नेताको मूर्ति बनाउने भन्दै पार्क भित्रको जग्गा ओगट्ने क्रम तीब्र भएको छ ।
शहीद पार्क बनाउने योजना पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीकै भएको र पोखराको इतिहासमै सर्वाधिक मत प्राप्त लोकप्रिय नेता र वडाको स्थानीय पनि भएकाले मूर्ति बनाउन सिफारिस गरिएको पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जीसीले बताए । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले बनाएको मूर्तिले पार्कभित्रको हाता नछुने भएकाले राजनीतिक पूर्वाग्रहका रूपमा लिन नहुने उनले बताए ।
अन्य मूर्ति नबने पनि पार्कले पर्यटक तानिरहेकाले महानगरले क्षति व्यहोर्नु नपरेको स्थानीय जनप्रतिनिधि बताउँछन् । ‘बिदाको दिन करीब ४०० जनाको हाराहारीमा आन्तरिक पर्यटक पार्कमा घुम्न आउँछन्, यसले महानगरपालिकाको रोयल्टी, आम्दानी बढाएको छ,’ पूर्व मेयर जीसीले भने ।
‘पार्कको संरचनासहित ४ वटा मूर्ति बनाउँदा नै अघिल्लो आर्थिक वर्षसम्म करीब ३ करोड रुपैयाँ सकिएको हो तर यो आवको शुरूआतदेखि नै खासै काम अगाडि बढेको छैन,’ पोखरा महानगरपालिका अन्तर्गत पार्क व्यवस्थापन समितिका सदस्य सचिव लक्ष्मण तिमिल्सनाले भने ।
पर्याप्त बजेट अभाव र दक्ष कालिगढको अभावका कारण मूर्ति निर्माण तथा प्रतिस्थापन कार्य पहिले नै सुस्त थियो । यसैमाथि फरक–फरक राजनीतिक दल सम्बन्धित संघसंस्थाले अधिकार दाबी गर्दा देशभरमै ठूलो क्षेत्रफलमा रहेको शहीद पार्क अधुरो रहेको छ ।