मंगलवार दिउँसो बानेश्वरस्थित एभरेस्ट होटलअगाडि पुग्दा एक हुल महिला पुरुष सडकमा पलेटी कसेर बसेका थिए ।
महोत्तरीको बर्दिबासबाट हेटौंडा हुँदै पैदलै काठमाडौं आएका उनीहरू मिटरब्याजीबाट पीडित सर्वसाधारण हुन् ।
खुलामञ्चभित्र बस्ने उनीहरूको तयारी थियो, तर आइपुग्दा नपुग्दै गेटमा भोटेताल्चा लगाइयो अनि सुरक्षाकर्मीहरू लौरो लिएर बसे । खुलामञ्चमा बस्न नपाएपछि संसद् भवन बानेश्वरतिर अगाडि बढेका उनीहरू एभरेस्ट होटलनजिक पुग्दा काँडेतारको बार खडा भइसकेको थियो ।

९२ जनाको समूहमा रहेका उनीहरू महिलापुरुष बराबरीजस्तै छन् । महिलाहरूले एक हातले काखे बालक च्यापेका थिए भने अर्को हातमा विरोधका प्लेकार्ड बोकेका थिए। भोकैप्यासै हिँडेकोले होला उनीहरूको अनुहार थकित अनि पैँताला फुटेका देखिन्थ्यो ।
त्यतिकैमा मेरो नजर एक पुरुषमा पर्यो । खैरो टिशर्ट लगाएका ती पुरुषलाई काठमाडौंसम्म आउनुको कारणबारे सोध्दा डाँको छाडेर रुन थाले ।
नाम श्याम विश्वकर्मा, घर लहान- ७ सिरहा ।
विश्वकर्माले रुँदै भने, 'साहुले मलाई सधैं घर खाली गर भनेर धम्की दिन्छ । सबै सम्पति साहुलाई ऋण तिरेर सिद्धियो। म अहिले भाडाको घरमा बस्छु। साहुले घरबेटीलाई समेत टर्चर दिन्छ, यिनीहरूलाई भाडामा किन राखेको भनेर ।'

उनले थपे, 'मेरो आर्थिक अवस्था यति कमजोर छ कि मेरो छोराहरू होटलमा भाँडा माझ्छन्। उनीहरूले पढ्न सकेनन्, ऋणले गर्दा । मेरो श्रीमतीलाई धेरै टेन्सन भएर प्यरालाइसिस भयो। उनी अहिले ओछ्यानमा छिन्।'
उनी डाँको छाडेर रुन थालेपछि अन्य मिडियाका बुम पनि उनीतिर तेर्सिए ।
उनका दाजुले करीब ७ वर्षअगाडि पसल खोल्न सोही वडाका साहु रामबाबु महतोसँग ५ लाख रुपैयाँ ऋण लिएका रहेछन्, तर दाजु अचानक उठ्नै नसक्नेगरी मिर्गौला रोगले थला परे ।

त्यसपछि उनले दाजुको उपचार गर्न भनी उनै साहुसँग १० लाख रुपैयाँ ऋण थपे। दाजुको उपचारमा सबै रकम खर्च भएको उनी बताउँछन् । त्यसयता पटक-पटक गरी २६ लाख रुपैयाँ साहुलाई बुझाइसकेको उनको दाबी छ ।
'अब हामी मर्नै परे काठमाडौंमा नै मर्ने हो, गाउँमा मर्दैनौं । जबसम्म सरकारले न्याय दिँदैन, तबसम्म हामी गाउँ फर्कंदैनौं,' विश्वकर्माले रुँदै भने, 'बर्दिबासबाट धेरै कष्टले हिँडेर पहाडको बाटो चढ्दै आयौं । धेरै गाह्रो भयो। बाटोमा ज्वरो आयो । सर्दी लाग्यो। तर, पनि पैसाको पीडाअगाडि यो पीडा केही हैन ।'
गोलबजार- ५ सिरहाकी सञ्जलाकुमारी सिंहले स्थानीय सम्रिकादेवी महतोसँग २ वर्षअगाडि ५० हजार ऋण मागेकी रहिछन् । शुरूमै ब्याजको ५ हजार कटाएर उनको हातमा ४५ हजार मात्र पर्यो ।

त्यसको २ महिनापछि ८० हजार ऋण थपेकी सिंह किस्ता–किस्तामा (६० हजार, ४५ हजार, १० हजार र ५ हजार) गरी १ लाख २० हजार तिरिसकेको बताउँछिन् । र, उनले अझै ८ लाख २५ हजार तिर्न बाँकी रहेको भन्दै मुद्दा चलाइएको छ ।
'साहुले झुक्याएर ८ लाख २५ हजारको कागज बनाइदिएछ', उनले भनिन्, 'अहिले मलाई साहुले अदालतमा ८ लाख २५ हजारको मुद्दा लगाएको छ । त्यसैले न्यायका लागि काठमाडौं आएको हुँ ।'
सिराहाकै पवित्रीदेवी सिंहले विमलादेवी शर्मासँग २ लाख रुपैयाँ ऋण लिएकी थिइन्। तर झुक्याएर २८ लाखको कागज बनाइदिएको उनको आरोप छ।

विमलालाई पटक-पटक गरी करीब ५ लाख रुपैयाँ तिरिसकेको पवित्रा बताउँछिन् ।
बाँकी भिडियोमा :






