०५ साउन २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

देशभरका चर्चित १७ ‘निर्वाचन क्षेत्र नम्बर–२’, जसले निकाल्यो अप्रत्याशित नतिजा

मंसिर ९, २०७९
देशभरका चर्चित १७ ‘निर्वाचन क्षेत्र नम्बर–२’, जसले निकाल्यो अप्रत्याशित नतिजा

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धेरैजसो जिल्लामा २ नम्बर निर्वाचन क्षेत्र चर्चामा रह्यो । 

कुनै निर्वाचन क्षेत्रमा हेवी–वेट उम्मेदवार हारेका, नयाँ उम्मेदवारले जितेका र नेक टु नेक प्रतिस्पर्धा भएका कारण देशभरका १७ वटा निर्वाचन क्षेत्र नम्बर–२ चर्चामा रहे । 

यस पटकको चुनावमा सबैभन्दा धेरै चर्चामा रहेकोमध्ये चितवन–२ पनि हो । चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनाव जितेका छन् । 

५ महिनाअगाडि मात्रै गठन भएको रास्वपाले अप्रत्याशित मत ल्यायो । चितवन–२ मा लामिछानेसँग राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भए ।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन–३ छोडेर चुनाव लड्न गोरखा–२ गए । प्रचण्डले रोजेको नयाँ निर्वाचन क्षेत्र गोरखा–२ पनि चुनावभर सर्वाधिक चर्चामा रह्यो । चितवनमा चुनाव हारिने डरले प्रचण्ड गोरखा सरेको टिप्पणी भयो । कतिपयलेले भने सहजै जीत निकाल्नको लागि गोरखा–२ रोजेको टिप्पणी पनि गरे । जेसुकै भए पनि प्रचण्डले गोरखा–२ बाट सहजै जीत निकाले । 

गोरखा–२ मा प्रचण्डले रास्वपाका उम्मेदवार कवीन्द्र बुर्लाकोटीलाई  १३ हजार ४७० मतान्तरले पराजित गरे ।

सत्ता गठबन्धनको उम्मेदवारी खारेजीमा परेपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले चुनाव लडेको निर्वाचन क्षेत्र रूपन्देही–२ पनि सर्वाधिक चर्चामा रह्यो । रूपन्देही–२ मा दुई जना बलिया उम्मेदवारको उम्मेदवारी रद्द भएको थियो । दुवै उम्मेदवार रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । यसले पनि उक्त निर्वाचन क्षेत्रलाई चर्चामा ल्यायो । 

निर्वाचन अघिभन्दा मतगणनाको क्रममा रूपन्देही–२ बढी चर्चामा आयो । एमाले उपाध्यक्ष विष्णु पौडेललाई रास्वपाका उम्मेदवार गणेश पौडेलले टक्कर दिएपछि रूपन्देही–२ चर्चामा रह्यो । उक्त निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । 

त्यसैगरी, अर्को चर्तित निर्वाचन क्षेत्र हो काठमाडौं–२ । उक्त निर्वाचन क्षेत्रबाट रास्वपाकी उम्मेदवार सोविता गौतमले अप्रत्याशित जीत निकालेकी छिन् । 

काठमाडौं–२ मा पूव सभामुखसमेत रहेकी सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा रहेर पराजित भइन् । एमाले दोस्रो र राप्रपा तेस्रो स्थानमा रहे । 

काभ्रे–२ यस पटकको चुनावमा चर्चैर्चामा रह्यो । एमालेका नेता गोकुल बाँस्कोटा र कांग्रेसका नेता शिवप्रसाद हुँमागाई काभ्रेपलाञ्चोक–२ बाट उम्मेदवार थिए । हुँमागाईलाई बाँस्कोटाले फराकिलो मतान्तरले पराजित गरेका छन् । 

सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली खाने नेता गोकुल बाँस्कोटा उम्मेदवार रहेकै कारण काभ्रे–२ चुनावभरी चर्चामा रह्यो । 

एमालेका महासचिव शंकर पोखरेल पराजित भएको दाङ–२ पनि यस पटकको निर्वाचनमा सर्वाधिक चर्चामा रह्यो । पोखरेलसँग नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्मा प्रतिस्पर्धा थिइन् । शर्माले पोखरेललाई १९३ मतको झिनो अन्तरले पराजित गरिन् । त्यसपछि दाङ–२ सर्वाधिक चर्चामा रह्यो । 

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पराजित भएको सप्तरी–२ अर्को चर्चित निर्वाचन क्षेत्र हो । विखण्डनको एजेण्डाबाट मधेशमा स्थापित भएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले यादवलाई चुनावमा पराजित गरेका छन् । 

मतगणनाको सुरूआतदेखि नै राउत अगाडि लागेपछि सप्तरी–२ थप चर्चामा आएको थियो । राउतले यादवलाई १८ हजार ६३ मतको फराकिलो मतान्तरले पराजित गरेपछि सप्तरी–२ ले चर्चा कमायो । 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेस इलाम जिल्ला अध्यक्ष डम्बरबहादुर खड्काबीचको प्रतिस्पर्धाले इलाम क्षेत्र नम्बर–२ चर्चामा रह्यो ।

इलाम–२ मा मतगणनाको क्रममा एकले अर्कोलाई पछि पार्ने क्रम चलिरह्यो । नेम्वाङले जित्ने वा हार्ने आंकलन पनि इलाम–२ सर्वाधिक चर्चामा रह्यो । 

रास्वपाका उम्मेदवारले शुरूआती मतपरिणमा कडा टक्कर दिएका कारण कास्की निर्वाचन क्षेत्र नम्बर–२ पनि चर्चामा रह्यो । स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नि विद्या भट्टराई उम्मेदवार रहेको यो क्षेत्र शुरूदेखि नै चर्चामा थियो । यद्यपी भट्टराइले ४ हजारभन्दा बढी मतान्तरले चुनाव जितेकी छन् ।

चुनावी चर्चा कमाएको अर्को क्षेत्र हो मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ । नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाको ३१ वर्ष लामो विरासतलाई पल्टाएर एमालेका युवा नेता महेशकुमार बर्तौलाले बाजी मारे पछि मकवानपुर–२ चर्चामा आएको हो । खतिवडाले यसअघि एमालेबाटै निरन्तर चुनाव जित्दै आएका थिए । 

एमालेका युवा नेता ठाकुर गैरेले चुनाव प्रतिस्पर्धा गरेको पाल्पा– २ पनि चुनावमा चर्चित रह्यो । आफ्नै अग्रज नेता सोमप्रसाद पाण्डेसँग गैरेले चुनााव प्रतिस्पर्धा गरेका थिए । यसअघि एमालेबाट पाण्डले पाल्पा–२ बाट चुनाव जित्दै आएका भए पनि पार्टी विभाजित भएपछि पाण्डे एकीकृत समाजवादीबाट उम्मेदवार भएका थिए । पाल्पा–२ बाट गैरेले चुनाव जितेका छन् । 

एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले चुनावी प्रतिस्पर्धा गरेको निर्वाचन क्षेत्र गुल्मी– २ पनि चुनावभर चर्चामा रह्यो । गोकर्ण र रामकुमारीबीच गुल्मी–२ मा नेक टू नेक प्रतिस्पर्धा रह्यो । अन्ततः विष्टले रामकुमारीलाई करिब २ हजारको मतान्तरले पराजित गरे । 

लोकतान्त्रिक समाजवादी (लोसपा)का नेता राजेन्द्र महतो र माओवादीको समर्थनमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्रराय यादवले चुनावी प्रतिस्पर्धा गरेको सर्लाही–२ पनि निर्वाचनभर चर्चामा रह्यो । 

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज पाण्डेलाई साढे १५ हजार मातन्तरले पछि पार्दै विजयी भएको नवलपरासी पश्चिम–२ पनि निर्वाचन परिणामका कारणले चर्चा रह्यो । 

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराल उम्मेदवार रहेको मोरङ क्षेत्र नम्बर–२ ले पनि चुनावी चर्चा कमाएको छ । चुनाव जित्दै आएका एमालेका ऋषिकेश पोखेरल र सुजातामा कसले बाजी मार्ने भन्ने विषयले उक्त निर्वाचन क्षेत्रलाई चर्चामा ल्यायो । 

नेकपा एमालेकी सचिव पद्माकुमारी अर्याल र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच प्रतिस्पर्धा भइरहेको स्याङजा–२ सर्वाधिक चर्चामा छ । उक्त निर्वाचन क्षेत्रमा उम्मेदवारले धाँधली भएकोले केही मतदान केन्द्रमा पुनः मतगणना गर्नुपर्ने माग एमालेले गरेपछि मतगणना नै शुरू हुन सकेको छैन् । मतगणना गर्न माग गर्दै कांग्रेस उपसभापति एवं उम्मेदवार गुरूङको नेतृत्वमा धर्ना र प्रदर्शन भइरहेको छ ।

उदयपुरको क्षेत्र नम्बर–२ ले पनि अप्रत्याशित नतिजा निकालेर चर्चामा रह्यो । सत्ता गठबन्धनको साथ पाएका नेकपा एकीकृत समाजावादीका उपमहासचिव एव प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई पराजित गरेर एमालेका युवा नेता अम्बरबहादुर रायमाझी निर्वाचित भए । 

एमालेको प्रदेश कमिटीको सचिवालय सदस्यको भूमिकामा रहेका रायमाझीले केन्द्रीयस्तरमा स्थापित नेता खतिवडालाई पराजित गरेपछि उदयपुर–२ चर्चामा रह्यो । 

salt training

कमेन्ट गर्नुहोस्