
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केही निर्वाचन क्षेत्रको चुनावी अंक गणितमा प्रभाव पार्ने संकेत देखिएको छ । त्यस्तै सम्भावना भएको एक क्षेत्र हो, स्याङ्जा– २ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीचको भिडन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङ थपिएका छन् ।
पहिलोपटक चुनावमा भाग लिँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले केही निर्वाचन क्षेत्रमा पुराना दलहरूलाई निर्णायक धक्का दिने देखिएको छ ।
स्याङ्जा क्षेत्र नम्बर २ का स्थानीय मतदाताहरू राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेस र एमालेलाई चुनौती दिने प्रस्ट संकेत देखिएको बताउँछन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा– २ बाट माओवादीको समेत समर्थनमा पद्मा विजयी भएकी थिइन् । चुनाव जितेपछि उनी लामो समय मन्त्री समेत बनिन् ।
दुवै संविधानसभामा समानुपातिक सांसद रहेका धनराज प्रत्यक्षतर्फ पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् ।
उनीहरूको प्रतिस्पर्धामा थपिएका टीकाराज शिक्षक र फूटबल खेलाडीको पहिचान बनाएका व्यक्ति हुन् । उनी वालिङ आसपासका क्षेत्रमा परिचित छन् ।
चुनाव जित्न धनराजलाई कांग्रेस संगठन र माओवादीको भर छ भने पद्मालाई पार्टी संगठनको आधार छ । टीकाराजलाई भने नयाँ पुस्ताका युवाको समर्थन छ ।
टेलिभिजन कार्यक्रममार्फत गरीब, दीनदुःखी र वैदेशिक रोजगारीमा ठगिएकाको पक्षमा गरेको सञ्चारकर्मका कारण उनको चर्चा गाउँसम्म पुगेको छ ।
सामाजिक सञ्जालको पहुँचबाहिर रहेका महिला र गृहिणीहरू टेलिभिजन कार्यक्रममार्फत रविसँग प्रभावित भएको भेटिए ।

क्षति रोक्ने प्रयासमा कांग्रेस र एमाले
स्याङ्जा क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीले दिएको चुनौतीलाई नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले स्वीकार गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन सुन्न सदरमुकाम पुतलीबजार पुगेका वालिङका एक एमाले नेताले रविको पार्टीले काट्ने भोटका आधारमा कसको जीत हुन्छ भन्ने यकिन हुने बताए ।
‘स्वतन्त्रले चुनौती दिएको कुरा साँचो हो, कसको भोट धेरै काट्छन्, त्यसको आधारमा नतिजा प्रभावित हुने देखिन्छ,’ ती नेताले लोकान्तरसँग भने ।
नेपाली कांग्रेसका नेताहरू स्वतन्त्र पार्टीले एमालेको भोट काट्ने दाबी गर्छन् भने एमाले नेताहरू कांग्रेसलाई मात्र क्षति पुग्ने दाबी गरिरहेका छन् ।
शिक्षण पेशाबाट भर्खरै अवकाश पाएका वालिङका एमाले समर्थक खेमबहादुर पराजुलीले स्याङ्जा २ मा अहिलेसम्म पद्मा नै हावी रहेको दाबी गरे ।
‘स्वतन्त्र पार्टीको प्रभाव नभएको होइन, तर जीत निकाल्ने स्तरको छैन,’ पराजुलीले भने ।
राजनीतिक दलका कार्यकर्ता चुनाव प्रचारमा हिँडेकाले स्वतन्त्र मतदाताले खुलेर ठूला दलको पक्षमा बोलेका छैनन् । काठमाडौंलगायत शहरी क्षेत्रमा जस्तै स्याङ्जाका गाउँमा समेत स्वतन्त्रको हावा चलेको छ ।

यस्तो छ, मतदाताको मनोविज्ञान
स्वतन्त्र र नयाँ उम्मेदवारले जबरजस्त चुनावी माहोल बनाइरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रजस्ता पुराना दलप्रति मतदाताको एकप्रकारको आक्रोश देखिएको छ ।
वालिङ बजारमा कपडा पसल सञ्चालन गरेर बसिरहेकी सीता लम्साल यसपटक नयाँ उम्मेदवारलाई भोट दिने योजना रहेको सुनाउँछिन् ।
‘पुराना नेता र तिनै अनुहारबाट हामी वाक्क भइसकेका छौं, उनीहरूको मनोमानी कहिलेसम्म सहने ?’ लम्सालले भनिन्, ‘नयाँ उम्मेदवारहरू पुरानाजस्तो भ्रष्ट बन्दैनन् कि भन्ने आशा छ ।’

सीताको जस्तै धारण राधा डुम्रेको पनि छ । परम्परागत दलले जनताका समस्या समाधान गर्न नसकेकाले एकपटक नयाँलाई अवसर दिने सोच रहेको उनले बताइन् । ‘मेरो मात्र होइन, यहाँ हामी सबैको सोच एकपटक नयाँलाई दिएर हेरौं भन्ने छ,’ खाद्यान्न पसल गर्ने वालिङ– ८ की मतदाता लम्सालले भनिन्, ‘यसपटक मतदाता धेरै सचेत भइसकेका छन् ।’
वालिङ– ११ तितापानी सोरेकका अमृत कुँवर नयाँ उम्मेदवारको पक्षमा जनमत बनिरहेको बताउँछन् ।
‘स्वतन्त्र पार्टीलगायत केही स्वतन्त्र उम्मेदवारले यहाँ राम्रो माहोल बनाएका छन् । ठूला दलले केही नगर्दाको फाइदा स्वतन्त्र उम्मेदवारहरूले उठाउँदैछन्,’ कुँवरले भने ।
वालिङका अर्का स्थानीय रेशमराज भट्टराई अहिले राजनीतिक दलको अभियानमा सक्रिय रहेका व्यक्तिले समेत भोट क्रस गर्ने सम्भावना रहेको बताउँछन् ।
‘पार्टीको सदस्य भएपछि चुनाव प्रचारप्रसारमा हिँड्नु उनीहरूको बाध्यता छ । तर अभियानमै हिँडेकाको पनि भोट क्रस गर्ने सम्भावना मैले देखेको छु,’ भट्टराईले भने ।
अर्का स्थानीय सुरेश श्रेष्ठ यसअघि चुनाव जितेर गएकाहरू देशभन्दा पनि आफ्नो पार्टी, घरपरिवार र आफन्तको सेवामा तल्लीन बनेको भन्दै आक्रोश पोख्छन् ।
‘देश र जनताको सेवा गर्ने उम्मेदवारलाई चुनाव जिताऔं भन्ने भावना स्वतन्त्र मतदातामा देखिन्छ । अन्तिम समयमा उनीहरूको मन कता मोडिन्छ भन्ने यकिन गर्न सकिएन,’ श्रेष्ठले भने ।
