१० साउन २०८३, आइतबार
एआईजी बढुवा

एआईजी बढुवाको गृहकार्य– भावी आईजीपीको दौडमा कसको पल्ला भारी ?

फागुन ८, २०७९
एआईजी बढुवाको गृहकार्य– भावी आईजीपीको दौडमा कसको पल्ला भारी ?

रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सरकारले तयारी गरेको छ । गृहमन्त्रालयले फाइल तयार पारेर सोमवारको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरेको स्रोतले लोकान्तरलाई बतायो । 

स्रोतका अनुसार मन्त्रालयले पुराना अर्थात् प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहका ब्याची ३ जना डीआईजीलाई छाडेर पछिल्लो ब्याचका डीआईजीहरूलाई बढुवा गर्ने तयारी गरेको छ ।

आईजीपीका ब्याचीहरू १ महिनापछि अनिवार्य अवकाश जाने भएपछि २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएको टोलीबाट एआईजी बढुवा गर्न लागिएको हो । २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ डीआईजीबाटै घर जाने सम्भावना देखिएको छ ।  

पछिल्लो समय कात्तिक २४ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी रवीन्द्र धानुकले उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए । त्यसअघि नै कात्तिक १४ गते प्रशासन विभागका प्रमुख एआईजी अरुणकुमार बी.सी अवकाशमा गएका थिए ।

यी दुई एआईजी अवकाशमा गएसँगै नेपाल प्रहरीमा ५ जना एआईजीको पद रिक्त छ । यसअघि ५६ वर्षे उमेर हदका कारण २०७९ साउन २० गते एआईजी विश्वराज पोखरेलले अवकाश पाए । 

भदौ २३ गतेबाट एआईजी मुकुन्दराज आचार्यले अवकाश पाएका थिए भने फागुन ५ गते पूजा सिंह अनिवार्य अवकाशमा गएकी छन् ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसँगै २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका पोखरेल र आचार्यले उमेरहदका कारण अनिवार्य अवकाश पाएका हुन् । एआईजीद्वय पोखरेल र आचार्यले अवकाश पाएपछि प्रहरीको प्रदेश समन्वय विभाग र कार्य विभागको दरबन्दी रिक्त छ ।  

भावी आईजीपीको दौडमा दर्जन डीआईजी 

आईजीपी धीरजप्रताप सिंह आगामी चैत ११ गते ३० वर्षे सेवा अवधिका कारणले अनिवार्य अवकाशमा जाँदैछन् । ३० वर्षे सेवा अवधिका कारण आईजीपी सिंहले अनिवार्य अवकाश पाएपछि उनको ब्याचबाट हाल एआईजी र डीआईजी रहेका प्रहरी अधिकृतहरू पनि सँगै अवकाशमा जानेछन् ।   

सिंहको अवकाशसँगै आईजीपीका लागि २०७९ असार महिनामा बढुवा भएका डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा प्रतिस्पर्धामा छन् ।

खाली भएको ५ दरबन्दीमा पदपूर्तिका लागि आईजीपी ब्याचका डीआईजीहरू मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य मुख्य प्रतिस्पर्धी हुन् तर सरकारले पछिल्लो ब्याचबाट बढुवा गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

प्रचण्ड नेतृत्वको सरकार आएसँगै अहिले डीआईजीबाट एआईजी हुँदै भावी आईजीपीको बाटो तय गर्ने समीकरण फेरिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा डीआईजीहरू अशोक सिंह, वसन्त कुँवर, दीपक थापा, मीरा चौधरी लगायतलाई क्रमशः बलियो दाबेदारका रूपमा हेरिएको थियो ।

अहिले समीकरण केही बदलिएको उच्च स्रोतले बतायो । अहिले एक नम्बरमा बढुवा भएका डीआईजी वसन्त कुँवर सबैभन्दा बलियो दाबेदार हुन् । त्यसपछि टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्याम ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र भीमप्रसाद ढकाल दाबेदार छन् ।

प्रचण्ड नेतृत्वको अघिल्लो सरकारका पालामा सुरक्षा निकायको प्रमुख बनाउँदा विवादमा आएका कारणले यसपालि विवादरहित बनाउने मनस्थितिमा देखिएको स्रोत बताउँछ । 

गृहमन्त्री रवि लामिछाने हुँदा नै सरकारले एआईजी बढुवाको तयारी गरेको थियो । त्यसैकारण बढुवाको मुखमा भएका डीआईजीहरूलाई प्रदेश प्रमुखको जिम्मेवारी दिएर काज सरुवा गरिएको थियो । 

आईजीपी धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्समा भएको इन्टरपोलको कार्यक्रममा जानुभन्दा अगाडि नै एआईजी बढुवा गर्ने सरकारी तयारी थियो । तर आईजीपीले नमानेपछि रोकिएको थियो । 

फेरि एकपटक डीआईजीबाट आईजीपी बनाउनुपर्ने हो कि भन्ने चिन्ता व्यक्त भइरहेका बेला सरकारले एक महिनाका लागि एआईजी बनाएर आईजीपी बनाउने तयारी गरेको हो । एआईजी बढुवाको तयारी भएको थाहा भएपछि तीन डीआईजी बिदा मिलाएर काठमाडौं आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्