
‘बैनी झ्यालैमा’ जस्तो हिट गीत दिइसकेका थिए । अन्य केही गीतहरू समेत ल्याइरहेका थिए तर उनले सोचे जस्तो अहँ भइरहेको थिएन । त्यसैबीच उनले रोजगारीका लागि विदेश जाने तयारी कसें र सोहीबखत फेसबूकमा स्ट्याटस लेखे, ‘अन्ततः परदेशिने सोच बनाएको छु थोरै खुशीहरू खोज्नका लागि ।’
यो कुरा हो १७ महिना अगाडिको । स्ट्याटस लेखेका थिए अहिलेका लोकप्रिय सर्जक एवं गायक प्रकाश दूतराजले । जुन स्ट्याटस आज पनि उनको टाइमलाइनमा भेट्न सकिन्छ ।
तर प्रकाशलाई रोजगारीका लागि विदेश जानुपरेन । बरु सांगीतिक कार्यक्रमका लागि केही महिनाअघि बहराइन पुगेर फर्किसके । अब दुबई पुग्दैछन् केही दिनमै ।
विदेश जाने तयारीबीच गीत चल्यो
म्याग्दीको अर्मनका यी सर्जक एवं गायक अभिभावकको जेठो सन्तान हुन् । गीत गाउने सानैदेखिको रहरका बाबजुद पनि परिवारलाई गरीबीबाट उकास्ने दायित्व थियो उनमा । आफ्नो देशमा रोजगारीको परपर्दो आधारको कमी, त्यसैले उनले विदेश जाने तयारी गरेका थिए । त्यो पनि एक पटक होइन, ३ पटकसम्म । माथि उल्लिखित स्ट्याटस तेस्रो पटकको तयारीपछि लेखेको स्ट्याटस हो ।
उनले विदेश जाने पहिलो तयारी १२ कक्षा पढ्दै गर्दा गरेका थिए । त्यो समय पासपोर्ट बनाए अनि काठमाडौं आए । यहाँ आएर उनले आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा गरे तर त्यो तयारी पूरा भएन ।
उनी फेरि आफ्नै गाउँ फर्किएर दुःख गर्न थाले । २०७२ सालको भूकम्पपछि विदेश जाने तयारीका साथ फेरि काठमाडौं आए । त्यसपटक राम्रो कम्पनीमा जानका लागि केही महिना लाग्ने भनेपछि पनि उनी गाउँ फर्किएनन् । दोहोरी साँझमा पुगेर गीत गाउन थाले । त्यहाँ उनी बिस्तारै रमाउँदै गए ।
‘विदेश जानुभन्दा अगाडि केही महिना काम गरौं भनेर दोहोरी साँझमा गाउन थालेको थिएँ तर त्यहाँ पुगेपछि कमाइ पनि ठीकै हुन थाल्यो । सांगीतिक क्षेत्रमा नशा पनि चढ्दै गयो,’ प्रकाश सुनाउँछन्, ‘त्यसपछि केही समय विदेशबारे सोचिनँ ।’ दोहोरी साँझ उनको पेट पाल्ने आधार मात्र नभएर सांगीतिक क्षेत्रका धेरै कुराहरू सिक्ने पाठशाला समेत बनेको उनी बताउँछन् ।
दोहोरी साँझमा गाउँदै गर्दा केही फरक खालका सिर्जनाहरू ल्याउने हुटहुटी चल्यो उनमा । ‘जाम माया बेनीको बजार’, ‘फूलीवाली’, ‘पछ्यौरीको तातो’ जस्ता केही गीतहरू ल्याए । ‘आरने’ गीतलाई स्रोता दर्शकले रुचाए, त्यसपछिको ‘बैनी झ्यालैमा’ गीत निकै हिट भयो । यो गीतले उनमा बेग्लै ऊर्जा एवं उत्साह ल्यायो पनि । त्यसपछि केही गीतहरू ल्याए तर उनले सोचेको जस्तो नभएपछि फेरि विदेशकै सोचमा पुगे ।
केही महिना अघिको भेटमा प्रकाशले भनेका थिए, ‘केही ऋणधन गरेर अरुसँग सहकार्य गरेर गीत ल्याएको थिएँ तर गीतहरूले सोचेजस्तो नगरेपछि सांगीतिक क्षेत्रको काममा बरु विदेश गएर आएर पनि लागूँला भन्ने सोचें र विदेश जाने तयारी थालें । म्यान पावरलाई डकुमेन्ट पनि बुझाइसकेको थिएँ ।’ सोही बीचमा उनको एउटा गीत आयो – घर कता हो बैनीको ।
गीतले नसोचेको स्रोता पायो, नसोचेका दर्शक पायो अर्थात् गीत बिस्तारै ‘हिट’ भयो । केही दिनअघिको भेटमा प्रकाशले सुनाए, ‘गीतले मलाई विचलित हुन दिएन । गीतलाई स्रोता दर्शकले एकदमै रुचाइदिनुभयो । स्रोता दर्शकले रुचाउनुभएपछि एक किसिमको बन्धनमा पनि बाधिँदो रहेछ । छुट्टै ऊर्जा पनि मिल्दो रहेछ सांगीतिक क्षेत्रमा राम्रो गर्न ।’

गीतले हालसम्म २ करोड २५ लाखभन्दा बढी भ्युज पाइसकेको छ यूट्युबमा । त्यसपछि उनले ८ महिनाअघि ल्याएको ‘जाम भो माइली’ उत्तिकै हिट भयो । गीतले १ करोड ५० लाख बढी भ्युज पाइसकेको छ । १ महिनाअघि मात्रै उनले ल्याएको ‘मन भुल्छ’ बोलको गीत पनि उत्तिकै रुचाइएको छ । छोटो समयमै गीतलाई ४२ लाख बढीले हेरिसकेका छन् ।
यसरी एकपछि अर्को गीतले मन जितिरहेका छन् प्रकाशले । अहिले भने उनले वैदेशिक रोजगारीको कल्पना गर्न छाडेका छन् । त्यसतर्फ कल्पना गर्न नपरोस् भन्छन् । ‘सधैंभरि गीतसंगीतको पुजारी भएर बस्न पाइयोस्,’ प्रकाश भन्छन्, ‘दर्शक–स्रोताहरूलाई राम्रो–राम्रो गीत दिन पाइयोस्, ताकि ती गीतहरूलाई उहाँहरूले दिने मायाले भोलिको बाँकी दिनमा सांगीतिक क्षेत्रमा सक्रिय रहिरहन सहज होस् ।’

गीतमा पाइने ‘पृथकपन’ र मौलिकता
प्रकाशका गीतलाई स्रोता–दर्शकले किन रुचाइरहेका छन् ? लोक दोहोरी क्षेत्रका कलाकारको ठम्याइ छ – उनले दिने फरक शैली र त्यसमा पाइने मौलिकता । हुन पनि हो, उनका गीतहरूमा गाउँ समाज र परिवेशको कथा पाइन्छ । गीतमा ठेट नेपाली शब्द र भाका प्रयोग गर्छन् । सिर्जनामा मनोरञ्जन मात्र नभएर केही सकारात्मक प्रभाव पार्न सन्देश पनि होस् भन्ने सोच्छन् ।
उनी गीत गाउँदैनन् मात्र । गीत लेख्ने, भाका बनाउने, भिडियोमा अभिनय समेत गर्छन् । केही भिडियोको निर्देशन समेत गरेका छन् उनले । साधारण र हँसमुख प्रकाशको अर्को विशेषता भनेको उनी सिर्जना पस्किन हतार गर्दैनन् । कथा बुन्छन्, गीत तयार पार्छन् । आफ्ना साथीभाइ, आफ्नो टीमसँग छलफल गर्छन् । त्यहाँबाट पाउने सल्लाह/सुझावलाई आत्मसाथ गर्छन् । ५–६ महिना लगाएर मेहनत गरेर गीत ल्याउँछन् । त्यसैले पनि उनका गीतलाई स्रोता–दर्शकले विशेष रूपमा हेर्छन्, गीतलाई रुचाउँछन् ।