
नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि अहिले सबैको ध्यान यसैतर्फ केन्द्रित छ ।
खाँणको पक्राउ आकस्मिक जस्तो देखिए पनि यसको पृष्ठभूमि भने केही दिनदेखि बनिरहेको थियो ।
यस प्रकरणमा खाँणको समेत संलग्नता हुनसक्ने देखिएपछि प्रहरीले पछिल्ला दिनहरूमा उनलाई नै केन्द्रित गरेर अनुसन्धान अगाडि बढाएको थियो ।
यसबीचमा गिरोहका सदस्यहरूले बालकृष्णपत्नी समेत रहेकी कांग्रेस सांसद मञ्जु खाँणलाई ६ करोड बुझाएको दाबी गरिएको अडियो समेत सार्वजनिक भयो ।
तर, उक्त अडियो मात्र पक्राउका लागि पर्याप्त नभएपछि प्रहरी थप प्रमाणको खोजीमा लाग्यो ।
'अडियोमा आरोपित व्यक्तिको आवाज थिएन, अरू नै बोलेको प्रसंग थियो, त्यसैले यसलाई मात्र प्रमाण मान्न सकिने अवस्था रहेन,' प्रहरी स्रोत भन्छन्, 'त्यसकारण पनि अर्को प्रमाण खोज्नुको विकल्प हामीसँग थिएन ।'
प्रहरीले बालकृष्णविरुद्ध प्रमाण संकलनसँगै उनी आबद्ध प्रमुख सत्ता साझेदार दल कांग्रेसको सम्भावित 'मुभ' समेत विचार गरिरहेको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश'को स्पष्ट अडान र दरिलो साथ एवं कांग्रेसबाट समेत 'ग्रीन सिग्नल' पाएपछि प्रहरी खाँणलाई पक्राउ गर्न कस्सियो ।
यसबीचमा खाँणविरुद्ध 'सोलिड प्रमाण' भेटिएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ । खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
खाँण मैजुबहालमा रहेको जानकारी पाएपछि प्रहरीले बिहान सबेरैदेखि रेकी गर्न थालेको थियो । सामान्य अवस्थामा कसैलाई पक्राउका लागि अदालतबाट अनुमति लिनुपर्ने व्यवस्था छ । तर, खाँणको सम्बन्धमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिने समय कुरेन ।
मुलुकी फौजदारी कार्यविधि नियमावलीको व्यवस्थाअनुसार 'विशेष पुर्जी' लिएर प्रहरी अधिकारीहरू खाँणको निवासमा छिरे । प्रहरी पुगेपछि आत्तिएका खाँणले शुरूमै पक्राउ पुर्जीबारे चासो राखेको विश्वस्त स्रोतको दाबी छ ।
'हिजो साँझसम्म त पक्राउ पुर्जी जारी भएको थिएन, आज १० बज्दैछ, कसरी ल्याउनुभयो भनेर उहाँले चासो राख्नुभयो,' प्रहरी स्रोतले लोकान्तरसँग भन्यो ।
प्रहरीले 'विशेष पक्राउ पुर्जी' ल्याएको भनी जानकारी गराएपछि खाँण एकछिन भन्दै कोठामा छिरेका थिए ।
भित्र पुगेर कसैलाई फोन गरेका खाँणलाई नियन्त्रणमा लिन बल नै प्रयोग गर्नुपर्ने स्थिति बन्यो । 'उहाँले गृहमन्त्री हुँदाको रवाफ देखाउनुभयो । सामान्य धक्कामुक्की पनि भयो,' प्रहरी स्रोतले भन्यो ।
खाँणलाई निवासबाट उनकै गाडीमा काठमाडौं प्रहरी परिसर टेकु लगिएको छ । त्यहाँ उनीसँग सोधपुछ चलिरहेको छ ।
खाँण र केसी पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ । शुरूमा ८ जना पक्राउ परेकोमा मंगलवार र बुधवार २/२ जना पक्राउ परेका हुन् ।