
पार्टीभित्र दह्रो पकड राख्दै सरकारको सिँढीमा उक्किन सिपालु गृहमन्त्री तथा कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाँण रूपन्देही– ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई साथ दिँदै उनकै सेरोफेरोभित्र रहने खाँणका प्रतिस्पर्धी छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहोरा ।
२०४८ देखि निरन्तर जिल्लामा चुनाव लड्दै आए पनि यी दुई नेताको चुनावी भेटचाहिँ पहिलो हो ।
बोहोरालाई खाँणले यस अघि (२०७४) को निर्वाचनमा आफू समानुपातिकमा बसेर रूपन्देही– ३ बाटै सघाएका थिए । अहिले फेरि बोहोरालाई नेकपा एमालेले सघाएको छ । खाँण र बोहोरा यो क्षेत्रका लागि नयाँ होइनन् ।
सरकारको दोस्रो वरीयतामा रहेका खाँण स्थानीय चुनावअगाडि रूपन्देही– ३ असुरक्षित ठानेर नयाँ निर्वाचन क्षेत्रको खोजीमा थिए ।
पञ्चायतकालमै मन्त्री भइसकेका बोहोरा २०७४ मा यही क्षेत्रबाट नेकपा एमालेका नेता घनश्याम भुसालसँग चुनाव हारेका थिए ।
अहिले उनी जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेकै सहयोगमा गृहमन्त्री खाँणसँग भिड्दैछन् । यता खाँणलाई सत्ता गठबन्धनको साथ छ ।
तालमेल गरी चुनावमा होमिएकाले गर्दा गृहमन्त्री र वरिष्ठ नेता बोहोराबीच कडा टक्कर हुन सक्ने देखिएको छ ।
देउवाका उत्तराधिकारीको रूपमा आफूलाई प्रस्तुत गर्दै आइरहेका खाँणलाई एमाले–राप्रपा चुनावी तालमेलले चुनौती थपेको छ ।
कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र तरूण दलको अध्यक्ष हुँदै पार्टीको नेता, पटक–पटक सांसद र मन्त्री भइसकेका गृहमन्त्री खाँण २०४८ देखि नै संसदीय राजनीतिमा छन् ।
उनी २०४८ मा बुटवल क्षेत्रबाट निर्वाचित भएका थिए । बोहोरा पनि पञ्चायतकालदेखि निरन्तर चुनाव लडेर मन्त्री समेत भएका नेतामा पर्छन् ।
खाँणले रूपन्देही– ३ बाट २०६४ र २०७० का दुई संविधानसभा निर्वाचन जितेका थिए ।
खाँणले २०७० मा एमालेका भुसाललाई झिनो मतान्तर (८२) ले हराएका थिए । २०७४ मा भने वाम गठबन्धन भयो । कांग्रेसले राप्रपासँग तालमेल गर्यो ।
भुसालले ३२ हजार ८६६ मत ल्याएर चुनाव जित्दा बोहराले २७ हजार ४२२ मत मात्र ल्याउन सके । यसपटक तत्कालीन वाम गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्र आफ्नो साथमा रहेको र कम्युनिस्ट दलबाट कोही पनि उम्मेदवार नरहेको अवस्थामा गृहमन्त्री खाँण बोहराविरुद्ध आफूले जित्ने दाबी गर्छन् ।
एमालेको साथ पाएका बोहरा भने स्थानीय तह निर्वाचनको परिणाम केलाइरहेका छन् । स्थानीय तहको परिणाममा कांग्रेस–माओवादी गठबन्धनभन्दा एमाले–राप्रपा गठबन्धनको मत बढी छ । बोहराले सकेसम्म एमालेको सबै भोट आफूलाई झार्न मेहनत गरिरहेका छन् । बोहराले २०७० मा भने साविक रूपन्देही– २ (भैरहवा क्षेत्र) बाट चुनाव जितेका थिए ।
यो क्षेत्रमा राप्रपाले आफ्नो १५ हजारभन्दा बढी मत रहेको दाबी गर्ने गरेको छ । गएको स्थानीय निर्वाचनमा रुपन्देही– ३ बाट राप्रपाले १३ हजार ३९७ मत ल्याएको थियो ।
यो उक्त पार्टीका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतको कूल योगफल हो । यस्तै कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत पाएका थिए । यो क्षेत्रमा कांग्रेस, माओवादी, लोसपा र नेकपा एसको मत जोड्दा ४० हजार १८५ हुन्छ भने एमाले, राप्रपा र जसपाको मत योगफल ४८ हजार ६२८ हुन आउँछ ।
स्थानीय तह निर्वाचनको मतले बोहोरा ढुक्क हुन सकेका छैनन् भने खाँणले चुनौती महसूस गरिरहेका छन् । पार्टीभित्रको गुटबन्दी चुनावका बेला बाहिर आउन सक्ने जोखिम पनि खाँणले देखेका छन् । कांग्रेस रूपन्देहीमा गुटबन्दीका कारण विरोधका स्वर पनि सुनिन थालेका छन् । भैरहवा बोहोराको गृहनगर हो भने खाँणको तिलोत्तमा ।
राप्रपा रूपन्देहीका अध्यक्ष सागरप्रताप राणा राष्ट्रियता र विकासका मुद्दा लिएर आफूहरू जनताको बीचमा गएको बताउँछन् ।
‘राप्रपा, एमाले र जसपा सत्तारुढ गठबन्धनभन्दा धेरै अगाडि छ,’ राणाले लोकान्तरसँग भने, ‘हामी भारी मतान्तरले चुनावी जित्छौं । यसअघि चुनाव हार्ने डरले समानुपातिकमा बसेका मान्छे अहिले शक्तिको आडमा चुनाव लड्दै छन् । जीत राप्रपा/एमाले र जसपा गठबन्धनको हुन्छ ।’
यस क्षेत्रमा एमाले र कांग्रेसको संगठन बराबर हैसियतमा छ । एमाले/राप्रपा गठबन्धनबाट प्रदेशसभातर्फ रूपन्देही–३ (१) मा जसपाका महेन्द्र यादव र ३ (२) मा एमालेका तुलसी चौधरी उम्मेदवार छन् ।
यस्तै सत्ता गठबन्धनबाट प्रदेशसभा ३ (१) तर्फ लोसपाका सन्तोष पाण्डेय र ३ (२) तर्फ कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् ।
रूपन्देही क्षेत्र नम्बर ३ का कांग्रेस सभापति सुशील गुरुङ गृहमन्त्रीको क्षेत्रमा जित निश्चित देख्छन् ।
देउवाको सारथि बनेका खाँण एमाले उपाध्यक्ष पौडेलसँग सकभर भिड्न नपरोस् भन्ने चाहन्छन् । अहिलेसम्म पौडेल र खाँणको मित्रवत व्यवहार नै देखिन्छ ।
एमाले रूपन्देहीका सचिव यज्ञ गैरेले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार बलियो रहेको बताउँदै जीत निश्चित रहेको दाबी गरे । ३ नम्बर क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नम्बर १४–१९, मायादेवी गाउँपालिकाका ७ र ८, ओमसतिया गाउँपालिकाको २ नम्बर वडा, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा पर्छन् ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले रुपन्देही ३ सहित जिल्लामा धेरै क्षेत्र गठबन्धनले जित्ने दाबी गरे । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । रूपन्देहीमा प्रभावशाली नेताहरूले चुनावी गतिविधि बढाएका छन् । रूपन्देहीका ५ वटै क्षेत्रमा प्रभावशाली नेताहरूको चुनावी भिडन्तमा धेरैको चासो छ ।