
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा बहालवाला प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी आइतबार राति पक्राउ परे । राजधानीको बूढानीलकण्ठ-पासिकोटस्थित नारायण पौडलको घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले रायमाझीलाई पक्राउ गरेको थियो । रायमाझी कहिले र कसरी त्यहाँ पुगे ? भन्नेलगायतका विषयमा सोमबार लोकान्तरकर्मी अजय अनुरागीले घरबेटी पौडेलसँग फोनमा कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँगको कुराकानी सम्पादित अंश :
टोपबहादुर रायमाझीलाई मैले 'दाइ' भनेर सम्बोधन गर्छु । उहाँ शनिवार बेलुकी पौने ९ बजेतिर मेरो घर (बूढानीलकन्ठ)मा आउनुभयो । उहाँ मेरो गाउँले दाइ हो । अर्घाखाँचीमा हामीलाई बच्चामा गुच्चा खेल्न सिकाउनु भएको दाइ हो । उहाँ हाम्रो परिवारको अभिभावक जस्तै मान्छे हो । सन्धिखर्क नगरपालिकाको चप्रुङ गाउँमा दाइको घरसँगै हाम्रो घर छ । दाइ पहिलेदेखि नै मेरो घरमा आइरहनुहुन्थ्यो ।
शनिवार बेलुका अचानक पोखराबाट आइपुग्नु भयो । आएर उहाँले भोलि टेकुमा पुगेर गिरफ्तारी दिने बताउनु भएको थियो । आइसकेपछि म त आएँ भाइ भन्नु भयो । आफ्नै गाउँले दाइ, त्यसमाथि अभिभावक जस्तो मान्छे आएपछि बस्न मिल्दैन भनेर अस्वीकार गर्ने कुरा पनि भएन ।
उहाँ थकित देखिनुहुन्थ्यो । त्यसमाथि छोरा पनि गिरफ्तार भएको थियो । पारिवारिक तनाव नै थियो । मैले विषयवस्तु पनि धेरै राख्न चाहिनँ । त्यसपछि उहाँ माथि एकान्तमा घरको एउटा कोठामा सुत्नु भयो । उहाँ उठ्नुभन्दा अगाडि नै आइतबार बिहान म सवा पाँच बजे आफ्नो क्याम्पस गएँ । चावाहेल- मित्रपार्कस्थित कैलाशकुट बहुमुखी क्याम्पसको प्रमुख हुँ ।
कैलाशकुट सामुदायिक क्याम्पस हो, जहाँ मैले नेपाली विषयको अध्यापन गर्दै आएको छु । त्यसमा पनि अहिले प्लस टूको जाँच चलिरहेको थियो । त्यस कारण दिनभर परीक्षा सञ्चालनमा व्यस्त भइयो । काम सकेर घर फर्किन्छु भनेर हिँडेको थिएँ तर बिचमै राष्ट्रिय परीक्षा बोर्डको मिटिङमा जानु पर्ने भयो । बेलुकी सात साढे सात बजेतिर घर आएँ । घर आइपुग्दा दाइ पनि बसिराख्नु भएको रहेछ । फुर्सदमा बसेर कुराकानी गरिरहेकै बेला हावाहुरी चल्यो । तल, किचेन रुममा खाना पाकिरहेको थियो ।
एकैछिन पछि करिब सवा आठ बजेतिर प्रहरीहरू मेरो घरमा झापझुप आउनु भयो । त्यसपछि मेरो म्याडम(श्रीमती)कृष्ण कुमारी पौडेलले गेट खोलिदिनु भयो । झन्डै २० जनाजति प्रहरीहरू आउनु भएको थियो । आएर के भयो र ! हामीलाई केही लिनु छैन, केही दिनु छैन । लुकाएर राख्ने कुरो भएन, होइन । त्यसपछि मैले माननीयज्यू माथि (टोपबहादुर बसिरहेको कोठा) हुनुहुन्छ भनेर प्रहरीलाई जानकारी गराइदिएँ । मैले नै उहाँहरूलाई माथि लैजान सहयोग गरेँ । भेटपछि उहाँहरूले माननीयज्यू नमस्कार भन्नु भयो । ल अब जानु पर्ने भयो भनेर उहाँहरूले भन्नु भयो । त्यसपछि दाइले पनि झापझुप कपडा लगाउनु भयो । त्यसपछि मैले नै प्रहरीलाई खाना खान दिन रिक्वेस्ट गरेँ । उहाँले थोरै दाल, भात, तरकारी खानु भयो ।
त्यसअघि दिउँसो तीन/चार बजेतिर उहाँले खाजा खानु भएको रहेछ । उहाँबारे अरू कुरा थाहा छैन । उहाँ मेरो गाउँले दाइ भएर मैले आश्रय दिएको हो । त्यो दिन दिउँसो किन गिरफ्तारी दिनु भएन त्यो कुरा सोध्न पाइएन ।
मैले आफ्नो पत्नीसँग बुझ्दा दिउँसो खाजा खाँदा एक बोतल टुबोर्ग बियर खानु भएको थियो । जुन मेरो म्याडमले नै किनेर ल्याइदिनुभएको हो । खाजामा भने चिकेन खानु भएको थियो । उहाँबारे मेरो श्रीमतीले पनि खासै कुरा सोधिखोजी गर्नुभएनछ । उहाँलाई चिया, खाना, पानी आदि दिने कुरा मात्र मेरो म्याडमको सरोकारको विषय थियो ।
टोपबहादुर दाइ मेरो घर आउँदा मलाई कुनै सम्पर्क गर्नु भएको थिएन । मेरो घर थाहा थियो र त अकस्मात् आइहाल्नु भयो । पोखराबाट आएको भने पनि गाडीमा आउनु भयो वा केमा कसरी आउनु भयो त्यो कुरा उहाँले भन्नु भएन । मलाई लाग्छ कसैको गाडीमै आउनु भएको होला । मोटरसाइकलमा त्यति टाढाबाट आउनु भएको होला जस्तो मलाई लागेन ।
उहाँ मेरो घरमा आउँदा ब्यागमा एक जोर जुत्ता र एक जोर लुगा मात्र लिएर आउनु भएको थियो । मोबाइल एउटा थियो तर त्यस मोबाइलमा सिमकार्ड भने थिएन । म काठमाडौँ आएको २५ वर्ष भयो । गाउँमा चुनाव हुँदा पनि हामीले सहयोग गरेर जिताएर आउने गरेका थियौँ ।
उहाँ हाम्रो अभिभावक नै हो । म अहिले न एमाले न माओवादी हो । म क्याम्पस पढाउने लेक्चरर भएकाले कुनै पार्टीमा छैन ।
उहाँसँग नराम्रो सम्बन्ध छैन । राम्रो भन्दा पनि असाध्य हितैषी भएर काम गरेको हो । तर, अहिले मलाई आफ्नै काम र व्यवसायबाट फुर्सद हुँदैन ।
मेरो गौशालामा रामेश्वरम होटल एन्ड लज पनि छ । स्वयम्भूमा रहेको च्वाइस होटेलको साझेदारीबाट केही महिना अघि मात्र अलग भएको छु । त्यसअघि म राष्ट्रिय खेलकुद परिषदको सदस्य पनि भइसकेको हो । त्यसैगरी काठमाडौँ महानगरपालिकाको पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) बोर्ड मेम्बर भएर पनि काम गरेको छु । नेपाल पब्लिक क्याम्पसको पूर्वउपमहासचिव तथा अहिले केन्द्रीय सदस्य र कार्य सम्पादन समितिमा पनि छु ।
काठमाडौँको बूढानीलकन्ठको पासिकोटमा मेरो चार आना जग्गामा साढे तीन तले घर छ । २०६९ सालमा त्यो घर बनाएको हो ।
अहिलेको आइजीपी बसन्त कुँवर नै पनि मेरो पनि साथी हुनुहुन्छ । उहाँसँग कक्षा ४ देखि कक्षा ६ सम्म सँगै पढेको हो । दाइले पनि उहाँलाई फोन गर्नुभएको रहेछ । टोपबहादुर दाइ अर्घाखाँचीबाट बुटवलतर्फ लाग्दा आइजीपीसा'ब सँग कुरा भएको रहेछ । के छ कसो छ भन्दा आइदिनुस्, सामान्य केस हो, हाजिर भइदिनुस् भनेर आइजी सा'बले भन्नु भएको मैले सुनेको छु ।
किन फरार हुनु भयो ? किन लुकेर बस्नु भयो ? भन्ने सम्बन्धमा मैले कुनै कुरा सोधेको छैन । मिलाएर जाने, गिरफ्तारी दिने भन्ने कुरा उहाँले सोच्नु भएको थियो । उहाँ आफ्नो भन्दा पनि छोरालाई लिएर बढी चिन्तामा हुनुहुन्थ्यो ।