२२ असार २०८३, सोमबार
प्रतिनिधि सभा निर्वाचन २०७९

काठमाडौं–२ : मन्त्रीको 'अफर' पाएकी ओनसरीलाई कांग्रेसको भर, ठूला दललाई सोविताको डर

कात्तिक ९, २०७९
काठमाडौं–२ : मन्त्रीको 'अफर' पाएकी ओनसरीलाई कांग्रेसको भर, ठूला दललाई सोविताको डर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र भनेर चिनिएको प्रतिनिधिसभा तर्फको काठमाडौंको २ नम्बर क्षेत्रका मतदाताले आगामी चुनावमा कसलाई जिताउने भन्ने निर्क्यौल गरिसकेका छैनन् । 

नेकपा एमालेमा रहँदा एउटा मात्रै चुनाव हारेका नेपालले यसपटक काठमाडौं–२ माओवादी केन्द्रलाई छाडिदिए ।

अघिल्ला चुनावको मत विवरण हेर्दा काठमाडौं–२ मा एमाले सबैभन्दा बलियो पार्टी हो । एमालेबाट निस्किएपछि मतदाताले आफूलाई सहजै स्वीकार्ने अपेक्षा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको थियो तर गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा त्यस्तो लक्षण देखिएन । 

काठमाडौं–२ मा भन्दा रौतहट–१ आफ्नो लागि अनुकूल देखेपछि नेपालले काठमाडौंबाट चुनाव लड्ने रहर त्यागिदिए । माधव नेपालको ठाउँमा सत्तारूढ गठबन्धनले माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीलाई उम्मेदवार बनाएर पठाएको छ ।

ओनसरी घर्तीको नाम राष्ट्रिय राजनीतिमा स्थापित छ । प्रतिनिधिसभा सभामुख भइसकेकी उनी २०७० सालको चुनावमा रोल्पाबाट निर्वाचित भएकी थिइन् । २०७४ सालमा उनी समानुपातिक सांसद बनेकी थिइन् ।

एमालेले काठमाडौं–२ मा मणिराम फुँयाललाई उम्मेदवार बनाएको छ । उनी एमालेको बागमती प्रदेश सदस्य छन् । काठमाडौं–२ का स्थानीयमाझ ‘हेडसर’ भनेर चिनिएका फुँयाल गठबन्धनका उम्मेदवारलाई टक्कर दिन सक्ने स्थानीय उम्मेदवार बनेका छन् । उनी मूलपानीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर स्थानीयस्तरमा भिजेका व्यक्ति हुन् । काठमाडौं–२ को एमालेले भने गठबन्धनले स्थानीय उम्मेदवार दिन नसक्दा फाइदा भएको विश्लेषण गरेको छ ।

स्थानीय तहको मतको हिसाब गर्दा गठबन्धनमा रहेका दलहरूको मत एमालेको भन्दा निकै बढी हुन आउँछ । एकल मतको हिसाबले काठमाडौं–२ मा एमाले पहिलो पार्टी हो । गत वैशाखको चुनावमा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२८, एकीकृत समाजवादीले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र माओवादी केन्द्रले ३ हजार १३१ मत ल्याएका छन् ।

कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत जोड्दा २५ हजार १७० मत हुन्छ । एमाले गठबन्धनको मतभन्दा ७ हजार ८४२ मतले पछाडि देखिन्छ । अंकगणित हेर्दा गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीले जित्नका लागि यो अनुकूल मत हो तर काठमाडौं–२ मा अंकगणितले मात्रै काम गर्दैन ।

२०६४ सालमा भएको संविधान सभाको पहिलो चुनावमा तत्कालीन एमालेका शक्तिशाली महासचिव माधव नेपाललाई नेकपा माओवादी केन्द्रका लो–प्रोफाइलका उम्मेदवार झक्कुप्रसाद सुवेदीले पराजित गरिदिएका थिए ।

२०७० सालमा माधव नेपालले काठमाडौं–२ र रौतहट–१ बाट उम्मेदवारी दिएका थिए । त्यसबेला एकै उम्मेदवारले २ ठाउँबाट उम्मेदवारी दिन पाउने व्यवस्था थियो । त्यसबेला माधव नेपालले दुवै ठाउँबाट ठूलो मतान्तरले चुनाव जिते । २ ठाउँबाटै जितेपछि एकठाउँबाट छाड्नुपर्थ्यो । माधव नेपालले रौतहट–१ रोजे र काठमाडौं–२ छाडिदिए, त्यहाँ उपचुनाव हुने भयो । एमालेले काठमाडौंका रैथाने र स्थानीयबीच परिचित नेता कृष्ण गोपाल श्रेष्ठलाई उम्मेदवार बनायो । श्रेष्ठ काठमाडौंकै भए पनि २ नम्बर क्षेत्रका स्थानीय थिएनन् । एमालेको प्रतिस्पर्धी कांग्रेसले भने स्थानीय तर त्यसबेलाका लो–प्रोफाइल नेता दीपक कुँइकेललाई उम्मेदवार बनाएको थियो । काठमाडौं–२ का मतदाताले कृष्णगोपाललाई ‘अथिति उम्मेदवार’ भनिदिए र दीपक कुँइकेललाई सांसद बनाइदिए । त्यसबेला स्थानीय नेता भनेर एमालेकै मतदाताले पनि कुँइकेललाई मत दिएको चर्चा काठमाडौं–२ मा हुने गरेको थियो । 

काठमाडौं–२ मा शहरी र काठ क्षेत्रका मतदाताको संख्या झण्डै उस्तै छ । काठमाडौं–२ मा अत्यन्त विकसित कोटेश्वर, सिनामंगल, पेप्सिकोला, काँडाघारी, मुलमानी हुँदै जर्सिङपौवा र लप्सीफेदीका ग्रामीण क्षेत्र पर्छन् । जर्सिङपौवा र लप्सीफेदीलाई काठमाडौं–२ को कर्णालीको रूपमा चिनिन्छ । उक्त क्षेत्रको विकास र जनताको जीवनस्तर कुनै दुर्गम जिल्लाको भन्दा कम छैन । काठ क्षेत्रका मतदाताको मतमा चुनाव जितेपछि नेताहरू शहर केन्द्रित भएको गुनासो ती क्षेत्रका मतदाताको हुने गरेको छ ।

मतको हिसाबले काठमाडौं–२ मा माओवादी केन्द्र सबैभन्दा कमजोर दल हो । उक्त क्षेत्रमा माओवादी केन्द्रको भन्दा राप्रपाको मत दोब्बरले धेरै छ । स्थानीय तहमा राप्रपाले ७ हजार २०० मत पाउँदा माओवादी केन्द्रले ३ हजार १३१ मत मात्रै पाएको थियो । राप्रपाले कुन्तीदेवी पोखरेललाई उम्मेदवार बनाएको छ । 

काठमाडौं–२ मा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाक्रीले उम्मेदवार बन्ने सम्भावना अध्ययन गरेकी थिइन् । एमाले र राप्रपाको गठबन्धन बन्न सक्ने सम्भावना हुँदा जीत सुनिश्चित नभएको भनेर उनी गुल्मी फर्किएकी थिइन् । अन्तिममा एमाले राप्रपाको गठबन्धन त बनेन तर सत्तारूढ गठबन्धनको उम्मेदवारलाई सहज जीतको अवसर पनि रहेन ।

राष्ट्रिय राजनीतिमा स्थापित नाम भए पनि ओनसरी घर्ती काठमाडौं–२ का मतदाताका लागि नयाँ नाम हो, घर्तीका लागि काठमाडौं–२ को भूगोल नयाँ हो । अर्कोतर्फ काठमाडौं–२ ले अन्य क्षेत्रबाट आएको उम्मेदवारलाई स्वीकारेको इतिहास छैन । माओवादी र कांग्रेसले १–१ पटक मात्रै जितेको उक्त क्षेत्रमा ती पार्टीहरूले अहिलेसम्म जीत दोहोर्‍याउन सकेका छैनन् । ओनसरी घर्तीले चुनाव जितेको अवस्थामा माओवादीले २ पटक जितेको क्षेत्रको रूपमा इतिहास बन्ने छ तर उनी चुनाव जित्नका लागि पूर्णरूपमा कांग्रेसको मतमा भर पर्नुपर्ने अवस्था छ । कांग्रेसका कार्यकर्ता भने आफ्नो दलको उम्मेदवार नभएको भन्दै चुनावी अभियानमा खुलेर हिँडिसकेका छैनन् ।

गठबन्धन दलको पक्षमा माहोल बनाउन शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष नेपालले काठमाडौं–२ मा चुनावी मञ्च हालिसकेका छन् । असोज ३० गते काँडाघारीको एउटा पार्टी प्यालेसमा उम्मेदवार परिचय कार्यक्रम गरेर तीनै जना नेताले ओनसरी घर्तीको पक्षमा मत मागिसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त काठमाडौं–२ ले ओनसरीलाई जिताएर पठाए गठबन्धनले मन्त्री बनाइदिने भनेर आश्वासन बाँडेका छन् । उम्मेदवारलाई चिनाउने मञ्चबाट प्रचण्डले भनेका थिए, ‘ओनसरी घर्तीलाई तपाईंहरूले काठमाडौं–२ बाट जिताएर पठाउनुहोस्, राम्रो विकासे मन्त्री बनाएर उहाँलाई तपाईंहरूको ठाउँमा पठाइने छ ।’

उम्मेदवार घर्तीले पनि आफूले जितेको अवस्थामा कोटेश्वरको ट्राफिक जाम हटाउने, सडक पूर्वाधार बनाउने, मूलपानीको क्रिकेट रंगशाला सम्पन्न गराउने लगायतका विकासे एजेण्डा प्रस्तुत गरेकी छन् ।

कात्तिक ९ गते घर्तीले साल्खा महादेवस्थानमा आयोजित साँखु जेसिजको २१औं शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देशको विकास र समृद्धिबाहेक अरु कुनै एजेण्डा आफूसँग नभएको बताएकी छन् ।

गठबन्धनको बलियो प्रतिस्पर्धीको रूपमा हेरिएका एमालेका उम्मेदवार मणिराम फुँयाल भने आफ्नो जीतका लागि पार्टीको बलियो संगठनको आधार रहेको र बाहिरबाट आएको उम्मेदवारलाई काठमाडौं–२ का मतदाताले अस्वीकृत गर्नेमा ढुक्क छन् ।

पुरानालाई भारी पर्दै सोविता

२७ वर्षीय सोविता गौतम काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर ४४ वर्षीय ओनसरी घर्ती र ५६ वर्षीय मणिराम फुँयाललाई चुनौती दिइरहेकी छन् । 

यसअघि अधिवक्ता र सामाजिक अभियन्ताको रूपमा काम गरेकी गौतम अहिले काठमाडौं–२ मा स्थापित दलका उम्मेदवारलाई चुनौती दिँदै घरदैलो गरिरहेकी छन् । पुराना राजनीतिक नेतृत्वलाई विस्थापित गर्ने भन्दै उनी चुनावी मैदानमा आएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारमध्ये काठमाडौं–२ की गौतम र संयोजक रवि लामिछानेलाई देशभरका प्रतिस्पर्धामा आउन सक्ने उम्मेदवारको रूपमा हेरिएको छ ।

काठमाडौं–२ मा गौतमले ल्याउने मतले गठबन्धन र एमालेका उम्मेदवारको जीतहार प्रभावित गर्ने विश्लेषण त्यहाँका चिया गफहरूमा सुनिन थालेका छन् ।

ठूला दलले राजनीतिमा विकृति भित्र्याएको तर्कसहित मतदाताको बीचमा पुगिरहेकी सोविताले पछिल्ला दिनमा काठमाडौं–२ का मतदाताको ध्यान खिच्न थालेकी छन् । उनी स्थापित दलका उम्मेदवारमाथि हाबी हुन सक्छिन् कि सक्दिनन् भन्ने चाहिँ भविष्यमा खुल्दै जानेछ । 

salt training

कमेन्ट गर्नुहोस्