
मनाङ एयरको हेलिकप्टर मंगलवार सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ लामजुरानजिक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन पर्यटक छन् । मेक्सिकन नागरिक पाँचै जना एकै परिवारका सदस्य हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमातहत रहेको उद्धार समन्वय समितिका अनुसार क्याप्टेन गुरुङका अलावा हेलिकप्टरमा सवार मेक्सिकन नागरिकहरू सिफुएन्तेस जी फर्नान्डो, सिफुएन्तेस जी मारिया होसे, रिन्कोन स्माइल, गोन्जालेज ओलासियो लुज र गोञ्जालेज एब्रिक सबैको मृत्यु भएको छ ।
दुर्घटनामा ज्यान गुमाएका पर्यटकहरू हिमाल हेर्नकै लागि भनेर नेपाल आएको पाइएको छ । दुई दिनअघि मात्र काठमाडौं आएका उनीहरू आजै स्वदेश फर्किने कार्यक्रम थियो ।
आकाशबाटै सर्वोच्च शिखर सगरमाथासहित हिमालहरूको दृश्यावलोकन गर्ने र स्वदेश फर्किने उनीहरूको सपना पूरा हुन पाएन ।
मौसम बिग्रिएर हिमाल हेर्न नपाएपछि लुक्लाबाट काठमाडौं फर्किंदै गरेका उनीहरू आजै साँझ स्वदेश फर्किने तयारीमा थिए ।
२४ गते भारत हुँदै नेपाल प्रवेश गरेका उनीहरूले १५ दिनका लागि भिसा लिएका थिए । तर, बसाई भने ३ दिनका लागि मात्र तय भएको पाइएको छ ।
नेपाल आएर १५ दिनको ‘अन अराइभल’ भिसा लगाएको अध्यागमन विभागको रेकर्डले देखाएको छ ।
एभरेस्ट एक्सपिरियन्स नामक ट्रेकिङ कम्पनीमार्फत नेपाल आएका ती पाँचैजना पर्यटक एक रात नयाँबजारको हिमालयन स्वीट होटलमा बसेका थिए ।
एक रात लुक्ला बस्ने र हिमाल हेरेर आजै (२६ गते) फर्कने कार्यतालिका भएको नेपालमा ती पर्यटक भित्र्याउने एभरेस्ट एक्सपिरियन्सले जानकारी दिएको छ ।
उनीहरू हिमाल हेर्ने मुख्य उद्देश्य लिएर नेपाल आएको र आजै फर्किने कार्यक्रम रहेको एभरेस्ट एक्सपियिन्सका सञ्चालक मुक्ति पाण्डेले जानकारी दिए ।
एक रात काठमाडौं र एक रात लुक्ला बस्ने गरी ‘टाइट शेड्युल’मा आएका ती पर्यटकले हिमाल हेर्न पाएनन्, न त स्वदेश फर्किन नै पाए ।
लुक्लाको यती माउन्टेन होममा बास बसेर उनीहरू हिमाल हेर्न भनी मनाङ एयरको हेलिकप्टरमा उडेका थिए । एक्कासि मौसम बिग्रिएका कारण उनीहरू हिमाल नहेरी काठमाडौं फर्कँदै थिए ।