२७ असार २०८३, शनिबार
प्रतिनिधिसभा निर्वाचन

सुर्खेत– १ मा प्रतिष्ठाको लडाईं : शाही जीत दोहोर्‍याउने र खड्का नतिजा उल्ट्याउने प्रयासमा

कात्तिक २७, २०७९
सुर्खेत– १ मा प्रतिष्ठाको लडाईं : शाही जीत दोहोर्‍याउने र खड्का नतिजा उल्ट्याउने प्रयासमा

२०४८ सालको चुनावयता एउटा बाहेक सबै चुनाव आफ्नो पक्षमा पारेका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का फेरि संसद छिर्ने प्रयासमा छन् । २०७४ मा जोसँग पराजित भए, उनैसँग प्रतिस्पर्धामा उत्रिएका हुन्, खड्का ।

सुर्खेत– १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेका खड्का अघिल्लो हारको बदला लिने योजनामा छन् । त्यसका लागि गठबन्धनको बल उनलाई अनुकूल बनेको छ ।

खड्कासँग प्रतिस्पर्धा गर्न एमालेले ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाएको छ । 

खड्का स्वच्छ छवि भएको ‘हेभीवेट’ उम्मेदवार भएका कारण पनि सजिलै जीत निकाल्ने विश्लेषण कांग्रेस सुर्खेत जिल्ला समिति सदस्य रहेका प्रचण्ड पोखरेलको छ ।

‘अघिल्लोपटक निर्वाचित सांसदको काम, कांग्रेस उम्मेदवारले राष्ट्रिय राजनीतिमा निर्वाह गर्ने सक्ने भूमिका आदिलाई जनताले मूल्यांकन गरेका छन्’, उनी भन्छन्, ‘अघिल्लोपटक उहाँलाई मत नदिनेहरू अहिले पछुताएको अवस्था छ । यसपटक हाम्रा लागि धेरै अनुकूलता छ ।’

चुनाव जितेपछि राष्ट्रिय राजनीतिमा कुन भूमिका दाबी गर्ने भन्नेबारे खड्काले मुख खोलेका छैनन् । तर, उनका कार्यकर्ताले भने खड्का प्रधानमन्त्रीका दाबेदार भन्दै चुनावी प्रचार गरिरहेका छन् ।

खड्काले प्रधानमन्त्री बन्छु भनेर दाबी नगरे पनि अब मन्त्रीचाहिँ नबन्ने भनेर कार्यकर्ताको दाबीलाई अनौपचारिक पुष्टि भने गरेका छन् । 

यसअघि गृह, उद्योग तथा वाणिज्य, सूचना तथा सञ्चारसहित महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसकेकाले अब फेरि मन्त्री नबन्ने उनले चुनावी सभाहरूमा बताउने गरेका छन् ।

उनले घुमाउरो रूपमा प्रधानमन्त्रीको दाबी गरेको रूपमा यसलाई बुझ्नुपर्ने उनका कार्यकर्ताहरूको तर्क छ । 

खड्कासँग दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका नेकपा (एमाले)का ध्रुवकुमार शाही जिल्ला कमिटीका अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

अघिल्लोपटक वाम गठबन्धन (एमाले–माओवादी)को मतमा कांग्रेस उम्मेदवार खड्कालाई उनले ३ हजार २८२ मतले पराजित गरेका थिए । 

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले पाएको मत र गठबन्धनमा आबद्ध दलहरूले पाएको मतको अन्तर ठूलो छ । सुर्खेत क्षेत्र नम्बर– १ मा गठबन्धन ७ हजार ७९४ मतले एमालेभन्दा अगाडि छ । 

क्षेत्र नम्बर– १ मा पूर्वी सुर्खेतका ५ पालिकासहित वीरेन्द्रनगरका २ वडा पर्दछन् । स्थानीय निर्वाचनमा कांग्रेसले २ र एमालेले ३ पालिका जितेका छन् । वीरेन्द्रनगरका दुईमध्ये एक वडामा एमाले र अर्कोमा कांग्रेसले जितेको छ । 

एमाले उम्मेदवार शाही व्यक्ति ‘हेभीवेट’ हुँदैमा चुनाव नजितिने तर्क गर्छन् । ‘जनताले उहाँको धेरैपटक परीक्षण गरिसकेका छन्, विकास निर्माणका काम उहाँको पालामा भन्दा मेरै पालामा धेरै भएका छन्,’ शाही भन्छन् । 

२०५० सालबाट पार्टी राजनीतिमा आएका शाही २७ वर्षको उमेरमा २०५४ सालको स्थानीय निर्वाचनमा सहारे गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले सुर्खेतको राजनीतिमा एक पछि अर्को सफलता हात पार्दै आएका उनी अहिले पार्टीको प्रदेश कमिटीमा सचिवालय सदस्य छन् ।  

त्यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा गठबन्धनका तर्फबाट कंग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेल, एमालेका ठम्मर विष्ट तथा प्रदेश २ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्ण जिसी र एमालेका डण्डीप्रसाद शर्माबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । 

कमेन्ट गर्नुहोस्