३० जेठ २०८३, शनिबार
आलेख

नेपालमा बजिसक्यो खतराको घण्टी !

असार २८, २०७९
नेपालमा बजिसक्यो खतराको घण्टी !

कुनै पनि राष्ट्रको शासन प्रणालीको केन्द्रमा जनता नहुने हो भने त्यस्तो शासन प्रणालीको औचित्य रहँदैन । दुनियाँका समृद्ध  राष्ट्रहरूको विकासको रहस्य नै यही हो ।

समृद्धि हासिल गरेका देशहरूले जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गरे, जसकारण निरन्तर जनताको साथ सहयोग प्राप्त गरिनै रहे । त्यहाँको शासन प्रणाली र सरकारहरूले जनताको साथ पाइरहे । 

जसका निम्ति राष्ट्र बन्यो अथवा जसले आफ्ना लागि देश बनाए, उनीहरू नै उपेक्षित हुने हो भने त्यस्तो राष्ट्रको केही अर्थ रहँदैन, शासन प्रणालीको के कुरा । आज संसारका गरीब देशहरू यही पीडाबाट आक्रान्त छन् । नेपाल पनि तिनै आक्रान्त देशहरूमध्ये एक हो । एसियाको धनी देश सिंगापुरको विकासको मूलमन्त्र नै यही हो । पूर्व र पश्चिम दुवैका निम्ति आधुनिक सिंगापुरका निर्माता लि क्वान यु मार्गदर्शक र प्रेरक व्यक्तित्व मानिन्छन् । उनको मान्यताअनुसार राष्ट्रको उन्नतिका कारक नै जनता हुन् । तर, यसका लागि नेतृत्व तहमा सुयोग्य र इमान्दार व्यक्ति हुनुपर्छ । साथै दृढ अठोट, अनुशासन, लगन र मिहिनेत पनि चाहिन्छ ।

सन् १९५९ मा बेलायती औपनिवेशिक सरकारमा ली प्रधानमन्त्री हुँदा सिंगापुरको हालत असाध्यै खराब थियो । बेरोजगारी, भष्ट्राचार, शैक्षिक लगायत विभिन्न संघसंस्थाभित्र अनेक विकृति, हड्ताल, वेश्यावृत्ति, लागुऔषधको कारोबार, न्यून लगानी जस्ता संकट व्याप्त थिए । प्रतिव्यक्ति आय ४०० डलरको आसपास थियो । १५ प्रतिशत बेरोजगारी थियो । १९६५ मा स्वतन्त्रता प्राप्त गरेको सिंगापुरमा उनले सन् १९८० भित्र बेरोजगारी उन्मूलन, भ्रष्टाचार अन्त्य र ६ गुणाले प्रतिव्यक्ति आयमा वृद्धि गरे । यो चानचुने कुरा थिएन । यसका लागि ली को नेतृत्व, उनका असल र सक्षम सहयोगी एवं जनताको साथ नै निर्णायक थियो । उनी प्रधानमन्त्री भएको ३१ वर्षभित्र सिंगापुरले चमात्कारिक उपलब्धि हासिल गर्‍यो । 

ली ले संगठन सुदृढीकरणका सन्दर्भमा भनेका छन्- पार्टीको सबै तहमा आफूले रुचाएका व्यक्ति मात्र राख्ने हो भने संस्था बलियो हुँदैन, न त यसको विस्तार हुन्छ । त्यसैले नेता उदार चाहिन्छ । 

राष्ट्र निर्माण र पार्टी सुदृढीकरणका विषयमा ली का दुईवटा भनाइ हाम्रा लागि मार्गदर्शक हुन सक्छन् । उनि भन्छन्- राष्ट्र निर्माणका लागि तीन तत्व निर्णायक हुन्छन् । नेतृत्व, जनता र छिमेकी । उनको भनाइमा नेतृत्वको संकल्प, जनताको विश्वास र छिमेकीसँगको सुमधुर सम्बन्धको आधारशिलामा उभिएर मात्र प्रगति हासिल हुन्छ । मीठा गफ र तर्कले परिणाम दिँदैन । उनी जनतासँग आफैं काम गर्थे, मन्त्री, सचिव सबैलाई गर्न लगाउँथे । मन्त्रीहरूलाई सामाजिक समारोहमा जान र शक्तिको उन्माद देखाउन मनाही थियो । हाम्रो देशमा के हुन्छ, तुलना गरौं ।

ली ले संगठन सुदृढीकरणका सन्दर्भमा भनेका छन्- पार्टीको सबै तहमा आफूले रुचाएका व्यक्ति मात्र राख्ने हो भने संस्था बलियो हुँदैन, न त यसको विस्तार हुन्छ । त्यसैले नेता उदार चाहिन्छ । अर्को कुरा कलात्मक गफ र चर्को कुराले मात्र संस्थाले सफलता प्राप्त गर्दैन । थोरै अण्डा दिने हल्लाखोर कुखुरीभन्दा चुपचाप सयौं अण्डा दिने कछुवा नै ठीक र उपयुक्त  हुन्छ । हामी के गर्दैछौं त, विचार गरौं ।

एकपल्ट राजा अकबरले मन्त्री वीरबललाई सोधेछन्- मलाई बताउ वीरबल, जनता रिझाउने कसरी हो ? 

वीरबलले सही जवाफका लागि समय मागेछन् । उनले मागेको समय बाँकी नै थियो । एकदिन राजा अचानक बिरामी परेछन् । उनको गोडाको पाइताला यसरी पोल्न थालेछ कि दरबारका वैद्यहरू हार खाएछन् । आफ्ना विज्ञ वैद्यले समेत हार खाएको देखेपछि अकबर आत्तिएछन् । 

आफ्नो आठपहरियालाई बोलाएर अहिले दरबारमा को-को छन् सोधेछन्, उसले सबै कुरा बताउँदै भनेछ- एउटा फकिर दरबारको मूल ढोकामा हजुरलाई भेट्छु भन्दै अनुमति माग्दैछ । 

सामान्यतया यस्ता फकिरहरू केही माग्नका लागि आउँदा रहेछन् । राजा प्रफुल्ल हुदाँ भेट्ने र नहुँदा नभेट्ने रहेछन् । बिरामीले छट्पटाई रहेका राजा, जो प्रफुल्ल थिएनन्, भेट्ने अनुमति दिएछन् । 

झुत्रो झाम्रो लुगा लगाएको फकिर राजाका सम्मुख उभ्याइएछ । उसले राजाको हालत थाहा पाएर भनेछ, के म उपचारको अनुमति पाउन सक्छु महाराज ? राम्रोसँग बोल्न र आँखा समेत हेर्न नसक्ने अकबरले इशाराले अनुमति दिएछन् । अघिल्लो दिनभन्दा तडप बढेकोले छटपटाई रहेका राजाको गोडामुनि बसेर फकिरले पैताला सुस्तरी सुम्सुम्याउन लागेछ । जटा पालेको र ठाडो चन्दन लगाएको नपत्याउँदो फकिरले जब मन्त्रोच्चारणसहित उपचार शुरू गरेछ । राजाका वरिपरिका भाइभारदारहरू उसको खिसी र उपेक्षामा कानेखुसी गर्न थालेछन् । 

न औषधि छ खाने, न लेप छ लगाउने, हेर्दा उपचारै विश्वसनीय नदेखिने । सामान्य झारफुक जस्तो । पत्याउन् पनि कसरी ! बडेबडे वैद्य फेल खाएका । तर, विचित्र के भने फकिरको उपचार शुरु हुने बित्तिकै अर्थात् उसले गोडा छुने बित्तिकै राजालाई फरक अनुभूति हुन थालेछ । केही समयको अन्तरालमा झण्डै दुई दिनदेखि पाइतालामा भएको जलन घट्दैघट्दै समाप्त भएछ ।

राजा जुरुक्क उठेर फकिरलाई अंकमाल गरेछन् र भनेछन्, के माग्छौ माग । फकिरले जवाफ दिएछ- जाँहपनाह, म केही माग्न आएको होइन, महाराजको दर्शन गर्न आएको । आज पनि शहर बाहिरको गाउँमा बसेको थिएँ, मेरो अन्तष्करणले राजा भेट्न जा भन्यो र आएँ, महाराजको यो अवस्था देखें । मैले केही गरिनँ, मैले आफ्नो आराध्यलाई राजाको पीडा हटाइदेऊ भनेर प्रार्थना गरेँ, उनले मेरो पुकार सुने । मैले पुरस्कारयोग्य केही काम गरेको छैन ।

अकबर उसको कुरा सुन्ने वाला थिएनन् । उनले आदेश दिएछन्- यसलाई मेरो निजी बैद्यमा नियक्ति देऊ । छेउमै बसेका वीरबलले तत्कालै नियुक्ति दिएछन् र अकबरलाई भनेछन्- हजुरले मलाई सोधेको प्रश्नको उत्तर यही हो । अकबरले सोधेछन्- कसरी ? 

वीरबलले भनेछन्- महाराज हजुरलाई असाध्य पीडा हुँदा यस फकिरले आफ्नो खुबीले उपचार गरी हजुरलाई ठीक गर्‍यो । यसबाट प्रसन्न भई हजुरले वैद्य पदमा नियुक्ति दिनुभो । यसको मतलब यसले हजुरलाई रिझायो । हामीले के बुझ्नु पर्‍यो भने दुःख र पीडामा जनतालाई साथ दिइयो भने जनता रिझिन्छन् ।

वीरबलको कुराले अकबर प्रसन्न भएछन् ।

निर्वाचनैपिच्छे जनता झुक्याएर सधैंभरि मन दुखाइरहने राजनीति आखिर कहिलेसम्म चलाइराख्न सकिन्छ र ? सच्चा लोकतन्त्रले यस्तो अनुमति दिँदैन । नेपाली समाज आफू झुक्किएको थाहा पाउन सक्ने भएको छ । ली, महाथिरहरू संसारभरि सम्मानित हुनुपर्ने कारण नै आफ्ना जनता खुशी राखेर हो ।

माथिको प्रसंग किन उद्धृत गरिएको हो भने राज्य, शासन प्रणाली, सरकार सबैले जनतालाई खुशी राख्न अधिकतम प्रयत्न गर्नुपर्छ । आफ्ना जनताको हरेक पीडामा उपस्थित हुनुपर्दछ र त्यसको उपचार पहिल्याउनु पर्छ । वीरबलले अकबरसामु एउटा दृष्टान्त प्रस्तुत गरेर शासकको दायित्व स्पष्ट पार्न खोजेका हुन् । 

अझ लोकतान्त्रिक शासन प्रणालीमा त जनता रिझाउनु राजनीतिक नेतृत्वको प्राथमिक दायित्व हो । आवधिक रुपमा बारम्बार परीक्षणमा उत्रनुपर्ने भएकाले जनताको खुशीसँग राजनीतिक दल र नेतृत्वको भविष्य जोडिएको हुन्छ । दुनियाँको समुन्नत लोकतन्त्रको विशेषता हेर्दा जनता अर्थात् मतदाता राज्यसँग आफ्ना निम्ति थप सुविधा मागिरहेको पाइन्छ । र, राज्यले पनि सकेजति उपलब्ध गराइरहन्छ । 

हाम्राजस्ता मुलुकको विडम्बना के भने राज्य जनताप्रति सदैव उदासीन रहने गर्छ । सुविधाको त कुरै छाडौं, जनताको आधारभूत आवश्यकताको समेत ख्याल नगर्ने प्रवृत्ति छ । यसले के दर्शाउँछ ? त्यसैले हामीले राजनीतिको मूल कर्तव्य थाहा पाउनु पर्छ । जनता नरिझाउने राजनीति काम लाग्दैन । निर्वाचनैपिच्छे जनता झुक्याएर सधैंभरि मन दुखाइरहने राजनीति आखिर कहिलेसम्म चलाइराख्न सकिन्छ र ? सच्चा लोकतन्त्रले यस्तो अनुमति दिँदैन । नेपाली समाज आफू झुक्किएको थाहा पाउन सक्ने भएको छ । ली, महाथीरहरू संसारभरि सम्मानित हुनुपर्ने कारण नै आफ्ना जनता खुशी राखेर हो ।

अमेरिकासँग सीमा जोडिएको मेक्सिकोका एक सांसदले संसदमा आफूलाई नग्न रुपमा प्रस्तुत गर्दै भनेको कुरा बडो मार्मिक छ- आज म यसरी नांगै प्रस्तुत हुँदा तपाईंहरूलाई लाज लाग्यो होला, तर आज हाम्रा जनताको अवस्था अहिलेको मेरो जस्तै छ । तपाईंहरूलाई लाज लाग्छ लाग्दैन ?

मेक्सिकोमा धनी र गरीबबीचको खाडल यति फराकिलो भएको छ कि गरीब जनता बाँच्न मुस्किल भएको छ । तर, राजनीतिज्ञहरू संवेदनहीन देखिएका छन् । यस्तो स्थिति नेपालमा नआउला भन्न सकिँदैन । त्यसैले सबभन्दा पहिले राजनीतिको दायित्वलाई मनन गर्नु श्रेयस्कर हुनेछ । खतराको घण्टी बजिसक्यो ।

salt training

कमेन्ट गर्नुहोस्